प्रिय सिद्धार्थ !
अरूको रोग, शोक,
बुढ्यौली र मृत्यु देखेर
दरबार त छाडिदियौ ।
तिमीले छाडेको यो खोपीमा
आज तिम्रै शोकमा
रोएकी म
मेरो रोगको उपचार
कहिले भेट्छौ तिमीले ?
के बिग्रन्थ्यो र तिम्रो ?
मलाई किन भनेनौ ?
म त सँगै बाँच्ने र मर्ने
भन्दै आएकी थिएँ नि
तिमीसित
त्यति पनि पत्याएनौ
मेरो राजकुमार ?
उज्यालोसँग डराएर
तिम्रो स्पर्शको न्यानोमा
मलाई भुलाएर
त्यो अन्धकारमा
कहाँ गयौ तिमी ?
कहाँ मात्र खोजिनँ र !
तिम्रो इच्छाविपरीत
तिमीलाई कैद गरिएका
चैत्यहरूमा
पुगेकी थिएँ
त्यहाँ स्थापित
स्निग्ध, शान्त बुद्धको प्रतिमा
मेरो प्रियको थिएन
मेरो सन्तानको पिता/प्रेमी मेरो
त्यो मूर्तिमा
तिमी थिएनौ सिद्धार्थ !
तिमी गएपछिका
यी
उदास रातहरू/नीरस उषाहरू/वैरागी दिनहरू
अनि, बोझिला साँझहरूले
पल प्रतिपल कोक्याउँछन् ।
प्रत्येक गाँसमा गला लाग्छ
तिर्खाहरू सर्किरहन्छन् ।
निन्द्रा छैन/मात्र ऐँठन हुन्छ
कतै देखिहाले सपना
तिमी नै त हुन्छौ
मेरो प्रिय … !
शताब्दीयौँदेखिको यो प्रतीक्षामा
तिमीलाई पर्खिरहिछे
तिम्री यशोधरा !
अंक: ५३१ | २०६९ माघ २१ | Feb 3, 2013
