दूधसँगै बिरालो, साक्षी राख्यो उस्ले
आमा कसम भन्दै, ढाँटी राख्यो उस्ले
गर्नु थियो धेरै, अर्म पर्म कर्म
भोलि गर्छु भन्दै, थाती राख्यो उस्ले
आफू उभिएको, धरातलै बिर्सी
आफैलाई जून्को, माथि राख्यो उस्ले
बराबरी बाड्नु, पर्ने थियो फल
धेरै खायो थोरै, बाँकी राख्यो उस्ले
मुखमा राम राम, बगल्तीमा छुरा
आफू बाँची अरु, मारी राख्यो उस्ले
दया माया त्याग्यो, हत्या हिंसा रोज्यो
कुकर्मको बाटो, नापी राख्यो उस्ले
एक काँटी सलाई, जोगाउनलाई
रातैभरि दियो, बाली राख्यो उस्ले
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Very nice, makta sher has
Very nice, makta sher has heavy and satirical meaning. Keep it up Bina sis..