म एउटा एटिएम मेसिन
आऊ केही बटन दबाऊ
अनि चाहिए जति लिएर जाऊ !
तिमी त सौखिन मान्छे
बटन दबाउँदा औंला दुख्लान्
दबाएर केही बेर कुर्दा
पाउहरू पनि गल्लान्
फेरि तिमीसँग कुर्ने समय पनि कहाँ छ र !
तिम्रो यो समस्यालाई मध्य नजर गर्दै
एउटा अर्को नया सुबिधा पनि थपिएको छ
बश तिमी अमाउन्ट सोचेर स्क्रिनतिर हेर
अमाउन्ट खुत्रुक्क तिम्रो गोजीमा झर्नेछ
हो, म त्यस्तो एटिएम मेसिन
बश तिमी इक्ष्या गर
अनि गोजी भर !
कुबेरसँग नरित्तिने ढुकुटी थियो रे
मेरो सामु कुबेरको ढुकुटी केही हैन
फोब्सका हजार अर्बपतिका सम्पत्ति,
एकमुस्ट पार्दा जति हुन्छ,
त्यो मभित्र भएकोको दुई प्रतिशत पनि हैन
म मार्फत तिमीले थुत्न सक्ने अमाउन्टको
कुनै अधिकतम सीमा पनि छैन /
त्यसैले,
आऊ केही बटन दबाऊ
अनि चाहिए जति लिएर जाऊ !
तिम्रो सपना
धत् ! कति सानो सपना
अँझै भनौँ – लाजै मर्दो !
बस्ने एउटा आलिसान घर रे
चड्ने एउटा बि एण्ड डब्लू कार रे
ब्यागमा एप्पलको एउटा ल्यापटप रे
एप्पल्कै एउटा लेटेस्ट आइफोन रे
सोनीको एउटा लेटेस्ट डी एस एल आर क्यामेरा रे !
सिर्फ एउटा ?
अरे महासागर तिम्रो सामु छ
तिमी दुई चम्चा पानीमा पौडिने सोच्दैछौ ?
तिमी एकै छिनपछि
यी आइटमका सारा कम्पनि नै खरीद् गर्न सक्ने छौ
म त्यस्तो एटिएम मेसिन
आऊ केही बटन दबाऊ
अनि चाहिए जति लिएर जाऊ !
दीपेन्द्र भट्टराई
सिन्धुपाल्चोक,नेपाल
हाल- द. कोरिया !
