० उपन्यासको अर्थ र परिभाषा
साहित्यका अनेक विधाहरूमध्ये प्रमुख, नवीन र सर्वाधिक लोकप्रिय विधाका रूपमा उपन्यासलाई मान्नसकिन्छ। उपन्यास संस्कृत शब्द भए तापनि आजको उपन्यास साहित्य पश्चिमको देन हो। उपन्यास शब्दको सोझो अर्थ हुन्छ नजिकको वस्तु वा निकटस्थ वस्तु अथवा जीवनको अनुभूति। उपन्यासलाई अंग्रेजीमा नोबेल भनिन्छ जो ल्याटिनको नोभेलस् शब्दबाट नोभेला हुँदै नोबेल भएको हो।
उपन्यासका सम्बन्धमा पूर्व र पश्चिमका धेरै विद्वान्हरूले विभिन्न परिभाषा दिएका छन्। साहित्यको स्वरूप, समयको गति र सभ्यतासितै परिवर्तित हुनेहुनाले यसका परिभाषाहरू यही नै हुन् भनेर किटान गर्नसकिँदैन। अतः उपन्यास जस्तो लोकप्रिय र नवीन विधाको परिभाषा निश्चित यही हो भन्न सकिँदैन। यद्यपि, यहॉं केही समालोचकहरूका परिभाषालाई अघि सारेर हेर्दा उपन्यासबारे जानकारी पाउन सकिन्छ।
हेनरी जेम्सले उपन्यासलाई जीवित, गतिशील र सम्पूर्ण मानवीय चेतनालाई वृहत्तर परिवेशमा समेट्न सक्ने विधा मानेका छन्।१ अर्थर भिजेनरले मानव जीवन-जगतका प्रवृत्ति, मूल्य, अन्तरद्वन्द्व, समस्या र मानवीय व्यवहार आदिलाई संयुक्त चेतनाका रूपमा प्रस्तुत गर्ने साहित्यिक विधालाई उपन्यास बताएका छन्।२ प्रसिद्ध उपन्यासकार प्रेमचन्द्रले मानव चरित्रको व्याख्या गर्नु र त्यसको रहस्य खोल्नु उपन्यासको मूल कार्य बताएका छन्।३ भानुभक्त पोखरेलले कथानक, जनजीवन र उद्देश्यको गठबन्धनमा बॉंचेको गद्यात्मक बृहत् आख्यान उपन्यास हो भनेका छन्।४ कृष्णचन्द्र सिंह प्रधानले उपन्यास जीवन र जगत्प्रति नै एक विहङ्गम दृष्टि हो भनेका छन्।५ डा. मोहन पी दाहालअनुसार उपन्यासले विशिष्ट दिशामा प्रवृत्त हुने मानव जीवन-जगत्का विविध भाव, चिन्तन र क्रियाकलापहरूलाई विधिवत् रूपमा प्रकाश गर्दछ।६
० सिक्किमेली उपन्यास साहित्य
आधुनिक उपन्यास साहित्यका क्षेत्रमा सिक्किमले थोरै उपन्यास सिर्जना गरे पनि गुणात्मकताका दृष्टिकोणमा सिक्किमेली उपन्यास साहित्य अब्बल रहेको छ। सिक्किममा उपन्यास लेखनको परम्परा सन् १९७०-को दशककै छेउछाउबाट शुरु भएको मान्नसकिन्छ।७ सिक्किममा उपन्यास साहित्य भित्र्याउने श्रेय गंगा कप्तानलाई जान्छ। गंगा कप्तानको निर्दयी (१९६९) उपन्यास सिक्किमेली उपन्यास साहित्यको जेठो उपन्यास हो।८ सिक्किमका प्रथम उपन्यासकारको पगरी गुथेका गंगा कप्तानले जिउँदो लाश (१९७०), महत्वहीन कुमारीत्व (१९७०)- गरी सन् १९९०-अघि तीनवटा उपन्यास प्रकाशनमा ल्याइसकेका थिए। यसपछि उनले इन्दू उपन्यासको रचना (१९८८)-मा गरे तापनि यसको प्रकाशन भने उनको मृत्युपछि २००५-मा भयो। गंगा कप्तानद्वारा सिर्जना गरिएको पृष्ठभूमिमा समीरण छेत्री “प्रियदर्शी’ र अर्जुन निरौला जस्ता उपन्यासकारको उदयले सिक्किमेली उपन्यास साहित्यलाई माथि उठाउने काम गरेको छ।९ ऐतिहासिक परिप्रेक्ष्यमा लेखिएको समीरण छेत्री प्रियदर्शीको बलिवेदी (१९७०) र पोखिएको जिन्दगी (१९७१)-ले सिक्किमेली उपन्यास साहित्यलाई मल-जल गर्ने काम गरेको छ। यसपछि सुवास दीपकको अभिषेक (१९८०), राधाकृष्ण शर्माको भन्न नसकेका कुरा (१९८३) र तुलसी शर्मा “कश्यप’-को सङ्कल्प (१९८८) उपन्यास प्रकाशन भए। १९८०-को दशकको अन्त्यमा आइपुग्दा अर्जुन निरौला घाम डुबेपछि (१९८९) उपन्यास लिएर आए। घाम डुबेपछि उपन्यास अघिल्ला उपन्यासहरूको तुलनामा परिष्कृत र परिमार्जित छ भने यो एउटा प्रयोगवादी उपन्यास हो।१०
९०-को दशकदेखि यता सिक्किममा उपन्यास साहित्यको निम्ति उल्लेखनीय पहल भएको छ। मलिलो पृष्ठभूमिमा यहॉं भीम दाहाल, सानु लामा, पारसमणि शम, एम.डी. कार्की जस्ता उपन्यासकारहरूको उदय हुन्छ। यसै अवधिमा भीम दाहाललाई उपन्यास लेखनकै क्षेत्रमा साहित्य अकादमी पुरस्कार प्राप्त हुनुबाट सिक्किममा उपन्यास साहित्यले उल्लेखनीय प्रगति गरेको स्पष्ट भएर जान्छ।
भीम दाहालको पहिलो उपन्यास अभीष्टको खोज (१९९३)-बाट नै पूर्णतः स्थापित उपन्यासकारका रूपमा परिचित भएका हुन्। उनका अन्य दुइ उपन्यास हुन् द्रोह (२००२) र विद्रोह (२००५)।
सानु लामाको हिमालचुली मन्तिर (१९९८) आत्मपरक शैलीमा लेखिएको आख्यानात्मक कृति हो। सानु लामाले यसलाई उपन्यासको दर्जा नदिए पनि यो औपन्यासिक रूपमा तयार गरिएको अनुभवन्यास हो। यो अनुभवन्यास आत्मपरक वृतान्त धारावाहिक शैलीमा लेखिएको छ। यसका मूल पात्र अनुभवन्यासकार लामा नै हुन् र यसका सम्पूर्ण घटनाहरू उनी वरिपरि घुमेका छन्।११
सन् २००६-मा आएर सिक्किमबाट दुइवटा उपन्यास प्रकाशन भए। पहिलो एम.डी. कार्कीको सिँहासन र दोस्रो पारसमणि शमको लक्ष्यतिर! यस अवधिमा लेखिएका अन्य उपन्यासहरूमा कपिलमणि अधिकारीको दुखेको चोट (१९९९), गीता शर्माको खूशबू (१९९२), सविता चामलिङको प्रतीक्षा (१९९०), नन्दू दूतराज “निशा’-को अमर उपहार, जिग्मी लेप्चाको मलाई सिउँदोको सिन्दूरले हत्या गऱ्यो (१९९६), चक्रपाणि भट्टराईको शक्तिको खोज (१९९८), टी.बी. चन्द्र सुब्बाको जीवनदेखि धेरै टाढ़ामा (२०००), सन्तोष गुप्त “उदास’-को सौगात (१९९६), निष्ठुरी (१९९८) र वियोग (२०००) आदिमा स्वच्छन्दतावादी धारालाई समातेर सामाजिक पृष्ठभूमिमा उपन्यास सिर्जना गरिएका छन्।
० औपन्यासिक तत्त्व
उपन्यासको संरचना एउटा कला हो। यसको रचनामा विभिन्न तत्त्वहरूको समायोजन हुन्छ, जसको उचित प्रयोग र सम्मिश्रणद्वारा उपन्यासले स्पष्ट स्वरूप प्राप्त गर्छ। आधुनिक उपन्यासको संरचनामा प्रमुख ८ वटा तत्त्वको निर्वाह गरिएको पाइन्छ। ती हुन् –
१. कथानक
२. चरित्र र चरित्रचित्रण
३. दृष्टिविन्दु
४.पर्यावरण
५. सारवस्तु
६. भाषा-शैली
७. प्रतीक र विम्ब
८. गति र लय
यस कार्य पत्रमा समकालीन सिक्किमेली उपन्यासका नारी चरित्रको संक्षिप्त अध्ययन गरिने प्रयास गरिएको हुँदा औपन्यासिक तत्त्वहरूको विश्लेषण नगरेर चरित्र र चरित्रचित्रणको चर्चा गर्न उचित हुनेछ।
० उपन्यासमा चरित्र र चरित्रचित्रण
उपन्यासमा कथानक अथवा कुनै विशेषता बुझाउन सुव्यवस्थित तरिकाले प्रयोग गरिने मानव र मानवेत्तर प्राणीलाई पात्र भनिन्छ। उपन्यासमा चरित्रको महत्त्व सर्वोपरी मानिन्छ। चरित्र बिनाको उपन्यास लेखन अत्यन्त गाह्रो विषय हो। उपन्यासकारले कुनै न कुनै रूपमा कथानकलाई अघि बढ़ाउन चरित्रको प्रयोग गरेका हुन्छन्। कथानकका योजनामा आवश्यक तत्त्वहरूलाई क्रमबद्धता प्रदान गर्नेे अपरिहार्य माध्यम हो पात्र। कथानक योजनाको कुनै पनि उपकरणहरू पात्र निरपेक्ष बन्नसक्दैनन्। १२
उपन्यासमा प्रत्येक चरित्रको रूप र विम्ब फरक-फरक किसिमले निर्धारण गरिने गरिन्छ, जसका कारण प्रत्येक चरित्रले भिन्ना-भिन्नै विचारलाई सम्प्रेषण गर्ने कुनै एक वर्ग विशेषको कार्य गर्दछन्। उपन्यासकारले चरित्रमा निश्चित नैतिक र अभिवृत्ति प्रकट गराउने हुँदा उनीहरूको संसार भिन्नै हुन्छ, जुन संवाद र क्रियाद्वारा व्यक्त गरिन्छ। उपन्यासमा चरित्र उपन्यासकारको कल्पनाबाट जन्मिन्छ। त्यसको दृश्य जगत होश अथवा मनोजगत्, साहित्यमा आइपुग्दा यथार्थका प्रत्येक तत्त्वहरू कल्पना र भावनाका कलाले पोतिन्छन्। त्यो यथार्थ जगतबाट टिपिएको भए पनि सर्वथा भिन्न हुन्छ, किनभने उपन्यासको चरित्र निर्माण गरिन्छ तर पनि चरित्रले सांसारिक जीवनको बाह्य र आन्तरिक प्रवृत्तिहरूको मूल स्वरूपलाई पक्रिएकै हुन्छ। उपन्यासलाई सजिवता प्रदान गरी कथानकलाई गति दिने महत्त्वपूर्ण जिम्मेवारी चरित्रको हुन्छ। यसैकारण चरित्रको निर्माणमा नै उपन्यासकारहरू बढ़ी ध्यान दिन्छन् र चरित्रमाथि निर्भर रहने गर्छन्।
उपन्यासमा प्रयोग गरिने चरित्रहरू जीवन र जगतका विभिन्न सन्दर्भबाट टिपिने गरिन्छ, यसैले तिनीहरूमा विभिन्नताको आरोपण गरिएको पाइन्छ। कथानक र वातावरणको फरकपनले गर्दा चरित्रका गुणहरू परिवर्तन हुनपुग्छन्। उपन्यासमा प्रयोग हुने चरित्रहरूलाई विभिन्न आधारमा वर्गीकरण गर्नसकिन्छ। लिङ्ग, प्रवृत्ति, स्वभाव, जीवन चेतना, आसन्नता र आबद्धताका आधारमा चरित्रहरूको वर्गीकरण गर्नसकिन्छ। उपन्यासका चरित्रका केही प्रकार र भेद यसप्रकार छन्ः-
गतिशीलः कथानक, वातावरण अथवा कुनै घटनाले गर्दा परिवर्तन हुने चरित्रलाई गतिशील चरित्र मानिन्छ। भीम दाहालको अभीष्टको खोज उपन्यासकी शान्ति गतिशील पात्रा हो।
गतिहीनः उपन्यासको शुरुदेखि अन्त्यसम्म चारित्रिक दृष्टिले भिन्नता नआउने चरित्रलाई गतिहीन चरित्र मानिन्छ।
यथार्थः समाजको वास्तविक संसारलाई हुबहु प्रतिनिधित्व गर्ने किसिमको पात्र विशेष यथार्थ चरित्र हो। उपन्यासमा यस्ता चरित्रका कारण उपन्यास पढ्दा जीवन पात्रले होइन आफैले भोगेजस्तो लाग्दछ। लक्ष्यतिर उपन्यासकी राधा गुरुमा यथार्थ चरित्र मान्न सकिन्छ।
आदर्शः यथार्थ चरित्रको उल्टो आदर्श चरित्रलेे उच्चाकाङ्क्षा बोक्ने तर यस्तो हुनुपर्छ भन्ने सन्देश दिनआउने, उपन्यासकारको मुखपात्रको रूपमा प्रयोग हुने चरित्र विशेषलाई आदर्श चरित्र मान्नसकिन्छ। लक्ष्यतिर उपन्यासकी सरु गुरुमा आदर्श पात्र मान्नसकिन्छ। आदर्श चरित्रलाई उपन्यासकारले कलङ्करहित रूपमा सहानुभूति राखेर कृत्रिम तरिकाले प्रस्तुत गरेका हुन्छन्।
अन्तरमुखीः जीवनलाई आफ्नै किसिमले भोग्ने अनि सांसारिक जीवनदेखि टाढ़ा बस्न चाहने पात्र अन्तरमुखी हुन्छ।
बहिर्मुखीः बहिर्मुखी पात्रको स्वभाव आफ्ना मनका कुरा अरूलाई भनिहाल्ने र बाहिरी सम्पर्कमा रम्ने किसिमको हुन्छ। उसले जीवनलाई रमाइलो अनुभवका रूपमा लिएको हुन्छ।
गोलाः जीवनलाई जटिल रूपमा भोग्ने अनि पलपलमा विशेषता परिवर्तन गरी कथानकलाई रोमाञ्चपूर्ण बनाउने चरित्र विशेषलाई गोला चरित्र भनिन्छ। गोला चरित्रमा स्वच्छन्दता र स्वाभाविकता बढ़ी हुनेगर्छ। भीम दाहालको द्रोह उपन्यासकी रुन्नालाई गोला चरित्रका रूपमा मान्न सकिन्छ।
च्याप्टाः जीवनलाई एउटै किसिमले भोग्ने, विशेषता परिवर्तन नगर्ने तथा सहजै बुझ्न सकिने चरित्रलाई च्याप्टो चरित्र मानिन्छ। यी चरित्रमा आदर्शताको मात्रा बढ़ी हुनेगर्छ। लक्ष्यतिर उपन्यासकी सरु गुरुमा च्याप्टो चरित्रका रूपमा हेर्नसकिने पात्र हो।
सार्वभौमः जताजतै एकै रूपले ग्रहण गर्नसकिने, विश्वजनिन पात्र विशेषलाई सार्वभौम पात्रका रूपमा लिइन्छ।
आञ्चलिकः कुनै निश्चित पर्यावरणमा विशेष परिचय स्थापना गरेर बसेका पात्र विशेषलाई आञ्चलिक पात्र मानिन्छ। भीम दाहालको विद्रोह उपन्यासका रून्ना, नोरमोति आञ्चलिक पात्र हुन्।
पारम्परिकः पूर्व परिचित स्वभाव, आचरण र कार्यकै अनुकरणमा कुदिहिँड़्ने चरित्र विशेषलाई पारम्परिक परित्र मान्नसकिन्छ। प्रगतिवादी उपन्यासहरूमा सिद्धान्त र आदर्शता थोपिएका चरित्रहरू प्रयोग गरिएको देखिन्छ, जसका कारण उपन्यासको भविष्य पाठकलाई अघि नै टुङ्गो लाग्नसक्छ। यस्ता चरित्रहरूलाई पारम्परिक चरित्र भन्नसकिन्छ। भीम दाहालको विद्रोह, द्रोह उपन्यासमा यस्ता थुप्रै चरित्र प्रयोग भएका छन्। एम. डी. कार्कीको सिँहासन उपन्यासकी रानी पारम्परिक चरित्र हो।
मौलिकः मौलिक चरित्र उपन्यासकारको नयॉं सिर्जना हो र यसमा पाठकलाई आकर्षित गर्ने शक्ति हुन्छ, जसले आस्वादनका नयॉं ढोकाहरू खोलिदिन्छ। जस्तै गंगा कप्तानको इन्दु उपन्यासकी इन्दु, भीम दाहालको अभीष्टको खोजकी शान्ति मौलिक चरित्रका रूपमा प्रयोग भएका छन्।
स्त्रीलिङ्गी र पुलिङ्गीः लिङ्गका आधारमा चरित्रको प्राकृतिक जात छुट्याउने हुँदा चरित्र पुलिङ्गी र स्त्री लिङ्गी गरी दुइ वर्गमा विभाजित हुन्छन्, जसलाई पुरुष चरित्र र नारी चरित्र भनेर बुझ्न सकिन्छ।
