Skip to content


यो उदासी त नयाँ शृष्टि झै लाग्यो छातिभित्र अझै चैतन्यको अवशेष बाँकी छ । टुसाउन सक्ने जीवन बृत्ति बाँकी भएर सुन्य हुनबाट प्रवासमा पनि आफूलाई जोगाए झैँ लाग्छ । प्रत्येक मानिस एक एक वटा रिक्तता लिएर बाँचिरहेको हुन्छ । कोलाहलले भरिएको शहरमा एक्लो छु । जसरी लाखौंलाख ताराहरूको वीचमा भएर पनि चन्द्रमा एक्लो छ । एकान्तमा एक्लै बस्छु कल्पनाले पिरोल्छ ।

रातमा निदाँउन ‘खोज्छु उही यादले तड्पाउँछ ! बिहानीको न्यानो किरणमा अदृश्य मायाको आभास गर्दै आल्हालित हुन्छु ! एक्लै वर्वराउँछु अरुले पागल भन्लान् कि भन्ने डर लाग्छ ।

प्रेम स्वच्छ भावनाबाट सृजना हुने मीठो अनुभुति हो र बास्तविक प्रेम पनि त्यही हो जुन पहिलो पटक हुन्छ । त्यही पहिलो प्रेमको अजम्बरी कोशेली छातीभरि बोकेर क्षितिज पारीको बिरानो ठाउँमा रुमल्लिरहेको छु ।

प्रेमले मात्र पनि त घर व्यवहार चल्ने रहेनछ । घर व्यवहारचलाउन एक अर्काबाट टाढा हुनुको कुनै बिकल्प थिएन् ।

संसारमा जति पनि प्राणी छन् ती सबैलाई एक आपसमा बाँध्ने कडी नै प्रेम हो । प्रेममा आत्माले आत्मालाई नै देख्नुपर्छ । आत्माको आवाज सुन्नुपर्छ र मनन् गर्नु पर्छ । मलाई लाग्छ प्रेम गर्नेले प्रेमको अस्तित्व स्वीकार गर्नैपर्छ । लाग्छ हामी दुई जना पनि एक अर्कालाई राम्ररी बुझेका छौ । हेदा हेर्दै समस्या नै समस्यामा जेलिएर धेरै समय बितेछ । आफ्नो प्रियसँगको प्रत्यक्ष भेट हुन नसके अनि डिजिटल भलाकुसारीले मन बुझाउन बाध्य छु । भेट हुन अतालिँदै आखाँभित्र अन्धकारमा पनि हृदयमा बलेको प्रेम दिपले मेरो जीवन उज्यालो भएको महसुस गरेको छु ।

मेरो अनुभव प्रेम र सकारात्मक सोचले जीवन अन्धकार तर्फ होइन उज्यालो तर्फ डोर्याउँछ । किनकी जिन्दगी सघर्षको अर्को नाम हो । जिन्दगीका पानाभरी सघर्षै सघर्ष लुकेको हुन्छ । संघर्षमा नि जीवन फुल्छ, रमाउँछ । आज मान्छेहरू माया, प्रेम, प्रसन्नता, प्रफुल्लता अनि स्वास्थ्य पैसामा खोज्छन् त्यसको बिपरित मैले आफ्नो मायाको छुट्टै मायाको संसार वनाएर बाँचेको छु । सँगै मर्ने सँगै जिउने कसम खाए पनि परिस्थितिले कोषौ टाढा हुनु परेको छ ।

कलकलाउँदो जवानीका प्यासहरू, अनगिन्ति रहरका खातहरू रेगिस्तानको मरुभूमिमा बिलाएको छ । एक अर्काबाट टाढा भएर पनि बर्षौ बितिसकेछ । अत्यन्तै निराश भएर बसेको थिएँ । भाइबरमा टुंग म्यासेज आयो हतार हतार कल गरे ।

“राजा मलाई यहाँ बस्न मन छैन । अब त म घर आउछु नि !”

“किन प्यारी यसरी आत्तिएकी ? म पनि त तिमी जस्तै तड्पिएको छु । तिमीले धेरै दुख गर्यौ अब फर्क दु:खसुख जे छ त्यहीमा रमाउँला” भन्नु होला सोचेर मख्ख पर्दै थिए ।

मेरो पवित्र चोखो प्रेमले उनको विशाल हृदयलाई पगाल्छ भन्नेमा पूर्ण बिश्वास थियो । मनसाय बुझ्न आतुर थिएँ ।

धेरैबेरको मौनता पछि जवाफ आयो, “देशको स्थिति ठिक छैन, किन तिमी अहिले फर्कन्छौ ?’’ अझ धेरै ब्यवहार मिलाउन बाँकी छ । मिल्छ भने त्यतैबाट युरोपतिर जानु नि।”

भगवती बस्नेत
बल्खु काठमाण्डु, हाल इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *