Skip to content

विडम्बना सहितको आश


रङी विरङी फूलहरू फुलाएर आउने त्यो वसन्तलाई
उत्साह र उमङ्ग बाड्दै आउने त्यो शरद्लाई
रेगिस्तानमा जीवनको आश देखाई आउने त्यो मनसुनलाई
भन्दिनु, तिमीहरू आउने आशामा नै प्राण त्याग्यो उसले
कहिल्यै छाडेन त्यो आश
मनको बागमा थरीथरीका फूल रोप्यो
मस्तिष्कले अनेकौं पर्वको आयोजना गर्न खोज्यो
जिन्दगीको बारीमा अनेकौं खेती गर्ने सोच्यो
तर तिमीहरूको अनुपस्थितिले केही सफल एवं सार्थक भएन
तुने बुनेका सपनाहरू सबै उनिएर नै मरे
एक नौलो उषा आउला
नविन रङ छाउला
आकासमा नयाँ तारा उदाउला
बन्जर जमिनमा मूल फुट्ला
अनि जिन्दगीले उन्नतिको बाटो पकड्ला
यी सबै त दिवा सपना नै रहे,
विपना सँगै डढे
ती नबोलाइएका, अनपेक्षित पाहुनाले नै उसलाई सखाप पारे
चाहना उषाका किरणको थियो बरा विचराको
तर सधै सन्ध्यामा नै बाँच्यो
अझ निष्पट अन्धकार युक्त कालरात्रि छाए
सबैले एक स्वरमा मृत्युधुन गाए
बाँसुरीको सुरिलो धुन कहिल्यै गुञ्जेन
सुर र ताल कहिल्यै मिलेन, बेतालमा नै बाँचिरह्यो
घडीको पेन्डुलम झैँ झुण्डिएर हल्लिरह्यो, हल्लिरह्यो
नयाँ पालुवासँग खेल्ने उसको चाहना
इन्द्रेणीको सातै रङले रङिने उसको मनोभावना
यी सबलाई शिशिरले जकड्यो
ग्रीष्मको उखुम तापले बफ्याएर पिल्सायो
अनि हेमन्तको तुसारोले कठ्यायो,
कोमामा धकेल्यो
अन्त्यमा चिर निन्द्रामा पार्ऱ्यो, ढाल्यो
तर पनि भन्दिनु ती वसन्त, मनसुन र शरद्लाई
तिमीहरू आउने आश अझ उसले मारेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *