कोही छ
भए आउ
ती हात पाँउ समाउ
हातमा हात राखी
काँधमा काँध मिलाउ
केही भन्नु छ
यहाँ
केही गर्नु छ
अझै यहाँ
गएर सुनाई देउ
सारा नेपालीलाई भनि देउ
साँच्चै निंदाएँ होलान
मलमल सुकिला सिरकमा
गुटमुटिएर गुम्सिएर
रात्रीकालिन ओच्छयानमा
मिठा मिठा निदरीको सपना देख्दै
विन्ति छ
उठौ अब
जुटौ एकै साथ
अन्ध्यारोले सताएको पुरपुरोमा
जुन तारालाई
टपक्क टिपी ल्याउनु छ
हो साथी हो
साँच्चै
ज्योतिको दिप बाल्नु छ
समाज वस्ती राष्ट्र
खोलानाला बाटोघाटो सबै बिउझाउनु छ
कति आए
कति गए
उहि मेचमा टुसुक्क बसी
कालो मोसेले छाएको थोपडा मुसुक्क हाँसी
पापी हात दूधमा चोबी चोबी
आनन्दले सुटुक्कै खाए
आनन्दले घुटुक्कै पिए
अतृप्त मन
तृप्ति भए
आखिर गरे के ?
लाग्छ मलाई
रूख्याउनु रूख्याए
लुटाउनु लुटाए
अंगालो भरी भरी
गुटमुट्याउनु गुटमुट्याए
हो !
अब त अत्ति भो
कुनै मन पेवा होईन
न त बन्धकीको माल
जे पायो त्यही गर्ने कसैलाई छैन
अब अधिकार
जाग तराई
जाग पहाड
जाग हिमाल
सबै मिलिजुली बचाउ देश
बनाउ शीर उच्च उच्च
विश्व सुन्दर हाम्रो देश भेष
जय नेपाल
जय नेपाल
जय नेपाल !!