प्रमुख चरित्रः उपन्यासमा सबैभन्दा बढ़ी काम गर्ने, कार्य मूल्ययुक्त चरित्र प्रमुख हुन्छ, जसलाई नायक-नायिका भनिन्छ। गंगा कप्तानको इन्दु उपन्यासमा इन्दु, भीम दाहालको अभीष्टको खोजमा शान्ति प्रमुख चरित्र हुन्।
सहचरित्रः उपन्यासमा प्रमुख चरित्रलाई सहयोग गर्ने चरित्र विशेषलाई सहचरित्र भनिन्छ। लक्ष्यतिर उपन्यासकी राधा गुरुमा, अभीष्टको खोजकी धनमायालाई सहचरित्रका रूपमा लिनसकिन्छ।
गौणचरित्रः उपन्यासमा ठाउँ-ठाउँमा देखा पर्ने अनि हराउने किसिमका पात्र जसलाई झिकिदिँदा कथानकमा प्रभाव नपर्ने किसिमका चरित्रलाई गौणचरित्र भनिन्छ।
अनुकूल : सकारात्मक विचार भएको सत् पात्र जसले पाठकको सहानुभूति प्राप्त गर्न सफल हुन्छ त्यस्ता पात्रलाई अनुकूल चरित्र भनिन्छ। नायक-नायिकालाई उपन्यासमा अनुकूल चरित्रका रूपमा प्रयोग गरिन्छ।
प्रतिकूल : नकारात्मक विचार भएको असत्, खराब चरित्र भएको, उलाह, दुष्ट पात्र, जसले पाठकको घृणा प्राप्त गर्छ त्यस्ता पात्रलाई प्रतिकूल चरित्र भनिन्छ। खलनायक-खलनायिकालाई उपन्यासमा प्रतिकूल चरित्रका रूपमा प्रयोग गरिन्छ।
वर्गीयः कुनै विशेष सामाजिक वर्गको प्रतिनिधित्व गर्ने चरित्र विशेष वर्गीय चरित्र हो। भीम दाहालको अभीष्टको खोज-की शान्तिले शोषित र गरीब ग्रामीण नारीवर्गको प्रतिनिधित्त्व गरेकी छ।
उपन्यासको चरित्रले कुनै सामाजिक वर्ग, जाति, पेशा अथवा मनोवैज्ञानिक स्तरको प्रतिनिधित्व गरेको हुन्छ। सबैभन्दा विशिष्ट विषयको प्रतिनिधित्त्व गर्नसक्ने चरित्र नै पाठकका लागि स्मरणीय रहन्छन्। बानी, बोली, हेराई, क्रियाकलाप आदिले एउटा नयॉं व्यक्तित्त्वको छाप पार्नसक्नु चरित्रको उपस्थिति उपन्यासमा अति बन्दनीय हुन्छ। १३ उपन्यासलाई जीवन्त बनाउने काम चरित्र चित्रणले गर्दछ।
उपन्यासमा मुख्यतः वर्णनात्मक अथवा प्रत्यक्ष र नाटकीय अथवा अप्रत्यक्ष पद्धतिबाट चरित्र चित्रण गरिन्छ। १४
वर्णनात्मक पद्धतिबाट चरित्र चित्रण गर्दा उपन्यासकारले बाहिरबाट चरित्रको स्थिति, सोचाई, विचार, अनुभव जस्ता कुराहरूमा आफ्नो दृष्टिकोण वर्णन गर्दछ अनि आधिकारिक तरिकाले उल्लेख गर्दछ। गंगा कप्तानले इन्दु उपन्यासमा इन्दुको चरित्र चित्रण वर्णनात्मक पद्धतिबाट गरेका छन्। उनी लेख्छन्-“”जतिसुकै जटिल कार्य सम्पादन गर्ने कार्यभार इन्दुलाई दिइयो भने पनि भोलिपल्टै त्यो कार्य भइसकेको हुन्छ, इऩ्दुलाई कुनै प्रकारका कठिन कामहरूसॅंग डर लाग्दैन। इन्दुको स्थान अजयपछि त्यस कक्षामा आउँथ्यो। तर जुन-जुन समयमा यस्ता अवसरहरू आउँथे, उसको मुखमण्डलमा चिन्ताका रेखाहरू कोरिन्थे।”
उपन्यासकारले सङ्केत, घटना, मनोवाद र संवाद कुनै माध्यमबाट आफू पर बसेर पात्रको चरित्रलाई आफैले परिचित हुने अवसर प्रदान गरिनुलाई नाटकीय पद्धतिबाट चरित्र चित्रण गरिनु मानिन्छ। पात्रको चरित्र विकासका लागि मिल्ने तयार गरिदिने कर्तव्य उपन्यासकारको हुन्छ।
० समकालीन सिक्किमेली उपन्यासमा नारी चरित्र
समकालीन सिक्किमेली उपन्यास साहित्यमा गीता शर्माको खुसबु, चक्रपाणि भट्टराईको शक्तिको खोज, गंगा कप्तानको इन्दु, र भीम दाहालको अभीष्टको खोज नायिका प्रधान उपन्यास रहेका छन्। यसका साथै भीम दाहालका दुइ उपन्यास द्रोह र विद्रोह, एम.डी. कार्कीको सिँहासन र पारसमणि शमको लक्ष्यतिर उपन्यासमा विभिन्न प्रवृत्तिका नारी चरित्रहरूको प्रयोग गरिएको छ। अभीष्टको खोजकी शान्तिलगायतका दाहालका नारी चरित्रहरू सशक्त विद्रोह गर्ने सामर्थ्य भएका, स्वभिमानी, आत्मविवेकी र सङ्घर्षशील तथा क्रान्तिकारी चरित्र बोक्न सफल छन्। सिँहासन र लक्ष्यतिरका नारी चरित्रहरू पनि पुरुषप्रधान समाजको दासत्त्वबाट मुक्तिको बाटो खोज्ने किसिमका छन्। गंगा कप्तानको इन्दुकी इन्दु वर्गीय चरित्र हो। सानो जातमा जन्मिएर पनि उसमा कतै पनि हीनताको बोधको भावना देखिँदैन। गरीबीले पिसोल्टिए पनि केही गर्छु भन्ने सामर्थ्यता भएकी इन्दुले जातिवादी विचारधाराबाट माथि उठ्ने काम गरेकी छ।
सिक्किमेली उपन्यासकारहरूले आफ्नै उपन्यासहरूमा नारी चरित्रलाई समयोचित रूपमा प्रस्तुत गर्दै समाजको नेतृत्त्व गर्नसक्ने सामर्थ्यता प्रदान गर्दै महिला सशक्तिकरणको खुल्ला वकालती गरेका छन्। उपन्यासकारहरूले आफ्ना उपन्यासहरूमा गतिशील, गतिहीन, यथार्थ, आदर्श, अन्तर्मुखी, बहीर्मुखी, गोला, च्याप्टा, सार्वभौम, आञ्चलिक, पारम्परिक, मिथकीय, मौलिक, अनुकूल, प्रतिकूल, वर्गीय आदि विभिन्न प्रकारका चरित्रहरू प्रमुख, सहायक र गौण चरित्रका रूपमा प्रस्तुत गरेका छन्। चारवटा उपन्यास नायिकाप्रधान लेखिनुबाट पनि सिक्किमेली उपन्यासकारहरूले नारी चरित्रलाई बलियो बनाउने कोशिश गरेको देखिन्छ। खुसबु र शक्तिको खोज उपन्यासमा औपन्यासिक साहित्यिक महत्व अभीष्टको खोज, इन्दु आदिको तुलनामा केही दुर्बल देखिन्छ। यद्यपि, नारी चरित्रहरूलाई सिक्किमेली उपन्यासकारहरूले उच्च प्राथमिकता दिएर उपन्यासको कथानकलाई अघि बढ़ाउने काम गरेका छन्। यी उपन्यासहरूमा नारीलाई प्रयोग गर्नैपर्छ भन्ने बाध्यताले होइन तर समाज निर्माणमा नारीको भूमिका महत्त्वपूर्ण छ भन्ने दर्शाउनका लागि नै सशक्त रूपमा प्रयोग गरेको बुझिन्छ। अर्कोतिर नारीले आफ्नो जीवन यात्रामा गर्नुपरेको सङ्घर्ष अनि भोग्नुपरेको दुःखबाट आउँदो पीढ़ीले सही शिक्षा प्राप्त गरोस् भन्ने उद्देश्य पनि लुकेको देखिन्छ।
० समकालीन सिक्किमेली उपन्यासका केही नारी चरित्र
समकालीन सिक्किमेली उपन्यास साहित्यका केही महत्त्वपूर्ण नारी चरित्रहरूको चरित्र चित्रण गर्नपर्दा भीम दाहाल, गंगा कप्तान, एम.डी. कार्की र पारसमणि शमका उपन्यासहरूमा रहेका नारी चरित्रहरूको चरित्र चित्रण यहॉं गरिएको छ। अन्य उपन्यासका नारी चरित्रहरूको अध्ययन पछिबाट गरिने जानकारी गराउँदै यहॉं केही प्रभावकारी नारी चरित्रहरूको संक्षिप्त चरित्र चित्रण गरिने कोशिश गरिएको छ।
० इन्दु
गंगा कप्तानद्वारा निर्दयी, जिउँदो लाश र महत्त्वहीन कुमारीत्व पछि चौथो उपन्यासका रूपमा सन् १९८७-मा लेखिएको अनि उनको मृत्यु (११ दिसम्बर २००२) भएपछि निर्माण प्रकाशनद्वारा २००५-मा प्रकाशित इन्दु उपन्यास नायिका प्रधान उपन्यास हो। यस उपन्यासमा इन्दु सूर्यझैं केन्द्रमा छ भने उपन्यासको कथानक इन्दुको जीवन सङ्घर्षलाई देखाउन अन्य पात्रलाई लिएर आएको छ। आध्यात्म चेत भएकी एक सशक्त प्रतिभाशाली पात्राका रूपमा खड़ा भएकी छ इन्दु।
इन्दु गंगा कप्तानकी प्रिय चरित्रका रूपमा उभिएकी छ अनि उसले उपन्यासकारले भन्नचाहेका सबै कुरा बोलेर, गरेर आएकी छ। इन्दु सशक्त प्रतिभाशाली चरित्रका रूपमा प्रस्तुत भएकी छ र उपन्यासकारको इशारामा नाचेकी छ। इन्दु दमाई जातमा जन्मिएकी, प्रतिभाशाली, तार्किक, ईश्वरीय चेत भएकी अनि आध्यात्मिक विषयमा खुलेर तर्क गर्नसक्ने लगनशील, इमान्दार देखिन्छे। उ शिक्षित छ तर गरीबकी छोरी हो। धनको अभावमा कतिपय ठाउँमा विचलित हुने इन्दुकामार्फत् उपन्यासकारले आफ्ना विचारहरू र उपन्यास लेखनको उद्देश्यलाई अघि सारेका छन्। इन्दु कस्ती चरित्रकी छ भने उपन्यासकारले शुरुमै इन्दुको परिचय यसरी दिन्छन्-
“”जतिसुकै जटिल कार्य सम्पादन गर्ने कार्यभार इन्दुलाई दिइयो भने पनि भोलिपल्टै त्यो कार्य भइसकेको हुन्छ, इन्दुलाई कुनै प्रकारका कठिन कामहरूसॅंग डर लाग्दैन। इन्दुको स्थान अजयपछि त्यस कक्षामा आउँथ्यो। तर जुन-जुन समयमा यस्ता अवसरहरू आउँथे, उसको मुखमण्डलमा चिन्ताका रेखाहरू कोरिन्थे।”
“”प्रकृतिले इन्दुलाई यस्तो देहदृष्टि प्रदान गरेको थियो, उसले जस्तो प्रकारका लुगा लगाए पनि खुबै सुहाउँथे।”
“”इन्दु आर्य समाज समर्थक थिई…।”
“”इन्दु प्रगतिशील युवती थिई, उसमा उत्साह परिपूर्ण थियो।”
तर यत्तिका गुण हुँदा-हुँदै पनि इन्दुले सक्दो दुख पाएकी छ। एमएसम्मको उच्च शिक्षित, प्रतिभाशाली, तार्किक, विवेकी भएर पनि इन्दुले सही जीवन साथी पाउनका लागि तीन-तीनपल्ट विवाह गर्नुपऱ्यो। एकातिर कथानकको शुरुमा इन्दुलाई सशक्त चरित्रका रूपमा उभ्याइएको छ अर्कोतिर कथानकको गतिसितै इन्दु कमजोर बनेर जान्छे। एकातिर इन्दु दमाईकी छोरीलाई माथिल्लो जातको गोविन्द, महादेव र अजयले विवाह गर्दा कुनै सामाजिक सङ्कट आइपर्दैन। जबकि उपन्यास लेखिएको समयको नेपाली समाज छुवाछुत र भेदभावबाट मुक्त भएको थिएन। तर उपन्यासमा वर्णित समाजले जात-पात मान्दैन। तर यस्तो समाजमा हुर्किएर इन्दुमा सानो जातकी छोरी हुँ भन्ने हीनताबोध छ जसका कारण अजयसित प्रेम गरेर गोविन्दसित विवाह गर्न राजी भई, गोविन्दको अन्याय सहन गर्ननसकेर भागी, एमए गरेकी प्रतिभाशाली भएर पनि महादेवको शरणमा परी उसैसित विवाह गरी, सन्तान प्राप्तपछि महादेवको मृत्युपछि बिचल्नीमा परी अनि अजयको सम्पर्कमा आएर उसैसित विवाह गरी।
उपन्यासकारले इन्दुलाई नायिका बनाए तर न्याय दिएनन् किनभने शिक्षित र प्रतिभाशाली भएर पनि कुनै व्यवसाय गर्ननसक्नु, पुरुषसित आश्रित हुनु, लोग्नेको कमाई खानु, स्वाभिमानी र आत्माभिमानको चिन्तालाई त्याग्नु, लोग्नेले जे भन्यो त्यही मान्नु, कुनै कार्यका लागि ठोस निर्णय नगर्नु, नोकरीका लागि अजयको सहयोग लिनु, गोविन्दले ४ हजार महिना कमाउँछ भन्दा त्यसैमा मख्ख पर्नु, महादेवले नोकरी नगर मसित विवाह गर भन्दा त्यसै गर्नुजस्ता कमजोरीले इन्दुप्रति सहानुभूति होइन टीठ लागेर आउँछ। फेरि उपन्यासकारले ठाउँ-ठाउँ इन्दुलाई अनुभवहीन बताएका छन्। कथानकको शुरुदेखि अन्त्यसम्ममा इन्दु कतै पनि अनुभवी देखिन्न।
अतः गङ्गा कप्तानको इन्दु उपन्यास नायिकाप्रधान उपन्यास भएर पनि नायिका इन्दु पुरुषप्रति आश्रित, कमजोर, हीनताबोधले ग्रसित च्याप्टा चरित्र हो। उ पारम्परिक छ। पतिको सेवालाई धर्म ठानेर आफ्ना इच्छा-आकाङ्क्षाको बलि दिने हाम्रो सामाजिक विचारलाई मान्ने पति परायण चरित्रका रूपमा देखाउँदै महिलाले बहुविवाह गर्दा उ चरित्रहीन हुन्न भन्ने देखाउन मात्र इन्दुलाई बारम्बार विवाह गर्न लगाइएको छ। अजयसित प्रेम गर्ने इन्दुले सहजै गोविन्दको विवाह प्रस्ताव स्वीकार गरी, गोविन्दको शास्ति खप्न नसकेर घरबाट भाग्ने इन्दुले महादेवलाई शरण मागी अनि पछि उसैसित विवाह गरी। महादेवको मृत्युपछि अजयको सहयोगमा नोकरी लिएर उसैसित विवाह गरी। उसले आमाको निर्णयको विरोध गरिन, गोविन्दको शास्तिलाई सही, विरोध गरिन तर भागी, महादेवको मृत्युपछि आफू बॉंच्ने चेष्टा गरिन अनि अजयसित विवाह गरी। उसलाई ठाउँ-ठाउँमा पुरुषको सहयोग चाहिएको छ जसका कारण उसको चारित्रिक विकास भएको छैन। उ कमजोर बनेकी छ जसका कारण उपन्यासकारको औपन्यासिक कला फ्यातुलो र थुप्रै भूलले भरिएका छन्।
० शान्ति
जनपक्ष प्रकाशनबाट सन् १९९३-मा प्रकाशित भीम दाहालको पहिलो उपन्यास अभीष्टको खोज एक नायिकाप्रधान उपन्यास हो। उपन्यासकी नायिका शान्तिले जीवन यात्राका क्रममा भोगेका सफलता र असफलतालाई उपन्यासकारले कुशल कारिगरलेझैं कथानकमा बुन्ने काम गरेका छन्। शान्तिका सन्दर्भमा समालोचक पुष्कर पराजुली भन्छन्- “”शान्तिको माध्यमबाट उपन्यासकारले बीसौं शताब्दीको अन्तिम दशकमा पनि नारीहरूले कसरी सामाजिक सुधारको अपेक्षा राख्छन् र ती कसरी पुरुषप्रधान समाजबाट अवहेलित छन् – देखाउने प्रयत्न गरिएको छ।”१५
शान्ति गतिशील, गोला, वर्गीय, आञ्चलिक र परिवर्तनशील चरित्रका रूपमा उपन्यासमा देखिएकी छ। असाध्य दुःख भोगेर जीवन जिउन परेको शान्तिले प्रत्येक ठाउँ अपेक्षा विपरीत परिणाम प्राप्त गरेकी छ। पुुरुषप्रधान समाजको दमन र अत्याचारमा उ जाकिएकी छ। उ ठाउँ-ठाउँमा झुक्किन्छे अनि ठगिन्छे। आफ्नो कार्यालयको साहेब नेत्रप्रसादबाट बलात्कृत हुन्छे। उ गर्भवती बन्छे अनि नेत्रप्रसादबाट तिरस्कृत भइसकेपछि विद्रोहको सामर्थ्य नजुटाइ गर्भपतन गरिदिन्छे। आफ्नो गाउँ फर्किएर उसले आफू सामाजिक कार्यसित जोड़िन्छे अनि सामाजिक न्यायका लागि अघि बढ़्छे। उसको चाहना अर्थपूर्ण जीवन बॉंच्ने छ। तर उसलाई स्वतन्त्रता अथवा अभीष्टको खोजी छ। उ हार्दिन र उसलाई स्वतन्त्रता खोजे पाइन्छ भन्ने विश्वास पनि छ।
अभीष्टको खोज उपन्यासमा शान्ति एक सशक्त चरित्रका रूपमा उभिएकी छ। सम्पूर्ण कथानकलाई बोक्ने सामर्थ्य भएकी शान्ति आधुनिक समाजको प्रतिनिधित्त्व गर्नसक्ने चरित्र हो। आधुनिक समाजमा नारी जातिले भोग्नुपरेको कष्टकर जीवनलाई उसले भोगेर स्वतन्त्रताको खोजी गर्छे अनि उन्मुक्त जीवनको बाटो समाउने प्रयास गर्छे। पुरुषहरूले स्त्रीहरूलाई कसरी दमन र अत्याचार गरेका छन् त्यस कुराको स्पष्ट चित्रण यस उपन्यासमा दिइएको छ।
भीम दाहालले आफ्नी प्रिय चरित्र शान्तिलाई खुल्ला छोड्ने र चारित्रिक विकास गर्ने प्रशस्त अवसर दिएकाले टिम्बुरबुङ जस्तो गाउँमा जन्मिएकी अनि असाध्य दुःख भोगेर स्कूल धाएकी शान्तिले जीवन जिउन जुन सङ्घर्ष गरेकी छ, त्यो सङ्घर्ष सॉंच्चै प्रत्येक सिक्किमेली नारीले जीवन यात्रामा गर्नुपरेको सङ्घर्ष मान्न सकिन्छ। ठाउँ-ठाउँमा पुरुषप्रधान समाजको प्रताड़ना सहनु परेको देखाइएको छ शान्तिका माध्यमद्वारा।
शान्तिको जन्म पनि असामान्य छ। उ जन्मनअघि नै उसको बाबु मरिसकेको हुन्छ। शान्तिको जन्म कस्तो स्थितिमा भयो भने-
“”तुलसीको मठमा अर्घ्य दिएर उसकी आमा फर्किँदै गर्दा शान्ति जुनेली रातमा झस्केलामा जन्मिई। शान्तिकी आमा शान्तिको बाबु पनि भने हुन्छ, किनभने त्यो गर्भै टुहुरी हो।”
“”सुत्केरी धनमायाले आफैलाई स्याहारी। कुनै सुँड़ेनी, कुनै भान्से बज्यै छैनन्, एकान्त घर, शून्य घर।”
पछि धनमायाले लीलारामसित बिहे गरेपछि यी दुइलेे सहमतिका आधारमा अर्को सन्तान नजन्माउने निर्णय गरे, जसको परिणामस्वरूप शान्तिले शिक्षा-दीक्षाको बाटो पाई। शान्तिले लीलारामबाट प्रशस्त माया पाई। एक्काइस वर्षको उमेरमा उसले बाह्रौं श्रेणी पास गरी अनि नोकरी खोज्न गान्तोक हिँड़ी। गान्तोकमा उसले आफ्नो काकाको घरमा आएको विकृति र विसङ्गतिलाई चिन्ने काम गरी।
शान्तिले नोकरी त पाई काजीमानको सिफारिश र सानु भाइको चाप्लुसीमा तर उ आफ्नै कार्यालयको साहेब नेत्रप्रसाद बस्नेतबाट बलात्कृत हुन्छे। त्यसपछि उ आफ्नै गाउँ फर्किन्छे र सामाजिक कार्यमा लाग्छे। उसले टिम्बुरबुङ गाउँ जन कल्याण समिति गठन गर्छे तर त्यस संस्थालाई राजनैतिक रङ दिने काम हुन्छ। उसका प्रत्येक क्रियाकलापमा सामाजिक विकृति र विसङ्गति बाधक बनेर आउँछन्।
उसले स्वतन्त्र जीवन भोग्ने निर्णय गरी। त्यसपछि उसले स्वच्छन्द जीवन बिताउन अनि आफ्नो शारीरिक तृष्णा मेटाउन मञ्जुर भाइलाई आफ्नो शरीर सुम्पिई। उसले विहे गर्ने इच्छासमेत गरी तर आफ्नो प्रेमी इन्द्रकमल थपलियाले उसलाई चुम्बन मात्र गरेर छारे रोगका कारण महीना दिनपछि मऱ्यो। शान्तिलाई घरमा माग्न केटो आउँदा उसले स्वतन्त्र जीवन भोग्ने निर्णय गरिसकेकी थिई। उसले भनिदिई -“” आमा, मलाई गलत नठानिदिनु। मैले रातभरि जस्तो विचार गरें। मैले विवाह गरेर अब कुनै नयॉं जीवन शुरु गर्नु छैन। म त चाहन्छु, यो मेरो जीवन पल-पलको निर्णय बितिरहोस्…”।
“”म तपाईंहरूकी छोरी भइरहूँ। म अब अर्को रूप जन्माएर त्यसलाई समस्या दिन चाहन्न। म खोजिरहन्छु आमा र जुन दिन वा रात मलाई मन पर्दो, मेरो मनले खोजेको कुरा पाउँछु- त्यहॉंदेखि उता म अल्मलिइरहन चाहन्छु। बस्। त्यहॉंदेखि उता म जान्न। ”
ग्रामीण क्षेत्रमा जन्मिएकी शान्ति समाजको विकृति र कुसंस्कारको शिकारमा परेर उन्मुक्त बन्नपुग्छे। चारैतिरबाट आइपरेका अप्ठ्यारालाई झेलेर उसले अन्त्यमा स्वतन्त्र जीवन जिउने अनि पुरुषको साथमा जीवन नबिताउने निर्णय गर्छे। शान्तिमा नारी स्वतन्त्रता र नारी सशक्तिकरणको शक्ति जागृत हुन्छ र उसले विवाह नगरी जीवनको अभीष्ट खोज्ने निर्णय गर्छे।
गंगा कप्तानकी इन्दु र भीम दाहालकी शान्तिमा यहीं आएर विभिन्नता देखा पर्छ। इन्दु उच्च शिक्षित छे तर पनि शान्तिमा जत्तिको समाजसित सङ्घर्ष गर्ने शक्ति छैन। शान्ति जीवन स्वतन्त्रतासित बिताउन चाहन्छे अनि उसलाई आफ्नो निर्णयप्रति विश्वास पनि छ। तर इन्दुले स्वतन्त्र बॉंच्ने कल्पनासम्म पनि गर्नसक्दिन। उसले जीवन जिउनका लागि तीन-तीनवटा लोग्ने मान्छे रोज्नुपर्छ तर दुवैले पुरुषप्रधान समाजबाट प्रताड़ना भने एकै किसिमको पाएका छन्।
० लीलारामकी आमा, धनमाया र फूलमति
दाहालको अभीष्टको खोज- मा सिक्टेरी कान्छाकी पत्नी लीलारामकी आमा र शान्तिकी आमा धनमायाले अघिल्लो दुइ पुस्तामा नारीले भोग्नुपरेको कष्टपूर्ण जीवन यापन गर्नुपरेको छ भने शान्तिकी काकी फूलमतिले घरको आर्थिक स्थिति कमजोर भएपछि गान्तोकमा शरीर व्यापार गर्नुपरेको तीतो सत्यलाई बोक्न सफल चरित्रहरू हुन्।
लीलारामकी आमा पति र पुत्र दुवैबाट दमित बनेकी छ। छोरोले अर्काकी विधवा धनयायालाई बिहे गर्ने निर्णय गरेपछि परम्परा र रूढिवादमा विश्वास गर्नु सिक्टेरी कान्छोलाई बुझाउन सक्ने उसमा सामर्थ्य छैन। उ पतिव्रता स्त्री हो अनि पतिको निर्णय र बोली नै उसका लागि हुकूम थियो। पुरुषप्रधान समाजको स्त्री दलाहा संस्कारबाट पीड़ित बनेकी लीलारामकी आमा छोरोलाई साथ दिन नसक्ने अनि आँखाबाट आँशु झारेर रुन नसक्ने चरित्रका रूपमा देखा परेकी छ। उसको छोरालाई खर्चका रूपमा आमाको ममताले भ्याएसम्म भुजेल कान्छोलाई बोलाएर सिक्टेरनीले थैली नै रित्त्याएर सैंतालिस रुपियॉं नब्बे पैसा पठाई। तर छोरोले त्यो पैसा फर्काइदिएपछि साठी वर्षको उमेरसम्म स्वस्थानी व्रत बसेकी आमाको हृदय रोएन तर आत्महत्या गर्ने अवस्थामा पुग्यो। गाउँ समाज, संस्कार, रीति-थिति, परम्परा र लोग्नेबाट तिरस्कृत बनेकी लीलारामकी आमाले छोराले समेत गरेको तिरस्कार नसहेर जिन्दगीबाट भाग्ने निर्णय गर्दै बुढेसकालमा आत्महत्या गर्नुपरेको विसङ्गतिपूर्ण चित्रण गरेका छन् दाहालले।
शान्तिकी आमा धनमाया पनि पुरुषप्रधान समाजको शोषणमा परेकी छ। शान्ति गर्भमा छॅंदा विधवा बनेकी अनि विष्णेकी बूढी नामले चिनिएकी धनमायाले पुरानो पुस्ता र नयॉं पुस्तालाई जोड्ने काम गरेकी छ। दुइ युगको सॅंघारमा उभिएकी धनमायामा केही नारीवादी आग्रह र पारम्परिक संस्कारको छायॉं दुवै देखिन्छ।१६
उसले तीनवटी स्वास्नी गुमाइसकेको लीलाराम कॅंडरियासित विवाह गर्ने निर्णय गर्छे। समालोचक पुष्कर पराजुली भन्छन्- “”उ आफ्नो दोस्रो पतिसॅंग पोइल जॉंदिन। बरू लीलाराम कड़रिया उसको बाबुको सम्पूर्ण विश्वास र मान्यताहरूलाई चोट पुऱ्याएर धनमायाको घाम छिर्ने घरमा प्रवेश गर्छ सधैंका लागि।” १७ आफूले भोग्नुपरेको कष्टकर जीवन छोरी शान्तिलाई नभोगाउने सङ्कल्पसहित उसले लीलारामलाई “”शान्ति नै हाम्री सन्तान हो। आजकल औषधि पाइन्छ रे। गह्रौं जीउकी हुने छॉंट-कॉंट भएको खण्डमा भनिहाल्नू।” भन्न लगाई।
बाबुबाट त्यागिएको लोग्नेसित बिहे गरेर पनि पारिवारिक सन्तुलन कायम गराउँदै परिश्रमको बलमा शान्तिलाई बाह्रौं श्रेणीसम्म पढ़ाउन सक्नु धनमायाको चारित्रिक विशेषता तथा परिश्रमको फल हो। उ परिश्रमी छ अनि प्रत्येक परिश्रमसित छोरीको ममता जोड़िएको देखिन्छ।
आफ्नो नाम परिवर्तन गरेर राजेश शर्मा भएको र गान्तोकमा सरकारी नोकरी गर्ने शान्तिको काकाकी पत्नी हो फूलमति। लोग्नेको वेतनले ६-६ जनाको परिवार धान्न नसकेपछि घरमा जॉंड रक्सी बेच्ने अनि समय समयमा शरीर पनि बेच्ने काम गर्छे। स्त्रीका इच्छा र आकाङ्क्षालाई पूरा गर्न असमर्थको उसको लोग्नेबाट शारीरिक सुख र भौतिक सुख नपाएका कारण फूलमतिले आफ्नो शरीररूपी फूल भॅंवराहरूलाई अर्पण गरेकी छ। उसको सोचाइ उन्मुक्त छ र लोग्नेको दासत्त्वबाट मुक्ति पाए पनि पुरुषहरूबाट शोषित बनेकी छ।
0 मुन्ना, सुबेदारनी आमा, प्रतिभा
लभभग एक दशकपछि दोस्रो उपन्यास द्रोह (२००२)-मा आइपुग्दा उपन्यासकार भीम दाहालले आफ्नो औपन्यासिक प्रवृत्तिमा परिवर्तन गर्दै बहुचरित्रात्मक उपन्यास लेखनलाई महत्त्व दिएका छन्। सन् २००७-को साहित्य अकादमी पुरस्कार प्राप्त द्रोह-मा उनले क्रान्तिकारी, सचेत र सशक्त चरित्रहरूद्वारा वर्ग सङ्घर्षलाई कथानक बनाउँदै क्रान्तिको बिगुल फुक्ने काम गरेका छन्। द्रोहमा उनले चरित्रहरूको प्रयोगलाई बढ़ो कलात्मक तथा प्रतीकात्मक रूपमा खड़ा गरेका छन्। उपन्यासका प्रत्येक चरित्रले कथानकको विकासमा आफ्नै किसिमले योगदान दिएका छन् र कुनै एक चरित्र झिकिदिए कथानकको श्रृङ्खला भङ्ग हुँदछ। द्रोह-मा मुन्ना, सुबेदारनी आमा, मनीषा गुरुमा, प्रतिभाजस्ता बहुआयामी, प्रतिभाशाली र विद्रोही नारी चरित्रहरूको प्रयोग गरिएको छ।
उपन्यासमा मुन्नाको चरित्रचित्रण यसरी गरिएको छ- “” बस्, मुन्ना परिचयभन्दा माथि थिई। केवल मुन्ना थिई उ। मात्र मुन्ना। ” मुन्नाले उपन्यासमा निकै महत्त्वपूर्ण स्थान ओगटेकी छ। दार्जीलिङमा जन्मिएकी, आठौं श्रेणीसम्मको शिक्षा लिएकी, रिदाङको घुम्ती घरमा दोकान गर्ने अनि दोकानमा राशिनदेखि लिएर रक्सीसम्म बेच्ने हॅंसिली, सिक्किमको प्रमाण पत्र नभएर सरकारी सहुलियतबाट बञ्चित रहेकी मुन्नालाई जात र धर्मभन्दा माथि राखेका छन् उपन्यासकारले। मुन्नामा एक प्रकारको विद्रोहात्मक प्रवृत्ति छ। अन्याय र अत्याचारको खुलेर विरोध गर्ने क्रान्तिकारी, प्रगतिशील र बर्हिमुखी चरित्र हो। गाउँ-समाजका प्रत्येक कार्यक्रममा उसको उपस्थिति दखिन्छ। मुन्ना मिलन समाजको सक्रिय सदस्य बनेकी छ। स्वाभिमानी मुन्नामा गरिखाने सामर्थ छ, दोकानको लाइसेन्स रद्द हुँदा पनि उ हतास हुन्न, साइन बोर्ड हटाएर निरन्तर दोकान चलाउने हिम्मत गरी। मुन्ना उपन्यासमा कस्तो चरित्रका रूपमा देखापरेकी छ भने कथानकको गॉंठो फुकाउने काम उसले गरिदिन्छे। उसमा वर्गीय चेत छ, समाजको परिवर्तन हेर्ने इच्छा छ। उ एक क्रान्तिको पक्षमा उभिएकी चरित्र हो जो कुनै अन्याय अत्याचारविरुद्धमा बोल्न अघि सर्छे।
गरीबमाथि अन्याय, अत्याचार, शोषण, दमन भएको सहन नसक्ने अनि उनीहरूको न्यायका लागि बोल्ने, विद्रोह गर्ने लोकहितको भावना राख्ने एक सशक्त चरित्र हुन् सुबेदारनी आमा। उमेरमा अत्यन्त सुन्दरी सुबेदारनी ४ जनाको बाबु सुवेदारसित बिना शर्त आएकी हो। दार्जीलिङमा जन्मिएकी हुँदा त्यहॉंको सामाजिक छाप र विद्रोहात्मक गतिविधिबाट परिचित छ। चियाकमानको दुख देखिसकेकी सुबेदारनीले गाउँ समाजको प्रतिनिधित्व गरेर समास्याहरूको समाधान गर्ने प्रयास गरेको देखिन्छ। कैजरबहादुर सुतार जस्तो दुष्ट चरित्रलाई कुचोले हिर्काउने सुबेदारनीभित्र एक प्रकारको अग्निज्वाला बलेको छ। सुवेदारनीमा समाजलाई नेतृत्त्व गर्ने क्षमता प्रचुर छ। उसमा प्रगतिवादी चेत छ र सुन्दर भविष्यको परिकल्पना छ। द्रोह-मा सुबेदारनी जस्ता चरित्रको उपस्थिति उपन्यासलाई बढी प्रभावकारी बनाएको छ।
प्रतिभा दार्जीलिङको कलेजमा अध्ययनरत एक प्रतिभाशाली विद्यार्थी हो। उ बहुमुखी प्रतिभाकी धनी थिई र रविरत्नले मन पराएको थियो। आन्दोलनमा प्रतिभा शहीद बनेकी छ। सम्भवतः १९८६-को गोर्खाल्याण्ड आन्दोलनमा प्रतिभाको प्रतिभाले बढी चढ्नु पऱ्यो।
दोह्र उपन्यासका नारी चरित्रहरूमा व्याप्त क्रान्ति र प्रगतिशील चेतले उपन्यासको कथानकलाई विकास गर्न भरमग्दूर चेष्टा गरेका छन्। द्रोह-मा भुजेलनी केटी जस्ता १४-१५ वर्षका गरीब ठिटीहरू कैंजरबहादुर सुतारजस्ता सामन्तीको कामेच्छाका शिकार भएका छन्। छोरी-बुहारीको असुरक्षित रहेको स्थितिमा मुन्ना, सुबेदारनी जस्ता नारीहरू अन्याय अत्याचारको विरोधमा विद्रोहको आगो सल्काएर अघि आउनबाट उपन्यासकार नारीहरूलाई क्रान्ति र समाज निर्माणमा सहयात्री बनाउन चाहन्छन्। द्रोहभित्रका नारीहरूमा गाउँ-समाज र राष्ट्र निर्माणको अभिलाषा छ र पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिक निर्णय र कार्यक्रम नारीको उपस्थिति अनिवार्य रूपमा भएको छ। द्रोहका नारीहरू कमजोर छैनन्, विद्रोह बोल्छन्, जुलूस निकाल्छन्, सभाहरूमा सजकताका साथ आफ्नो उपस्थिति दिन्छन् र गाउँ समाजको दुख-सुखमा एक हुन्छन्। समाजका लागि आवश्यक परेको ठाउँमा योगदान दिन सधैं तयार रहने किसिमका नारी चरित्रहरू द्रोहमा पाइन्छन्। उनीहरू सामन्तीवर्गको शोषणबाट मुक्ति चाहन्छन् र मुक्तिको बाटो खोजिरहेका छन्। यसैले यी चरित्रहरूलाई यथार्थ चरित्रका रूपमा पनि लिनसकिन्छ।
० रून्ना, नोरमोतीहरू
उपन्यासकार भीम दाहालको तेस्रो उपन्यास विद्रोह (२००५) मार्क्सवादी चिन्तनधारामा द्वान्दात्मक भौतिकवाद र वर्गसङ्घर्षको आड़मा लेखिएको उपन्यास हो र यसमा थुप्रै चरित्रहरूको प्रयोग गरिएको छ। यसलाई बहुनायकत्व उपन्यासका रूपमा लिनसकिन्छ। उपन्यासको मूल उद्देश्य वर्ग सङ्घर्षद्वारा समाजको असामानतालाई समानतामा ल्याउनु रहेकाले चेतनशीलतालाई बढ़ी प्राथमिकता दिइएको छ। यद्यपि उपन्यासमा रून्ना, रेखारानी, नोरमतीजस्ता नारी चरित्रहरूको उपस्थिति टड्कारो बनेको छ। यी चरित्रहरूको मूल उद्देश्य र कार्य आफ्नो संस्था प्रगतिशील समाजका गतिविधिलाई निरन्तरता दिनु अनि समाजमा रहेको असमानता र विकृतिलाई निमिट्यान्न पार्नु नै हो।
विद्रोहका चरित्रहरूलाई उपन्यासकारले निश्चित काम दिएका छन्। मार्क्सवादी कम्युनिष्ट सिद्धान्तका दूत बनेका छन् चरित्रहरू। रून्ना द्रोह-की मुन्नाकै अर्को रूप हो जस्तो जस्तै चुम्बुङको घायल कोलनीमा दोकान थापेकी छ, मुन्नाले जस्तो। मुन्नाले विवाह गर्दिन तर रुन्नाले रविरत्न कुलुङसित विवाह गर्छे। उ प्रगतिशील समाजकी सह-सचिव भएकोले निश्चिय नै सङ्गठनको काम गर्नु उसको दायित्त्व हो। विद्रोहका नारी चरित्रहरू प्रगतिशील, क्रान्तिकारी बनाइएका छन्। उनीहरूको व्यक्तित्त्व विकासमा लेखकको हस्तक्षेप अत्याधिक भएको जसले गर्दा उनीहरूको क्षमता र योग्यताभन्दा बढ़ी भाषण छॉंटिरहेका हुन्छन्। रुन्ना, लीलावति, फम्फावति, मैता, मिस भिक्टोरिया, रेखारानी, कान्छी राईनी, फूलमाया, नोरमोती, सुशीला, अहिल्या, तारा, मन्दोदरा, सीता, कुमारी, माधुरी, मनमाया, खेचरी, हर्कमाया, राधिका आदि विद्रोह-का नारी चरित्र हुन्। यी सबै प्रगतिशील समाजका कार्यकर्ता भएको अनि उपन्यास पनि मार्क्सवादको सिद्धान्तमा जकडिएको हुँदा यी सबैमा विद्रोहात्मक स्वभाव पाइन्छ। रुन्ना सबैमा प्रमुख छ। उसमा नेतृत्त्व गर्ने क्षमता छ। जीवन र समाजप्रति आशावादी छ उ। ३३ वर्ष पुगेपछि २६ वर्षको रविरत्नसित विवाहको प्रस्ताव सार्वजनिक रूपमा राख्ने स्पष्ट विचार भएकी चरित्र हो रुन्ना।
भीम दाहालले आफ्ना तीन उपन्यासमा नारीका विभिन्न रूपलाई चित्रण गरेका छन्। कोही आधुनिक सभ्याताले दिएको संस्कारलाई स्वीकार गर्न रुचाउँछन् भने कोही परिस्थिति, बाध्यता र शोषणको शिकार बनेर पुरुषहरूबाट बलात्कृत बनेका छन्। कोही क्रान्तिको पक्षमा उभिएर अन्याय र अत्याचारविरुद्ध सङ्घर्ष गर्न लालायित छन् भने कोही परम्परावादी पुरुषप्रधान समाजले नारीमाथि गरेको शोषणको शिकार बने ६० वर्ष नाघेर पनि आत्महत्या गर्न बाध्य छन्। शान्ति स्वतन्त्र छ मुन्ना र रुन्नाहरू त्यति स्वतन्त्र छैनन्। समग्रमा भन्नुपर्दा दाहालका नारी चरित्रहरूले कष्टकर जीवन बिताए पनि सुनौलो भविष्य निर्माणको बाटोमा हिँड़ेका आशावादी र अग्रगामी देखिएका छन्। उनीहरूमाथि अन्याय भएको छ तर विरोध गर्न सिकेका छन्।
० सरु गुरुमा र राधा गुरुमा
सन् २००६-मा निर्माण प्रकाशनबाट प्रकाशित पारसमणि शमको लक्ष्यतिर उपन्यास-का नारी चरित्रहरूमा सरु गुरुमा र राधा गुरुमा प्रमुख रहेका छन्। दुवै शिक्षित र आत्मनिर्भर चरित्र हुन्। सरु गुरुमालाई च्याप्टा, आर्दश र राधा गुरुमालाई गतिशील र यथार्थ चरित्रका रूपमा हेर्नसकिन्छ। दुवै बहिर्मुखी चरित्र हुन् र दुवैको लक्ष्य पाण्डाम गाउँको समग्र विकास र प्रगति रहेको छ। डा. राजेन्द्र भण्डारीले लक्ष्यतिरका चरित्रलाई प्रगतिशील चरित्र बताएका छन्।१८
लक्ष्यतिर-का नारी चरित्रहरूबारे भीम दाहाल लेख्छन्-
“”स्त्री पात्रामा सरु गरुमा, उनीप्रतिको आकर्षण, उनको सत्त्वगुण आदिको विवरण छ तर उनमा राधा गुरुमामा झैं जीवनसॅंगै भिड्ने शक्ति देखिएन। राधाले कहीं स्वसत्त्व समर्पण नगरिकन अथवा ठाड़ो भाषामा उपन्यासकारले भनेझैं (सम्झौतामा) कसैको ओछ्यान नतताइकनै आफ्नो संसार बसाल्छिन्। यस्ता प्रबल नारी पात्राहरू हामीलाई चाहिन्छ। यस्ता प्रखर आत्मसंयमी, स्वाभिमानी र परिश्रमी पात्राहरूले नेपाली समाज सजिनुपर्दछ।” १९
लक्ष्यतिरका अधिकांश चरित्रहरू समाजबाट टिपिएका हुँदा अनि ऐतिहासिक चरित्रलाई प्रयोग हुँदा यी चरित्र यथार्थ बनेका छन्। डा. राजेन्द्र भण्डारीले यिनीहरूलाई उद्यमी, दूरदर्शी र प्रगतिशील बताएका छन् भने सानु लामाले जीवन्त चरित्र भनेका छन्।२०.
