Skip to content

उनीप्रतिको मेरो प्रेम

  • by


जीवनबाट नै प्रेमको सिर्जना हुन्छ । जब एउटा नविन जीवनको सुरुवात हुन्छ, तब प्रेमको सिर्जना हुन्छ । सृष्ट्रिकाल देखी नै प्रेमको सुरुवात भएको पाईन्छ । प्रेम भावनात्मक रुपमा दुई आत्मा बिच हुने गर्दछ । प्रेम जीवनको मार्गदर्शन हो जहाँ दुई आत्माको सम्बन्ध प्रगाढ रहनछ । तर वर्तमान समयमा प्रेमलाई फेशनका रपमा लिईन्छ । जसरी बजारमा दिनप्रतिदिन नयाँ डिजाईनको चलन चल्छ, त्यस्तै दुई चार दिनको अन्तराल पछि प्रेमको स्वरुप बदलिन थाल्छ र कस्ले धेरै प्रेमी वा प्रेमिका बनाउन सक्ने भन्ने प्रतिस्पर्धा चलेको देखिन्छ । आजकाल प्रेमभावनासँग नभएर अनुहारको सुन्दरतासँग गर्ने गरेको पाईन्छ । कामवासना र क्षणिक स्वार्थपूर्तीका लागि मात्र प्रेमको नाटक रचेको देखिन्छ । यति मात्र हेन पहिलो पल्ट कुनै नौलो केटा वा केटीसँग भेट्दाको नजर जुधाईलाई नै प्रेम मानिन्छ । यो प्रेम दिगो रहन्छ भन्न सकिन्न, किनकी यस्तो प्रेम त बदलिंदो अनुहारको सौन्र्दतासँगै खस्किदै जान्छ । अनि जब एक अर्कामा सामिप्यता बढ्दै जान्छ तब सम्बन्ध टाढिदै जान्छ र त्यसबाट आफु बँच्नका लागि प्रेमको झुट्टो आस्वासन देखाई विभिन्न बाचा बन्धन बाँध्ने गर्दछन । यर्थाथपरक बाचा बन्धनहरु त अहिलेका युवा पिडीहरुका लागि सबैले बोल्ने एउटा प्रख्यात थेगो नै भई सकेको छ । अनि चेतनशिल युवा वर्गले प्रेमलाई शारीरिक आकर्षण, अनुहारको सुन्दरता, बोलीको प्रभाव र यौजनको प्यास मेटाउने साझा थलोको रुपमा ब्याख्या गर्नुले नै सामाजिक विकृतिहरु बढ्दै गई रहेको छ । तर मेरो प्रेम बाचा र बन्धनको परिधि भन्दा बाहिर छ र उनका लागि म बाचा कसम खान पनि सक्दिन । मात्र विश्वास गर्न सक्छु म उनलाई ।

म उनका लागि आकाशको जुन तारा त झार्न सक्दिन, अनि उनका लागि म सँगै बाँच्ने र मर्ने संकल्प पनि गर्न सक्दिन । आकाशको तारा झार्न सक्ने भए त आज आँशुको सागरमा डुब्नु पर्दैनथ्यो होला । झुट्टो बाचा र कसम खाई कसैलाई आफ्नो भन्नु छैन मलाई, किनकी जिन्दगीका हरेक सुखदुःखमा एक अर्कासँग सहकार्य गरेर सँगै जिउन त सकिएला तर उनीसँगै मर्न त सक्दिन म । शायद उनी पनि एउटा मरेको लाससँगै जिउँदै सति जान सक्दिनन् होला । जीवन सबैका लागि प्यारो छ, र प्रेम जीवनका लागि खाँचो छ । आफ्नो जीवनका लागि एक थोपा खुन बगाउन त गाह्रो छ भने अरु कसैका लागि अनगिन्ति पिडाहरुलाई अंगाल्नु धेरै कठिन छ । जीवनका साना तिना चोटहरुमा रुने गर्छ मान्छे । त्यस माथी पनि एउटा प्रेमको नाममा चितामाथि दनदन्ति बलेको आगोको राफमा हाम फाल्न त साह्रै कठिन छ । यो जुनीमा जोडिएको प्रमको नाता उनीसँगै मर्दैमा जनम–जनम अमर रहन्छ भन्ने पनि छैन । त्यसैले म झुट्टो प्रेमको नाटक गरेर कसैको जीवनको आशा गर्दिन । जिन्दगी एउटा यात्रा हो । मानिसको यो यात्रा गन्तव्य पथमा निरन्तर चलिरहन्छ । जीवनको अन्तिम गन्तव्य नै मृत्यु हो, त्यो अर्को कुनै विकल्प छैन । उनी हिड्ने बाटो सुन्दर फुलै–फुलको बंगैचाले रङ्गयाउन सक्दिन म, जिन्दगीभर सुखैसुखले सजाउन सक्दिन म, हाँसो खुशीमा संधै उनलाई भुलाउन सक्दिन म, मिठो मधुर सुवाषसँगै फुलाउन सक्दिन म । केवल उनका लागि माया र प्रेमको न्यानो साथ दिन सक्छु, अल्झिएर रहेका काँडाहरु पन्छाइदिन सक्छु, एउटा सानो झुपडीमा बास दिन सक्छु, दुःखसुखको मलजल गरि उनलाई फुलाउन सक्छु, उनको चोट र पिडाहरुमा सँगै रुन सक्छु, उनले झार्ने आँशुहरु हत्केलामा थापिदिन्छु, सहारा र विश्वासको हात दिन सक्छु । यति नै हो मैले दिन सक्ने न त उनका लागि सँगै मर्न सक्छु, न त पार तर्न सक्छु ।

मेरो प्रेम बाचा र कसमको धमिलो दहभित्र झाँगिएको लेउ हैन, विश्वासको सुन्दर बंगैचामा फक्रिएको सुगन्धित फूल हो । मेरो प्रेम कुनै निश्चित स्वार्थका लागि रचिएको नाटकिय खेल हैन, वास्तविक जीजन भोगाईको एक चिन्तन हो । अनि मेरो प्रेम शारीरिक आकर्षणको केन्द्र हैन, अन्तरात्माको भावनात्मक उपज हो । मेरो प्रेम भौतिक भोग विलासबाट दुर रहेता पनि आत्मासँग नजिक छ । मेरो प्रेम स्वीकार्य छ भने तिमीलाई आत्मादेखी नै ग्रहण गर, यदी शंका भए घृणा र तिरस्कारको झटारो हान । अनधकारले विश्वका हरेक वस्तुहरुलाई लुकाएर राख्न सक्ला तर मेरो हृदयमा सजिएको उनी प्रतिको मेरो प्रेमलाई न कसैले छेक्न सक्छ न त उनीसँग लुकाउन नै । होला म उनलाई उएटा सुन्दर महलमा सजाउन त सक्दिन, तर मेरो हर ढुकढुकीमा सजाउन सक्छु ।

प्रणय दिवसको शुभकामना उनलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *