Skip to content


कालेलाई कालले पनि लगेन
हामी कति अभागी हुम्ला ?

तिमी दयामा स्वाभिमान साट्न
तिम्रो खटनमा मर्न/बाँच्न
अनिकाल र महामारीलाई
मूल्यमा उठाउन पाए नि’ हुन्थ्यो !

लाम लागेर नुन चामलमा
उभिएको हुम्ला तिम्रो दयाको भिखमा ।

तिमीले सधैँ यसरी नै भुलाउनू
तिमी जहाज चढेर आउनू
हामी रित्ता बोरा च्यापेर
थोत्रा डोका बोकेर
तिम्रो इच्छामा स्वाभिमान झुकाइरहूँला ।

चेतनाको दियो किन सल्काउँछौ ?
बरू विदेशी भिख र सरकारी अनुदान
तिम्रो दया र आश्वासन
पाइरहन पाए नि’ हुन्थ्यो ।

यथास्थितिमा नै अभागीहरु
तिम्रो दयाको बदलामा
स्वाभिमान बेच्न पनि सक्छन्
यथास्थितिमा
बेचिएको स्वाभिमानमा रमाउन नि सक्छन् !

तिम्रो देशलाई सतीले सरापेको छ
हाम्रो हुम्लालाई बोक्सेभीरले पिरोलेको छ ।

तिमीलाई जाडो-गर्मी लाग्छ
तिमीलाई हुरी बतासले नि’ छोप्छ
तिमी जाडो र गर्मीमा जोगिनू
तिमी हुरी र बतासमा नि’ नआउनू ।

तिमी आउन अनिकाल आउनुपर्छ
तिमी अनिकालसँगै आउनू
तिमी आउन महामारी फैलिनुपर्छ
तिमी महामारीसँगै आउनू
तिमी आउन अभागी कालेले
अकालमा ज्यान गुमाउनुपर्छ
तिमी उसैको मृत्यु लिएर आउनू ।

तिम्रो दयामा हाम्रो स्वाभिमान झुकिरहोस्
हामी तिम्रो आगमनको प्रतीक्षामा हुम्ला ।

अंक: ५३२ | २०६९ माघ २८

Leave a Reply

Your email address will not be published. Required fields are marked *