एकाबिहानै चिया पिएर चुरोट पिउन नजिकैको पान पसलमा जाँदा एक दार्शनिकसँग भेट भयो । उहाँले निकै ज्ञान गुणका कुरा गर्नु भयो |मैले पनि चाख मानी मानी मौन भएर सुनिरहे |
जब साँझ पर्यो यसो अलिकति सोमरस तान्नु पर्यो भनेर साइलीको भट्टीमा च्वाँचे पोल्न लाएर टोङ्बा तानु भनेर छिरेँ!
११ साल विदेश बसेको मान्छे न हुँ म सबै अपरिचित देखेँ । मैले अनि पानीले भिजेको भाडो समाएर पिपामा मुख लाएर सुरुरुरु ताने चिर्लिम्म सकियो अनि स्वार्र स्वार्र आवाज आउन थालेपछि पानी थप्नु पर्यो भनेर यसो ठाडो परेको त बिहानका दार्शनिक टुप्लुक्क अगाडि देखेँ मैले । केको दार्शनिक हुनु महाजडिया पो रहेछन |
अनि मैले भने, “के हो दाइ बिहान त गफ बेग्लै थिए त अहिले के भो नि ?”
दाइले मुसुक्कै हाँस्दै भन्नु भयो, “भाइ यो आइमाइ भन्ने चीजै यस्तै हो असल स्वास्नी परे भने व्यवहारिक हुइन्छ| खराब स्वास्नी परे भने दिनभरि दार्शनिक साँझ परे जाडिया । यही हो पारा । तर मैले यो मेरा लागि पिएको होइन, स्वास्नीको लागि पिएको । त्यसै घर जाऊ भने कराएर सातो पुत्लो खान्छे । मातेर गएपछि ऊ जडिया फेरि धोकेर मुन्टियो भन्छे अनि चुपचाप हुन्छे । आफू आनन्दले सुत्न पाइन्छ यो नि एउटा दर्शन हो ।”
धत्तेरिका बोल्नेले जे बोले नि हुने रहेछ ।
