फोहरको भारी बोकेर
धोबी खोला
कहिले टाउको
कहिले कुन ठाउको
खस खस कनाउदै थियो
पसिनाले भिजेर हो कि केले हो
ठस ठस गनाउदै थियो ।
मैले धोबीखोला न हो
के होला भनी
फोहरको झोला फाल्दा
खोलाले भन्यो –
पख्नुस पख्नुस हजुर, म खोला हुँ हजुर
तपाईं पनि
फोहरको पोको फाल्दै हुनुहुन्छ कि
डोको फाल्दै हुनुहुन्छ
यो पिलन्धरे शरीरमा
थप भार कति हाल्दै हुनुहुन्छ ?
मैले भने –
तिमी के को खोला
पच्चीस बर्षदेखि
नाला जस्तै छौ
जहिले हेर्छु
मलमुत्रे खाला जस्तै छौ
हिउद पनि, बर्षात पनि
टुकैचाको गाला जस्तै छौ ।
उसले भन्यो –
म त यस्तो थिइन हजुर
अब त्यस्तो रहिन हजुर
सङ्लो भई कलकल बग्थे
माछा, भ्यागुता ससङ्गै लग्थे
बिस्तारै मान्छेले फोहर फाले
हुँदा हुँदा घरको ढलै हाले
मरेको कुखुरो देखि कुकुरको बच्चा फाले
महिलाको पेटिकोटदेखि पुरुषको कच्छा हाले
कुरा गार्दा पनि
लाजै लाग्छ हजुर
किटदेखि लिँडसम्म
डिम्बदेखि सुक्रकिटसम्म
इटा ढुङ्गादेखि चुर्णसम्म
अबोध शिशुदेखि भ्रुनसम्म हाले
के भन्ने यी मान्छे कुरा
लाज शरम समेत फाले
ठुस ठुस नगन्नाएर
कसरी मगमग बसाउँ हजुर
कपूर चन्दन खै कसलाई घसाउँ हजुर ।
मैले भने –
हिउदमा सर्प जस्तै
जमिन मुनी धस्सिनु नि
बर्षतमा मात्र कस्सिनु नि ।
उसले भन्यो –
हो हजुर
यता हेर्छु उता हेर्छु
फोहर डुङ्गर देख्दा
दिक्क भएर त्यस्तै गर्छु
जमिन भित्र भित्र छिर्छु
तर के गर्ने, उकुस मुकुस भए पछि
हावा खान
फेरि माथि नै फिर्छु
कहिले फोहरको डङगुरले छेक्दा
घरी यता भागीराछु
कहिले मरेको बङगुर देख्दा
घरी उता लागिराछु
देशदेखि बिदेशसम्म
एन.जी.ओदेखि आइ.एन.जि.ओसम्म
बचाऊको याचना मागिराछु
कतै पहिलेका दिन फिर्छन कि
त्यसमै लागिराछु ।
उसका कुरा अच्छै लाग्यो
कथा पनि सच्चै लाग्यो
मैले सोधे –
के तिमीले सहयोग पाउला जस्तो छ
फेरि त्यो दिन आउँला जस्तो छ ?
उसले अनुहार झन धमिलो पार्दै भन्यो –
धेरै बिदेशी आए भन्छन
लाखौं डलर ल्याए भन्छन
यहीकै बासिलाई थापाए भन्छन
टाठा बाठाले नै समाए भन्छन
तर रकम यता नआइेकान
उतै उतै जमाए भन्छन
मेरै नाम बेची बेची
लाखौं करौडौ कामाए भन्छन ।
उसको कुरो सुनेपछि
खराबमा परे कि श्रापमा परे
फोहर लगिकन धरापमा परे
पोको बोके पुन्तरो बोके
“बागमतीचाय नमः हनुमतीचाय नमः
टुकैचाय नमः धोबीखोलाय नमः”
भन्दै कुलेलम ठोके ।
