Skip to content
DrMadhuMadhurya


कतै दशगजा हरायो र कालापानी मिचियो :
विरोधमा आक्रोशको समाचार छापियो ;
कविले तातो “क्रान्तिकारी” कविता दन्कायो ;
कलाकारले व्यंग्यमा र संगीतकारले गीतमा क्रन्दन ओकल्यो;
समाचार र कविताको रापले ‘म’ आगो भैसकेको थिएँ !
दशगजा र कालापानी हेर्न कोही गएन …

भ्रष्ट नेता सत्तामा आयो र संबिधान ठहरै भयो :
“अश्लिल” कोटीमा दरिएर छापामा /आस्थामा नेताको अस्तित्व सकियो
चित्रकारले क्यानभासमा र मूर्तिकारले ढुंगामा आवेग पोख्यो
“गणतान्त्रिक” / लोकतान्त्रिक” कविताको बम पड्क्यो
छापा र कविता बिस्फोटनमा “म” खरानी भैसकेको थिएँ …
देश/संबिधान निर्माता कोही आएन …

जुन बेला नालापानी देखेर अंग्रेजले र्याल काढ्यो :
के लेख्ने के फलाक्ने ? लेखकको सायद “बुद्धि” थिएन ;
कवितामा “नाल”, “पानी” वा विरंग … केही पनि थिएन ;
गीत, चित्र, मूर्ति, … कलाहरूमा “फर्मालिटी ” थिएन;
मुर्ख “म” बैरीको तोपसँग ढुंगा-मुढा गर्दै ‘जीवन’ खेलिरहेको थिएँ …
नालापानी जोगाउन महिला आए, पुरुष आए
अर्थात् मानिस आए !

कुनै बेला अंशुवर्माले
छोरी भृकुटी दिएर “आक्रामक” भोटबाट देश जोगाएको इतिहास सुनेको थिएँ
सबै घरको चुल्होमा आगो नबलेसम्म भात नखाने शासकको कथा सुनेको थिएँ
“देश ४ जात ३६ वर्णको साझा फूलबारी” भन्ने पराक्रमीको जीवनी सुनेको थिएँ …

आज –
नियुक्ति बुझ्न
“हाम्रा” सिल्ली नेता दिल्ली दौडिरहन्छन्
“रिमोट-कन्ट्रोल सिग्नल”मा चलिरहन्छन्
देशभन्दा ‘सत्ता’ सुन्छन्
संबिधानभन्दा ‘भत्ता’ सुन्छन् …

देश आर्यघाटमा “सास फेरिरहेछ”
विचरा “दुख्ने कवि” कविता लेखिरहेछ
“सर्वज्ञाता” पत्रकार समाचार छापिरहेछ
तिमी जस्तै “म” पनि भित्रभित्रै जलिरहेछु
परिभाषामा सकिएँ हुँला ‘म’ पनि इतिहासमा छु
माटो उचाल्न भनेर कोही आएन, कोही गएन !

समयको कालखण्डमा
देश खोज्न कोही आए भने
संग्राहलय लगेर दशगजा देखाई दिनू
कालापानीको आँशु अनि नालापानीको रगत देखाई दिनू
र भन्नु :
“हामी शव-आसनमा छौं
‘डिस्टर्ब’ नगर !”

– डा. मधु माधुर्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *