Skip to content


भेडेटार सिरान उत्तर गरी पस्रिरहेको यसै
साँच्चै सुन्दर यो बिशाल नगरी भेटिन्न अर्को कतै
ठूला बृक्ष थिए बिशाल वन थ्यो पैले यसै ठाउँमा
आरावाल पसे कटान सुरुभो धरान् बनाए त्यहाँ

काटे काठ सबै सकेर वन त्यो बस्ती बसाको अरे
त्यस्कै नाम लिई धरान भनियो पर्चार यस्तै गरे
सानै थ्यो तर त्यो प्रशिद्ध अतिनै बन्यो धरानै त्यहाँ
बेपार् बढ्न गयो, पहाड तिरका नुन् तेल किन्थे यहाँ

बोकी ढाकर किन्न तेल मसला ढाक्रे यहीं झर्दथे
सारै सुन्दर यो धरान, सबले बर्णन् यसै गर्दथे
यो जिल्ला भरकै छ, मुख्य नगरी प्यारो धरान् सुन्दर
ब्यापार् बड्न गयो बिभिन्न चीजका दोकान् खुले घर्घर

बिस्तारै यसमा विकास भरियो बाटो बनो पक्किको
घर्घर्मा सजिलै गुडेर पुगिने गाडी चलाई छिटो
शिक्षा आर्जनको निमित्त कतिछन् ती पाठशाला यहाँ
बन्दैछन् कतिका त सन्तति बडा,बिद्वान, डाक्टर् त्यहाँ

पंडित् बन्नगए, छ पाठ पढने संस्कृतको क्याम्पस
छन् है धर्म सबै यही नगरमा, इस्लाम्, इसाई सब
गुम्बा, मन्दिर छन् यसै नगरमा, मस्जीद औ चर्च छ
किर्तन् , ध्यान र प्रार्थनाहरू सबै मान्छे सधैं गर्दछन्

झल्के झल्मल लाहुरे भवन ती, पाहाडका मुन्तिर
उद्योग् खुल्न गयो अझै नगरका कुना र काप्चा तिर
बाटा सुन्दर छन् , सफा बगलमा झन् लालुपाते फुली
साँच्चै उज्वल छ्यौ, धरान युगकी बाला तिमी सुन्दरी

कौशीमा गमला चटक्क भरिला राता पहेंला निला
देखिन्छन् फुलमा बसेर भमरा बुट्टा सरी चम्किला
बस्ती यो छ सधैँ बिशाल् भवनले बैचित्र्य झल्काउने
खाँदा होटलमा, छ स्वाद रसिलो सर्बत्र पल्काउने

रम्दै देव तिनी बसेर शिवजी बाबा ती पिण्डेश्वर
हुन् है त्यै थलको समिप बसने ती दन्तकाली स्थिर
त्यस्तै यस् थलमा प्रशिद्ध छ बुढासुब्बा बसेका यहाँ
धेरै देवहरू एकापस मिली बस्छन् बिजैपुर् महाँ

गीता ज्ञान सदा बहन्छ सजिलै सारा नगर् बासिमा
यस्तै सुन्दर यो चिटिक्क पहिले मन्दिर् बनो मार्गमा
सारा देवहरू मिलेर अहिले घुम्दै धरान्मै झर
यस्तो सुन्दर शान्त यो शहरको रक्षा स्वयम् नै गर

२०६९|१ |२२
इटहरी – ५, पचरुखी

छन्द – शार्दुलविकृडित
गण – म स ज स त त गु

Leave a Reply

Your email address will not be published. Required fields are marked *