निर्वस्त्र आमाहरू


युद्धको दुन्दुभी बज्न थाल्यो ,
फेरि-
आशाको गर्भबाट
निराशा जन्मियो ।

निराश भए ती ओठहरू
जसको व्यग्र प्रतीक्षामा
हाँसो फुल्दथ्यो ।

खाण्डवदाह,माटोदाह-
प्रेमदाह र अर्थदाह्का उपक्रमहरूमा
मान्छेहरूले खुलेआम भन्न थाले-
मान्छे : मूर्दावाद ।

फुलकिरीहरूले भन्न थाले –
फूल : मूर्दावाद ।
जुनकिरीहरूले भन्न थाले –
जून : मूर्दावाद ।।

वाणासुरहरूले तान्न लागे-
मृत्युको प्रत्यन्चा।
सर्वत्र गुञ्जियो – युद्धगाथा
मृत्युवस्तीका जीवनहरूको
दारुण शब्दचित्र ।

अनि
ईश्वरको अगाडि निर्वस्त्र ,
निशस्त्र उभिइन्-
आमा कोटरा ।
उनी दानवताबादकी आमा ।
उनी मानवताबादकी आमा ।

उनलाई देखेर
ईश्वर भाग्यो ।
हाँस्यो – समय ।

मुक्तिकामी –
समाधिस्थ हाँसो ,
समाधिस्थ गीत
बटुले निर्वस्त्र आमाहरूले ।

हाँसोको यावत् प्रतिबिम्ब
हाँसोमै देखियो ।
गीतको यावत् प्रतिबिम्ब
गीतमै देखियो ।

हाँसोहरूका वीचको सीमाना,
गीतहरूको वीचको सीमाना-
नाघे ती उन्मुक्त आमाहरूले ।
युद्धरत –
देश, प्रदेशका पार्श्व सीमाना
निशर्त निशर्त नाघीरहे –
आमाहरूले ।

आमाहरूले देख्ता देख्तै-
महान बेबिलोन नगरीको
पतन भए झैं-
अहंकारको दाउमा इन्द्रप्रस्थको
स्वर्गीय साम्राज्य स्वाहा भयो ।
आमाहरूले देख्ता देख्तै-
परम् ईश्वरीय ऐनको इच्छाले
मान्छेहरूको अहम् जल्यो –
लाक्षागृहमा ।।

अनि
हलोको सियोबाट उम्रिएका सीताहरू या
धरतीको अक्षत योनीबाट जन्मिएका
निर्वस्त्र आमाहरूले
राष्ट्रियताको नाममा निर्मित
अराष्ट्रियताको पर्खाल नाघे ।

आमाहरूलाई थाह छ –
उनीहरूको जात आमा हो ;
अर्को उनीहरूको जात हुँदैन ।
त्यसैले त आज पनि
म्याक्मोहन, हिंडनवर्ग , दशगजा र
समानान्तर रेखाहरू –
प्रवेशाज्ञा बेगर
बेरोकटोक
नाघीरहन्छन्-
निर्वस्त्र आमाहरू ।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *