वटुटोलको एउटा अँध्यारो कोठामा एक युवक पल्टिरहेको थियो। मेरा एक दाइ वटुकचन्द्र गौतमका साथमा म गएको थिएँ। धेरै अघिको घटना भएकाले सालको सम्झ्ना भएन। केहीबेर कुरा गरेपछि हामी दुवै निस्कियौँ। बाहिर आएपछि दाइले भन्नुभयो, “त्यो मान्छे कवि हो, भुपेन्द्रमान शेरचन सर्वहारा। वामपन्थी स्वभावले गर्दा उसले आफ्नो उपनाम सर्वहारा राखेको हो।”

त्यही थियो भुपेन्द्रमान शेरचन सर्वहारासितको मेरो पहिलो भेट। अनुमान गर्दा त्यो ०१६ सालतिर भएको हुनुपर्दछ। भूपिको नाउँले त्यो कवि पछि मात्र विख्यात भयो। तैपनि निझर््र भन्ने एक कविता सङ्ग्रह निक्लिसकेको थियो। धनवाद तिम्रो जनवाद हाम्रो भन्ने किसिमको।

त्यही भुपेन्द्रमान शेरचन सर्वहाराबाट भूपि निक्ले पछिबाट। घुम्ने मेचमाथि अन्धो मान्छे एउटै सङ्ग्रहले यति प्रख्यात बनाइदियो भूपिलाई, उनी आफ्नो जीवनकालमै लिजेण्ड जस्ता भए।

उनको हामी कविता छापिँदा, ०१७ साल आफ्नो सम्पूर्ण निरङ्कुशताका साथ उपस्थित भइसकेको थियो देशमा। हामी एक विद्रोही कविता थियो। रुपरेखामा छापिएको त्यस कवितालाई उत्तम कुँवरले अलिक पुरानो मिति दिएर छापेका थिए, ०१७ अघि नै लेखेको भान पर्ने गरी। म त्यसबेला वीरगञ्जमा थिएँ। त्यस बखतसम्म भूपि अस्तित्ववादी भइसकेका थिए। उनले एउटा अखबारलाई दिएको अन्तर्वार्तामा भनेका थिए, “म अस्तित्ववादमा विश्वास गर्छु।”

भूपि बसेको घरको चोकमा ढुङ्गाको एउटा कालो र चिल्लो मूर्ति थियो। त्यही चोकले उनलाई चोक जस्तो कविता रच्न प्रेरित गरेको हुनुपर्दछः
यो मेरो चोक
यहाँ सबथोक छ
……………..
देउताले बनाएको मान्छे
र, मान्छेले बनाएको देउता छ।

यस बारेमा भूपिसित कहिल्यै सोध्न पाइनँ, तर म निश्चित छु।

०१९ सालमा भूपि वीरगञ्ज आएका थिए। चर्चित भएरै। प्रशंसकहरू भेट्न जान्थे। म पनि आफ्ना केही कविता लिएर त्यस बखत भूपि बसेको हिमालय होटलमा पुगेँ।

मैले केही कविता सुनाएँ। उनले एउटा कविताको सिफारिस गरेर उत्तम कुँवरलाई चिठी लेखिदिए। प्रभावित भएरै हुनुपर्दछ। त्यही कविता मेरो प्रथम प्रकाशित कविता भयो, नेपाली पत्रिकामा। रुपरेखाको कुनै युग मानियो भने, हामी त्यही युगका देन हौँ।

त्यसपछि भूपि काठमाडौँ आए। पारिजातकहाँ भूपिसँग कहिलेकाहीँ भेट हुन्थ्यो। पछि बाहिर पनि हुन थाल्यो। आएको बखत भूपि प्रायः पारस होटलमा बस्थे। त्यहीँ बेलुकीबेलुकी कविहरूको बैठक चल्थ्यो। त्यसबखतसम्म म पनि कवि नै भइसकेको थिएँ।

एउटा कुरा रमाइलो छ। त्यसबखत अकविता वा अमूर्त कविता र बौद्धिक कविताको समय थियो। त्यसकारण लेखक कविहरूमा भूपिको उत्तिको मान्यता थिएन। म स्वयं पनि कविका रूपमा भूपिलाई त्यति मान्दिन थिएँ पहिले। मान्दै मान्दिन थिएँ भन्ने चाहिँ होइन। तर कसैले माने पनि नमाने पनि भूपि पाठकहरूका बीच यति लोकप्रिय थिए कि कसैको एकदमसित नमान्ने आँट पनि थिएन। दुई व ले भूपिलाई अत्यन्त तेजस्वी बनाएका थिए― व्यङ्ग्य र विद्रोह। त्यति तीक्ष्ण लेख्ने त्यतिखेर कोही पनि थिएन।

वीरगञ्जको त्यो कवितात्मक घटनापछि काठमाडौँमा भूपिसित धेरै भेट हुन थालेको हो मेरो। पहिले मेरा दाइ धनुषचन्द्रका मित्र थिए उनी। पछि मेरा मित्र हुन पुगे। मेरो मित्रताअघिको कुरो। भूपिका कतिपय कथा प्रचलित थिए। त्यसबखत तासमा फ्लस भन्ने खेलको प्रचलन थियो, म्यारिज आदि आएको थिएन। भूपि हारेपछि एकछिन पख्नुस् है भनेर जान्थे र ब्यागभरि नोट कोचेर आउँथे, खेल्न भनेर। यस्तो मैले सुनेको थिएँ।

भूपिको हाजिरजवाफी प्रसिद्ध थियो। मैले भेटेका साहित्यकारमा भूपि र धच गोतामे नै बढी हाजिरजवाफमा पोख्त थिए।
एकपटक भूपिलाई भेट्न दिल्लीमा पढ्ने एक नेपाली छात्रा आएकी थिइन्। भूपि तिनताक बरखी बार्दै थिए, सेतो टोपी लगाउँथे। उनको लोकप्रियता त्यति माथि पुगेको थियो कि उनले भूपिलाई नै भेट्न भनेर काठमाडौँ आएको बताइन्। भूपिले उनलाई सोधे, “तपाईंको नाउँ के?”

केटीले भनिन्, “मञ्जु थापा”।

त्यत्तिकैमा भूपिले आफ्नो टोपी उचाले र खौरेको कपाल देखाउँदै भने, म गञ्जु थापा। उनको हाँसो ठट्टा गर्ने बानीको एउटा झ्लक।

भूपि एउटा अर्को कुराका लागि पनि चर्चित थिए। उनी ट्याक्सीमा मात्र हिँड्थे र जहाँ जानुछ, त्यहाँ घण्टा-दुई घण्टा ट्याक्सीलाई कुराएर गफ गरिरहने अनि त्यसपछि अर्को ठाउँ जानु छ भने त्यहाँ पनि त्यही ट्याक्सी लिएर पुग्ने गर्दथे। पछि उनले मोटरबाइक किनेका थिए।

भूपिसित प्रायः हिन्दीमा कुरा हुन्थ्यो। राम्रो हिन्दी बोल्थे। बनारसमा पढेकाले होला। अङ्ग्रेजी पनि राम्रो थियो।
एकदिन पारिजातको घरमा विभिन्न युवा साहित्यकारको कुरा चल्यो। एउटा कुरा भनिदिउँ, पारिजात र भूपिले नयाँ पुस्तालाई सधैँ प्रोत्साहन दिए। यस कुरामा पारिजात अझ्ै अघि थिइन्। सबैलाई सम्झ्ँदै जाँदा, भूपिले ध्रुव सापकोटाको एउटै कथाको नाउँ लिए, जिन्दगी अर्थात् टाइम बम। ध्रुव सापकोटाको त्यो कथा चर्चित पनि भएको थियो।

भूपिसँग पारसमा रातभरि कुरा गरेर बसेको थिएँ एकपटक। त्यस रात उनले आफ्नो जीवनका अन्तरङ्ग घटनाहरू सुनाएका थिए। भूपि प्रायः भ्याट ६९ मन पराउँथे। मेरो भने ब्राण्ड बनिसकेको थिएन। कहिल्यै बनेन पनि। म भन्थेँ पनि― म त सबैको ब्राण्ड एम्बेसेडर।

एक दिन खिचापोखरीको शेरे पंजाव रेस्टुराँमा कुरा गर्दागर्दै भूपिले त्यसका मालिकलाई आफूले लगाइराखेको ‘मेगा घडी फुकालेर उपहार दिए। परिस्थिति यस्तो भयो, हामीले त्यहीँ कोठा लिएर सुत्नुपर्ने भयो। भोलिपल्ट चार बजे निद्रा खुल्यो। समस्या के आयो भने होटल मालिकलाई दिएको त्यो ‘मेगा घडी कसरी फिर्ता लिने? भूपि माग्न नसक्ने। उनी मलाई भन्थे, तिमी माग। म भन्थेँ, एउटाले दिएको अर्कोले कसरी माग्ने। त्यो घडीको परिणाम पछि के भयो, अहिले मैले बिर्सें।
भूपिकी छोरी कविता जन्मेको थाहा छ। भूपि उनलाई कब्बु भनेर सम्बोधन गर्न रुचाउँदथे। उनी लेख्थिन् पनि। एक-दुई पटक भेट पनि भएको छ। अहिले धेरै भयो, देख्दिनँ।

भूपिको निधनपछि एक दिन मैले ध्रुव सापकोटालाई भनेँ, “भूपिकहाँ गएकै छैन। कान्ति भाउजूलाई पनि भेट्नुपर्ने। आज जाउँ।”
हामी सामान्य रूपमा घुम्दैफिर्दै गयौँ। कान्ति भाउजू र कवितासित पनि भेट भयो। तर एउटा अप्ठ्यारो जस्तो लाग्यो। त्यसैदिन भूपिको श्राद्ध परेको रहेछ। हामी पछि आउँछौँ भनेर हिँड्न चाहन्थ्यौँ। उहाँहरूले मान्दै मान्नु भएन। भन्नुभयो, “यो संयोग त्यसै जुरेको होइन।” हामी पितृ-प्रसाद खाएरै आयौँ। अचम्म पनि लाग्यो त्यस्तो संयोग परेकोमा।

भूपिको कविताको आज एउटा स्कूल बनिसकेको छ। कति नयाँ कविहरू भूपिबाट प्रेरित-प्रभावित छन्, त्यसको हिसाब छैन।
भूपि कुनै कविको उदाहरण दिएर भन्थे, “घाम, जून, कुकुरको पुच्छर― यस्तो कविता लेखेर के हुन्छ?”

भूपिलाई अहिले हामी जीवनवादी र नेपाली साहित्यका एक मानक कविका रूपमा चिन्दछौँ। उनले नेपाली कवितामा एउटा मोड ल्याएका थिए, जुन मोडमा आज कतिपय नयाँ पुस्ताका कविलाई उभिएको देख्न सकिन्छ।

भूपिको कालजयी सार्थकता यसैबाट सिद्ध हुन्छ।

हिमाल खबरपत्रिका २२७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *