अस्त-ब्यस्त समय
परिवर्तित सोचका लहरहरू,
भावनाको चट्टानमा घरि-घरि ठोकिदा,
ध्वनि हुदै प्रति-ध्वनि गुन्जन्छ,
मन, मुटु र मस्तिष्कका भित्ताहरूमा,
ठुल-ठुला अवाज दिएर,
शान्ति, शान्ति, शान्ति,
एक्कासी ज्यान मार्न पुग्छु,
अशान्तिको,
असत्यको,
कु-बिचारको,
निर्मम हत्या गर्छु ।
पटक- पटक धारिलो खुकुरी प्रहार गर्दै,
सैतान रुपी रिस नमरुञ्जेल,
त्यस माथि म प्रहार गरिरहन्छु,
रक्ताम्य हुन्छु ।
मेरा आँखाँहरू राता-रात हुन्छन ।
श्वास-प्रश्वास तेजसँग बढ्छ ।
दन्त र दाराहरू एक अर्कामा खाप्पिएका छन् ।
धरातलको चट्टान झैँ,
एक हुल प्रहरी मलाई घेरा हाल्छ ।
म ज्यानमारा घोषित हुन्छु ।
कानूनले कब्जा गर्छ ।
म अबोध बनेर हत्या कबुल गर्छु ।
निश्चिन्त साथ् कैदी बन्छु ।
फेरिन्छन मेरा वस्त्रहरू,
फेरिन्छ बातावरण,
अँध्यारो कोठा भित्र चिसो छिडीमा,
फलामका मोटा-मोटा छड भित्र कैद हुन्छु ।
एक सुगा जस्तो ।
एक सिपाही सोध्छ,
केही चाहिए भन्?
हत्त न पत्त म बोल्छु,
एक कलम,
जो-कहिले न-रित्तियोस,
एक खाली पाना,
जो कहिले न-सकियोस,
जहाँ लेख्न सकूँ सु-बिचार,
जहाँ पोख्न सकूँ मानवता,
अनि,
समानताको रेखा तान्दै
कोर्न सकूँ शब्दका पुष्प गुच्छाहरू,
बन्द जेल बाट,
म कैदीको सोचहरू,
अँध्यारो छिचोल्दै,
संसार सामु पुर्याउन सकूँ,
मेरो युद्धको संदेश,
शान्तिको उपदेश,
सृजना गर्न एक समान परिवेश,
घृणा गर्लान यो कैदी लाई,
यो बिचारलाई,
यो हत्यारालाई,
शिर झुकाई कबुल छ ।
हत्याराको तक्मा,
सिरोपर गर्छु कर्तुत,
तर !
संसारले बुझुन,
दुनियाले सुनून,
हरेक प्राणीले मनन गरुन,
अनि, प्रकृतिले पनि,
हो ! म …
अ-शान्तिको हत्यारा हुँ ।
कु-बिचारको हत्यारा हुँ ।
अ-सत्यको हत्यारा हुँ ।
म अनि म भित्र सत्यताको लेप लाग्नु,
भुल हो भने,
गल्ती हो भने,
खुशी साथ स्वीकार्छु ।
मृत्यु दण्ड पनि,
कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

चेतनाका शब्दहरु
एक सिपाही सोध्छ,
केही चाहिए भन्?
हत्त न पत्त म बोल्छु,
एक कलम,
जो-कहिले न-रित्तियोस,
एक खाली पाना,
जो कहिले न-सकियोस,
बडो मन पर्यो ।