Skip to content

लाटोकोसेरोलाई अँध्यारो मन पर्छ

  • by


लाटोकोसेरोको राज अँध्यारोमा चल्छ
लाटोकोसेरोलाई अँध्यारो मन पर्छ ।

अँध्यारो छाएपछि बिउँझिन्छन् लाटोकोसेराहरू
उज्यालो छउन्जेल झोक्राएर बस्छन्
कसैले नदेख्ने गरी कुनामा तिनीहरू
आँखै देख्दैनन् उज्यालोमा लाटोकोसेराहरू ।

जब अँध्यारामा सुषुप्त हुन्छन् विधिहरू
मलिन बन्छन् कानुन र प्रक्रियाहरू
तब उठ्छन् जुर्मुराएर लाटोकोसेराहरू
उज्यालोमा रमाउन सक्तैनन् लाटोकोसेराहरू
र, तहस-नहस बनाउँछन् विधि र प्रक्रियाहरू
मूल्य र आदर्शहरू
तिनलाई काला कानुनहरू मन पर्छ
लाटोकोसेरालाई आफ्नै राज मन पर्छ
लाटोकोसेरालाई अँध्यारो मन पर्छ ।

जुका पालेर बस्छन् लाटोकोसेराहरू
विधिको शासनमा टिक्न सक्दैनन्
अकर्मन्य जुकाहरू
यसका निम्ति
सदासदाका लागि दिग्भ्रम सिर्जना गरेर
रोम सहर जलिरहँदा पनि
निरोले बाँसुरी बजाएर आनन्दमा बसेझैँ
अट्टाहासमै मख्ख छन् लाटोकोसेराहरू
लाटोकोसेरालाई एक्लै रमाउन मन पर्छ
लाटोकोसेरालाई अँध्यारो मन पर्छ ।

अँध्यारामा सुषुप्त हुन्छन् बाह्यान्तरका अवरोधहरू
र निर्वाध चल्छन् लाटोकोसेराका शासनहरू
मौरीहरूलाई स्थान मिल्दैन तिनका राज्यमा
र, विस्थापित हुन्छन् स्वाभिमान र स्वावलम्बीहरू
यथार्थमा, लाटोकोसेरालाई निरोकै राज मन पर्छ
लाटोकोसेरालाई अँध्यारो मन पर्छ ।

नेपाल साप्ताहिक अंक: ५३५ | २०६९ फाल्गुन २० | Mar 3, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *