Skip to content

रङ्गहिन जिन्दगी

  • by

भत्काउन चाहन्छु म यी पर्खालहरू
बाहिर निस्कन चाहन्छु
कुसंस्कारको पिजडाबाट

उड्न चाहन्छु खुला आकाशमा
बेपरवाह भई

सयर गर्ने पंछी जस्तै स्वतन्त्र भएर
तर
यहाँ संस्कारका नाउँमा
समाजले बालेको आगोभित्र होमिएर
यही समाजले
विधवाको नाममा खडा गरेको
पहाडभन्दा विशाल
नियमहरुसँग साक्षात्कार गर्दै
रंगिन धर्तीमा रङ्गहिन भई
जिइरहेकी छु म
वर्षौ अघिदेखि

सेतो पहिरन भित्र
जीवन कैद गरिदियो समाजले
संस्कारलाई जीवन्त राख्न
मेरो शृङ्गारको बलि थपियो
ढुङ्गामा चुराहरू फुटे, ढुङ्गामै रहरहरू
खोलामा सिउदो पखालियो
खोलामै बगिगए खुशीहरू
मलाई मन पर्ने रङ
-रातो
तर
यहाँ
अब मलाई
रातो पहिरन लगाउन
सक्त मनाही छ
प्रतिबन्धित यी रङहरुका अगाडि
मेरो अस्तित्व अँझै हलुका भएको छ
सेतो पहिरनले ढाकिएकी छु म
कहिले धर्म त कहिले परम्पराका नाउमा
थुप्रैपटक पिल्सिसकेकी छु

मलाई सामाजिक कार्यमा जान अनुमति छैन
किनकि!
मेरो उपस्थिति त्यहाँ असुभ छ
मलाई बाटोमा देख्दा बाटोहरू बाटो मोड्छन
घर पुग्दा
आफ्नै घरसँग असुरक्षित हुन्छु
कहिले सासूका नजरमा
पोइ टोक्ने अलक्षिणा
अनि
कहिले भने
जेठाजुको सिकार
उसो त
पटक-पटक
सयौपटक
यस्ता समस्याले थिचिदा पनि
यही समाजको
कुसंस्कार नामक धागोले
नफुकिने गरी
बाधिएकी छु म
तर
मेरा पनिरहरहरू छन्
मेरा इच्छा मेरा चाहना छन्
म पनि देख्न चाहन्छु रङ्गिन सपना
अनि
चुरा पोते र रातो सारीमा सजिएर
इन्द्रेनीका रङहरू चोर्दै सिउदो भर्न चाहन्छु
बाड्न चाहन्छु आफ्ना दुख कसैसँग
साट्न चाहन्छु मनका वेदना
अपूर्ण-रित्तो-अपूर्ण समाजमा
एक्लो म पूर्ण भई
एकपटक हाँस्न चाहन्छु

ओ समाज!
के तिम्रो समाजमा
विधवालाई
फेरि एकपटक
जीवन बाँच्ने अधिकार छ?

मनिषा बडु

Leave a Reply

Your email address will not be published. Required fields are marked *