म
मोटरसाइकलको पांग्रामा
जिन्दगी बेरिरहेथें ।
तिमीले रोक्यौ,
म रोकिएँ।
एकै छिन मेरो तथाकथित्
जिन्दगी रोकियो ।
मेरो मन गरुङ्गो ढुंगा भएर
देउता बन्न खोज्थ्यो ।
यो सुन्दर सहरको दुर्गन्ध सुँघेर
बान्ता गर्न खोज्थ्यो ।
त्यो लालुपाते फूलको इशाराले
तिमीले रोक्यौ।
म रोकिएँ ।
यो मनै त्यो फूल भो ‘अनि
बाटैमा तिमीसित रमाएर फुल्न थालें-म ।
साउन बिनाको भेल उर्लन्थ्यो-
भतभती पोल्ने यो छाती भित्रको
लाभामार्गमा ।
त्यही भेलमा बग्थें-म
बेतोडले
मृगतृष्णाको कालो बाटो ।
त्यो रिमेझिम पानीको इशाराले
तिमीले रोक्यौ ।
म रोकिएँ ।
यो मनै त्यो पानी भो’ अनि
बाटैमा तिमीसित खुसीले रुझ्न थालें- म।
अलिकति आँसु हातले पुछ्दै-
अलिकति आँसु माटोमा खसाल्दै ,
माटोको निर्विघ्न अंगालोमा बाँधिइरहन्थें ।
अलिकति जाडो बाख्रालाई ख्वाउँदै –
अलिकति जाडोले शरीरमा काँडा उमार्दै
समय भित्रको समय बगिरहन्थ्यो ।
त्यै सारश्वत समयको इशाराले
तिमीले रोक्यौ ।
म रोकिएँ ।
यो मनै त्यो समय भो ‘ अनि
बाटैमा तिमीसित दरौंदी बगिरहें -म ।
नरमाइलो क्षण , उखरमाउलो पन –
म यो भीडमा एक्लै बाँचीरहन्थें ।
कुनै सुमधुर गीत र लय थिएन-
बाँच्नुका हरफहरुमा ।
त्यो सरुमैरानीको इशाराले
तिमीले रोक्यौ ।
म रोकिएँ ।
यो मनै त्यो गीत भो’ अनि
बाटैमा तिमीसित दोहोरी गाउन थालें -म ।
मेरी गाउँकी कविता !
मेरो गाउँ लिएर आयौ तिमी- मेरो बाटोमा ।
यो मन बेसीको धानको बाला झैं-
लरिवरि भएर झुल्न थाल्यो ।
अनि आफ्नो अस्तित्वबोधले बिस्तारै
खुल्न थालें – म ।
