हरेक साँझ झैँ आज पनि कामको खोजीमा होटेल रेष्टुरेन्ट अनि सुपर मार्केटको गल्ली गल्ली चहारेर लखतरान भए पछि ऋतु डेरा बाहिरको छिँडीमा थचक्क बसकी छे । कोठाभित्र केही साथीहरू उत्तेजक हावभावसँग चर्का चर्की स्वरमा कुराकानी गरेको बाहिरैबाट प्रष्टै सुनिन्थ्यो । पानी पर्ला झैँ आकाश धुम्म थियो । उसको मनमा अनेकौ तर्कनाहरू उकुस मुकुस गर्दै मडारिइरहेको थियो, आकाशको कालो बादल झैँ ! उसलाई डेराभित्र पस्न मन थिएन, पाइलाहरू टक्क अडिएको छ नियतिले डोर्याएको बाटोमा हिड्दै गर्दा उसका आफ्नो विबस्थाको बृत चित्र यसरी सल्बलाउँछ “अनेकौ दु:खका वावझुध ७ बर्ष इजरायल बसेर पनि भनेजस्तो काम नपाउँदा मन सन्तोष हुन सकेन । नेपालको राजनैतिक अस्थिरता, अब्यबस्थित अर्थ व्यवस्था, दण्डहीनताको पराकाष्ट, बेरोजगारीको समस्या, १४ घण्टाको लोड सेडिंगको मारमा आक्रान्त मन आफूले दु:ख पाए पनि छोराको भविष्य बनाउँछु भन्ने आशा बोकेर ग्रीन कार्ड बनाउने लालसमा युरोपतिर भासिएँ ।
अहिले यहाँ आएर २ बर्षसम्म भनेको जस्तो काम नपाउँदा रनभुल्लमा परेको छु । मेरा आफ्ना पाखा पखेरा, लेक बेशीका चौतारीले मलाई खोजीरहेझैँ लाग्छ जहाँ मेरो अस्तित्व थियो । मेरो आत्मसम्मान थियो, मेरो खुशी थियो । जहाँ म दिल खोलेर हाँस्थे, धक फुकाएर डुल्थे तर आज यहाँ गल्ली-गल्ली, चोक-चोक भौतारिन्छु न आफ्नो भन्ने कोहि पाउँछु भावना शुन्य स्वार्थी रोवट जस्ता मानिसको बीचमा छ, त केवल निराशपन । बूढी आमाले छोरी आउँछे भनेर बिछ्याएको परेलीमा झरेका आशु थोपासंगै मेरो आँशु मिसिएर बग्दैछन् । आमाले त छोरी निष्ठुरी भै भनेर सम्झनु हुन्छ होला । आमाको भिजेको परेली र मेरो गाउँघरलाई मैले नसम्झेको कुनै पल छैन तर पनि कामको खोजेमा भौतारिनु भन्दा अर्को बिकल्प नभएकोले आफ्नो ठाँउ फर्कन सकेको छैन ।
रिफुजी बन्ने म जस्ता नेपालीहरूले काम भेट्न धेरै गाह्रो छ, सबै नेपालीहरूको बिडम्बना यस्तै छ । यहाँ बस्ने नेपालीहरूमा एकदम कम मात्र होलान जो खुसी छन । पुराना नोकरी हुनेहरूले नयाँलाई दबाउने, आत्मासम्मानमा ठेस पुग्ने कुराहरू गर्ने, दबाउन झुकाउन खोज्छन, यी त नेपालीका गुण नै हुन् सायद । नेपालीपन हराएको छ । बिदेशीपन अँगाल्न पनि त सकेका छैनन् । आफ्नो माटोको घरमा खरको छानोमुनि आमाको न्यानो साथमा कति गुना खुशी थिए । तर यो बिदेशमा परिचय बिहिन भएर बस्नु पर्ने असोचनीय पलमा न त मन खुशी छ न मनमा शान्ति छ । यो रंगीचंगी सहरमा आफू रंगहिन बनेको छु । काम पाउँदै नपाउने पाए पनि केही नियम कानुन छैन रिफुजीलाई जस्ले जस्तो काम दिए पनि विवश भएर गर्न वाध्य छन्, रोजी रोटीको लागि । एकातिर कामको पिर अर्कोतिर कार्ड बनाउने पिर अझ अर्को पीर रातो पासपोर्ट बनाउनेको छ । जब जिन्दगीको सबै रंग नै उडेर रंगबिहिन भएपछि के महत्व रातो पासपोर्ट … !
भगवती बस्नेत
काठमाण्डैा, बल्खु
हाल इजरायल
