भाग्यहरू त फलिरहन्छन
भाग्यहरू त आइरहन्छन
टिप्न सक्नु पर्यो चिन्न सक्नु पर्यो
अप्ठेरोमा फल्छन भाग्यहरू
हो नि कविजी !
अप्ठेरो बाटो भएर आउछन भाग्यहरू
अनि भाग्यमानीहरू नाङ्गा खुट्टाले
काँडेतारमा, काँढाघारीमा टेक्छन्
कवि उपेन्द्रलाई चिठ्ठा पर्यो
भाग्य बनेर भिर पाखामा फल्यो
हो भाग्य अप्ठेरोमा फल्ने रहेछ है साथी
निद्राको सपनाभन्दा त त्यो गतिलो भएर आयो
कमसे कम मुर्त त छ त्यो
तर भाग्य पहेंलपुर सुन्तला पाके जस्तै
बारीमा फलिदिए हुन्थ्यो
के गर्नु कवि उपेन्द्रजी !
भाग्य अप्ठेरो बाटो भएर फल्छ है
अनि कवि प्रकाशजी !
के साँच्चै भाग्यमानीहरूले
काँडे तारमा नाङ्गै खुट्टा टेक्छन्
आगो को भट्टीमा नाङ्गो पाइताला राख्छन
हुन सक्छ भाग्यमानीहरू भेलमा
हाम फालेर पारी तर्छन
हो त भाग्य मानीहरू भिरबाट झर्दा पनि
तल ठिङ्गै उभिन्छन
यस्तै छ कविजी हो अप्ठेरोमा
भिर माथि फलेको त्यो भाग्य टिप्न
साँच्चै भाग्यमानी हुनु पर्छ !
