“बुवा, हजुर हामीसँग बस्नु पर्छ ।” जेठो छोरो बुद्धिले जुक्ति निकाल्यो ।
विद्याप्रसाद केही बोलेनन् ।
“बुहारीको पनि सानोतिनो व्यवसाय चलिरहेको छ, अलिकति लगानी भने थप्नु पर्ने छ । बिहान बेलुका घर कुर्न पनि हुन्छ, अनि काठमाडौँको ठाउँ सुविधा पनि राम्रै हुन्छ …” बुद्धि भन्दै गयो ।
विद्याप्रसाद केही नबोली चुपचाप बसीरहे ।
“होइन, बुबा त हामीसँग बस्नुहुन्छ ।” कान्छो छोरो शक्तिले मुख फोऱ्यो ।
विद्याप्रसादको बोली अझै फुटेन । उनी एकतमासले शुन्यलाइ नियाल्दै बसे ।
“दाजुको खेतीपाती पनि मैले आफैँ हेर्नुपरेको छ, बुवा चितवन नै बस्नु भयो भने मान्छे लगाएर रेखदेख त गर्नसक्नुहुन्छ । बरू लगानी अलिकति बढाएर व्यसायिक खेती गर्न पाए पो हुन्थ्यो …” कान्छो छोरो पनि आफ्नो दुखेसो पोख्न थाल्यो ।
विद्याप्रसाद अझै चुपचाप बसीरहे ।
“बुवाको सञ्चयकोषबाट कति आउँछ ?” छोरीले विषय प्रवेश गरी ।
विद्याप्रसादले पुलुक्क छोरीको मुख तिर हेरे । तर केही बोलेनन् ।
“छोरीले बाह्र कक्षा पनि पास गरी, अलिकति पैसा भएदेखि काठमाडौँ बसेर नर्सिङको प्रवेश परीक्षा तयारी गर्छु भन्थी …” छोरीले कुरा थपी ।
अचानक विद्याप्रसादको अनुहारको रङ्ग परिवर्तन भयो । सबैलाइ नजर घुमाएर हेरेपछि उनले भने ।
मैले सञ्चयकोषको रकम एउटा पुस्तकालय तथा बृद्धाआश्रममा दिने निर्णय गरिसकेँ । बदलामा त्यस पुस्तकालयको हेरचाहको जिम्मा साथै वृद्धाश्रममा आवासको सुविधा पाएको छु । अब तिमीहरूले मेरो चिन्ता नगरे हुन्छ । यति भन्दै विद्याप्रसाद कोठाबाट निस्केर नजिकैको पुस्तकालयतिर लागे । ढोकामा कुरेर बसेको शेरू पुच्छर हल्लाउँदै मालिकको पछि लाग्यो । छोरा-छोरी अवाक भइ हेरेको हेऱ्यै भए ।
सौराहाचोक चितवन
२०६९ माघ २९ (February 11, 2013)
फेसबुक लघुकथा कुनो वार्षिकोत्सवको उपलक्षमा प्रेषित