० निष्कर्ष
समकालीन सिक्किमेली उपन्यासहरूमा नारीलाई उच्च प्राथमिकता दिइएको छ। समाजमा नारीले भोग्नु परेका अनेकौं समस्याहरू छन्, जसलाई उपन्यासकारहरूले यथोचित रूपमा आफ्ना चरित्रका माध्यमद्वारा उठाउने कोशिश गरेका छन्। पारम्परिक रूपमा नारीहरूले भोग्दै आएको समस्या आजको सन्दर्भमा परिवर्तन हुँदै नारी जीवन निकै सहज बन्दै आएको छ। यस परिवर्तनलाई भीम दाहालको अभीष्टको खोज-मा राम्रोसॅंग देखाइएको छ। तीन पुस्ताको नारी जीवनको चित्रण गरेर दाहालले उक्त उपन्यासका माध्यमद्वारा पुरुषप्रधान समाजमा पहिला नारीको र आज कुन दिशामा परिवर्तन भइरहेछ त्यो आफ्ना पात्रहरूद्वारा देखाएका छन्।
समाज र राष्ट्र निर्माणमा नारीहरूको भूमिका महत्त्वपूर्ण रहने अनि उनीहरूको योगदान बिना कुनै पनि सामाजिक तथा राजनैतिक क्रियाकलापसमेत सफल नहुने अवस्थालाई देखाउँदै समाजमा उनीहरूको भूमिकालाई अत्यन्त महत्त्व दिएका छन् उपन्यासकारहरूले।
अभीष्टको खोज, द्रोह, विद्रोह, लक्ष्यतिर, सिँहासन, इन्दु आदि उपन्यासका माध्यमद्वारा उपन्यासकारहरूले नारीका विभिन्न स्वरूपगत, स्वभावगत, विचारगत, चिन्तनगत, आस्थागत र विश्वासगत परिवर्तनहरूलाई देखाएका छन्।
भीम दाहाल र पारसमणि शमका नारी चरित्रहरू बढ़ी आञ्चलिक र समाजको प्रगति र विकासका लागि अनि आमूल परिवर्तनका लागि आग्रही देखिन्छन् भने गंगा कप्तानका नारी चरित्रहरूमा विद्रोह र प्रगतिवादी चेतको कमि तथा परम्पराप्रतिको अन्धोविश्वास देखिन्छ। उपन्यासकारहरूले आफ्ना उपन्यासहरूमा नारी चरित्रलाई उच्च प्राथमिकता दिँदै नायिकाप्रधान उपन्याससमेत सिर्जना गरेकाले उनीहरूको महत्त्व र स्थानलाई स्पष्ट बुझ्न सकिन्छ।
पादटिपण्णी
१. हेन्री जेम्स, सिलिक्टेडी लिटररी क्रिटिसिजम्; मरिस शापिरा (साम्पा०) हेनिमान, लण्डन; सन् १९६३, पृ० ५८ र १८२
२. अर्थर भिजेनर, द सेन्स अभ् लाइफ इन् द मर्डन नोभेल, हेनिमान, लण्डन; सन् १९६५; पृ. १७
३. प्रेमचन्द्र, उपन्यास का उद्देश्य; हंस प्रकाशन, इलाहाबाद, सन् १९६७, पृ० ६०
४. भानुभक्त पोखरेल, सिद्धान्त र साहित्य; साझा प्रकाशन, काठमाडौं, दोस्रो, वि.सं. २०५९, पृ० १८८
५. कृष्णचन्द्र सिंह प्रधान, नेपाली उपन्यास र उपन्यासकार; साझा प्रकाशन, काठमाडौं, दोस्रो, वि.सं. २०४३, पृ० १-२
६. डा. मोहन पी दाहाल, दार्जीलिङका नेपाली उपन्यासः परम्परा र प्रवृत्ति; श्याम ब्रदर्स, दार्जीलिङ, पहिलो २००१, पृ० ५७
७. पारसमणि दंगाल (सम्पा.), समय दैनिक, १७ जनवरी, २००८, गान्तोक,पृ.७
८. मोहन प्रधान निरज (सम्पा), सञ्जीवनी; बुटी १४(२००३), सिङ्ताम, सिक्किम, पृ. १४
९. पारसमणि दंगाल (सम्पा.), समय दैनिक, पूर्ववत पृृ-७
१० पारसमणि दंगाल (सम्पा.), समय दैनिक, पूर्ववत पृृ-७
११. पारसमणि दंगाल (सम्पा.), समय दैनिक, पूर्ववत पृृ-७
१२. डा. हरिप्रसाद शर्मा, कथाको सिद्धान्त र विवेचन; नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौं, प्रथम वि.सं.२०५९, पृ. ७०
१३. कृष्णहरि बराल र नेत्र एटम, उपन्यास सिद्धान्त र नेपाली उपन्यास; साझा प्रकाशन काठमाड़ौं, पहिलो वि.सं. २०५६, पृ. ३३
१४. कृष्णहरि बराल र नेत्र एटम, पूर्ववत, पृ. ३४
१५. मोहन पी. दाहाल र नरेशचन्द्र खाती (सम्पा.), नेपाली जर्नल; उत्तरबङ्ग विश्वविद्यालय, वर्ष १: अङ्क १, २००१-०२, पृ. १०९
१६. मोहन पी. दाहाल र नरेशचन्द्र खाती (सम्पा.), पूर्ववत पृ. १०९
१७. मोहन पी. दाहाल र नरेशचन्द्र खाती (सम्पा.), पूर्ववत पृ. १०९-११०
१८. पारसमणि शम, लक्ष्यतिर; निर्माण प्रकाशन, नाम्ची, प्रथम, २००६, पृ. ग
१९. पारसमणि दंगाल, समय दैनिक; गान्तोक, ११ दिसम्बर २००६, पृ. ४
२०. पारसमणि शम, लक्ष्यतिर; निर्माण प्रकाशन, नाम्ची, प्रथम, २००६, पृ. क देखि ग
सन्दर्भ सूचि
१. हेन्री जेम्स, सिलिक्टेडी लिटररी क्रिटिसिजम्; मरिस शापिरा (साम्पा०) हेनिमान, लण्डन; सन् १९६३,
२. अर्थर भिजेनर, द सेन्स अभ् लाइफ इन् द मर्डन नोभेल, हेनिमान, लण्डन; सन् १९६५
३. प्रेमचन्द्र, उपन्यास का उद्देश्य; हंस प्रकाशन, इलाहाबाद, सन् १९६७
४. भानुभक्त पोखरेल, सिद्धान्त र साहित्य; साझा प्रकाशन, काठमाडौं, दोस्रो, वि.सं. २०५९
५. कृष्णचन्द्र सिंह प्रधान, नेपाली उपन्यास र उपन्यासकार; साझा प्रकाशन, काठमाडौं, दोस्रो, वि.सं. २०४३,
६. डा. मोहन पी दाहाल, दार्जीलिङका नेपाली उपन्यासः परम्परा र प्रवृत्ति; श्याम ब्रदर्स, दार्जीलिङ, पहिलो २००१,
७. पारसमणि दंगाल (सम्पा.), समय दैनिक विभिन्न अङ्क
८. मोहन प्रधान निरज (सम्पा), सञ्जीवनी; बुटी १४(२००३)
९. डा. हरिप्रसाद शर्मा, कथाको सिद्धान्त र विवेचन; नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौं, प्रथम वि.सं.२०५९
१०. कृष्णहरि बराल र नेत्र एटम, उपन्यास सिद्धान्त र नेपाली उपन्यास; साझा प्रकाशन काठमाड़ौं, पहिलो वि.सं. २०५६,
११. मोहन पी. दाहाल र नरेशचन्द्र खाती (सम्पा.), नेपाली जर्नल; उत्तरबङ्ग विश्वविद्यालय, वर्ष १: अङ्क १, २००१-०२
१२. डा. खुमनारायण पौडेल (सम्पा.), आख्यानपुरुष डा. ध्रुवचन्द्र गौतम; चितवन वाङ्मय प्रतिष्ठान, नेपाल. प्रथम विस २०६०।
१३. डा. रामदयाल राकेश, नेपाली साहित्यः विभिन्न आयाम; साझा प्रकाशन, काठमाडौ, नेपाल, पहिलो, विस.२०५५।
१४. डा. गोपालप्रसाद भण्डारी, समालोचनाका केही बान्कीहरू; साझा प्रकाशन, काठमाडौ, नेपाल, पहिलो, विस.२०६१।
१५. डा. घनश्याम नेपाल, नेपाली साहित्यको परिचयात्मक इतिहास; जनपक्ष प्रकाशन, गान्तोक, दोस्रो १९९४।
१६ डा. गोविन्दराज भट्टराई, पश्चिमी बलेंसीका बाछिटा; नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौ, प्रथम, विस. २०६१।
१७. नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान(प्र.), काठमाडौ, समकालीन साहित्य;-का विभिन्न अङ्क।
www.tistarangit.com/nepali/samalochona_detl_n.php?pid=6

sahitya lai aghi badaune path
sahitya lai aghi badaune path ma sabai sahitya premi lagi parau.yas sunaulo path ma hardik swagat garda chhu.