क्यालिफोर्नियाबाट ग्रेहाउन्ड बसको साढे चार घण्टाको यात्रा पछि रातिको करिब पौने नौ बजे लास भेगाजमा ओर्लियौँ । पहिलो झलकमै यहाँका क्यासिनोहरूका झिलिमिलि चम्किला बत्तीहरूको कारणले दिन वा रात छुट्याउन गाह्रो भयो । संयोग यस्तो पऱ्यो कि उत्रनासाथ मुसलधारे वर्षाले हाम्रो स्वागत गऱ्यो । बसमा एकजना लास भेगाज बासीसँग सामान्य चिनजान भएको थियो । ओर्लनासाथ सायद हाम्रो समस्या बुझेछ क्यारे भन्न थाल्यो – “डु यु गाइज वान्मी टु गेट यु अ क्वीक क्याब ?” (के तपाईँहरूकोलागि छिटो ट्याक्सी पाउने ठाउँ लैजाउँ ?)
हामीलाई पनि के खोज्छस कानो आँखो भनेझैँ भयो – “द्याट उड बि अ ग्रेट हेल्प यु कुड डु टु अस ।” (त्यो साँच्चै नै राम्रो सहयोग हुने थियो ।) भन्दै हामी पछि लाग्यौँ । नभन्दै खुल्ला सडकबाट नलगिकन भित्री बाटोबाट ट्याक्सी स्ट्याण्ड सम्म पुऱ्यायो । ट्याक्सी चालकसँग उ कुरा गर्दै थियो कि बंगलादेशका एकजना शिक्षक साथीले निहुरी निहुरी उक्त चालकलाइ हेर्न थाले, सायद ट्याक्सी चालकले के सोच्यो कुन्नी भन्न थाल्यो – “ह्वाट आर यु स्टेयरिङ एट म्यान ?” (के त्यसरी एकोहोरो हेरेको ?)
“डोन्ट गेट अफेण्डेड सर, हि इज जस्ट क्युरियस ह्वेदर यु कुड टेक अस टु सर्कस सर्कस ।” (नरिसाउनुहोला सर तपाईँ हामीलाई सर्कस सर्कस होटल सम्म पुऱ्याउनुहुन्छ कि भनी जान्न चाहनुहुन्छ ।) म अगाडि सरेँ र बिरानो देशको ट्याक्सी ड्राइभरलाई “सर”को सम्मानले सुसज्जीत गरेँ । बंगलादेशका साथिले पनि “सरी” थपे । उक्त लास भेगाजीयन साथिले पनि हाम्रो परिचय दियो । “दे आर इन्टरनेस्नल फेलोज फ्रम क्लेरमोण्ट ग्र्याजुएट युनिभर्सटि एण्ड फर्स्ट टाइम भिजिटर फर लास भेगाज ।” (वहाँहरू क्लेरमोन्ट ग्र्याजुएट युनिभर्सिटीका प्रशिक्षार्थी शिक्षकहरू हुनुहुन्छ र लास भेगाजमा पहिलो पटक आउँदै हुनुहुन्छ ।) तब बल्ल सायद उसको मगजमा कुरा घुसेछ क्यार भन्न थाल्यो “ओके आइ विल टेक यु टु द सर्कस सर्कस ।” (ठीक छ म तपाईँहरूलाई सर्कस सर्कस होटलसम्म पुऱ्याउँछु ।)
बाटोमा मुसलधारे पानिले बेला बेलामा बाटो देख्न पनि गाह्रो भयो “दिस मदर———– रेन डोजन्ट वान्ट मि टु सि द वे ।” (यो ————- पानीले पनि केहि देख्न पाइएन ।) चालक आफ्नै सुरमा बड्बडायो म भने अगाडिको सिटमा बसेको हुनाले प्रस्ट सुनेँ । पछाडिका बंगलादेशी, भारतीय र कोलोम्बीयन साथीहरू आफ्नै गफमा व्यस्त थिए त्यसैले सुन्न सकेनन् । मुसलधारे वर्षाको कारणले सडकमा भरीएको पानी देख्दा आफ्नै देशका सडकको दुर्दशा पनि सम्झीएँ तर यहाँका सडक भने उबड खाबड नभएकाले भित्र बस्ने यात्रुहरूलाइ भने फरक नपर्ने रहेछ । ठूला ठूला होर्डिङ बोर्ड हरू, जुवाघरका प्रचारहरूले बाहिर सडकबाट झोली तुम्बा रित्याउने गरी निम्तो पनि दिइरहेका थिए । केहीबेरको यात्रा पछि होटल सर्कस सर्कसको लबी बाहिर ट्याक्सी रोकियो । मिटरले १६ डलर देखाइरहेथ्यो र मैले २० डलरको नोट उसको हातमा थमाइदिएर भनेँ – “थ्याङ्क्यु भेरी मच फर ब्रिङ्गिङ अस हियर, एण्ड किप द चेञ्ज ।” (हामीलाई यहाँसम्म ल्याउनुभएकोमा धन्यवाद, फिर्ता आफैँसँग राख्नुहोला ।)
उसले टिप्सको मर्यादा राख्यो र भन्यो । “वेलकम टु लास भेगाज । सरी फर माइ टङ सर एण्ड इञ्जोए योर जोर्नी ।” (लास भेगाजमा तपाईँलाई स्वागत छ । मेरो भाषाको लागि माफ गर्नुहोला र यात्राको आनन्द लिनुहोला ।)
२०६९ आश्वीन २६ लास भेगाज, नेभाडा
