Skip to content

रहस्योद्घाटन


सुख दु;खको जीवनचक्रमा
नघुमेका यी
प्लास्टिकका फूलहरू-
सेतो गुलाफको फूलभन्दा
उज्जर देखिन्छन् ।

पेटमा दया नभएको
भुइँकुहिरो
मायाले भरिएको बादलभन्दा
सुरुप देखिन्छ ।

टेलिभिजन –
हाउभाउ कटाक्ष कोहोलो
घन्काइरहन्छ ।
गीतहरूमा कलकल
खोला बग्दैन
तर
पापीहरूको स्तुति र
श्लाघा बग्दछ ।

लेकैभरि-
माटोको जन्मजात गुण सोसेर
बुकी फुल्दछ
यद्यपि –
बुकीका फूलहरूमा काठमाडौं
फुल्न सक्तैन ।

पन्छीहरू –
चुच्चोमा परालको त्यान्द्र च्यापेर
उडिरहन्छन्
अनि
तिनको कोखमा आकांक्षाहरूको
भ्रूण उस्रन्छ ।
यद्यपि-
तिनका गुँडहरूमा
जोरजाम हुँदैन –
जिन्दगीका सामलहरूको ।

गरुडको छायामा पर्नासाथ
डोरी झैं भएर
सर्पहरू –
विचै विच बाटोमा गुडुल्किन्छन् ।
यद्यपि-
तिनका बाटोको गन्तव्य हुँदैन ।
गन्तव्यसम्म पुग्ने तिनको उद्देस्य हुँदैन ।

देश दुखेको पीडामा
आँसु तप्प तप्प झार्छन् –
गोहीहरूले ।
तिनको आँसुका थोपाले
ढुंगा खियाउँछ ।
यद्यपि –
तिनका मनहरू
पग्लन सक्तैनन् ।

देउताको अगाडि उभिएर
झुक्नसम्म झुक्छन्- जल्लादहरू ।
अनि
आफ्नो मन मन्दिरको झन्डा
आधि झुकाउँछन् ।

म यी र यस्तै अन्य स्थितिहरूको
रहस्योद्घाटन
समारोहमा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *