Skip to content

यन्त्रवत्

  • by


आधुनिक शहरको एक कुनामा मानिसहरुको भीड बढ्दो थियो । भीडका मानिसहरु बडो आश्चर्य मान्दै मज्जा लिइरहेका थिए । त्यहाँ भीड जम्मा गरेको थियो एक यन्त्रमानवले । दुरुस्त मानव झैं लाग्ने त्यस यन्त्रमानवले पूरै मानव हाउ-भाउको नक्कल गर्दथ्यो र बेलाबेलामा अनौठो आवाज निकालेर मानिसहरुलाई बोलाउँदथ्यो । भीडका मानिसहरु त्यसलाई विज्ञानको उच्चतम आविष्कार ठानी आश्चर्यचकित भएर हेरिरहेका थिए ।

भीडका सबै मानिसहरु त्यस यन्त्रमानवलाई नजिकैबाट नियालिरहेका थिए । कोही त्यस यन्त्रमानवसँग बडो आरामले हात मिलाइरहेका थिए । कोही अचम्म मानेर त्यसलाई सुमसुम्याईरहेका थिए । कोही सँगैबसी फोटो खिचाइरहेका थिए । भीडका केही वृद्ध-वृद्धा भगवान्को आधुनिक अवतार ठानी त्यस यन्त्रमानवको चरण स्पर्श गरिरहेका थिए ।

मानिसहरुको भीड निक्कै बढिसकेको थियो । एक्कासि यन्त्रमानवले मानव आवाज निकाल्यो । ‘खानका लागि दुईचार रुपैयाँ पाउँ हजुर’ भन्दै यन्त्रमानवले भीडमा हात पसार्यो । भीडका मानिसहरु अचम्मित भए ।

कसरी यन्त्रमानव मान्छे झैं बोल्न सक्छ? यन्त्रमानवलाई पैसाको के काम?…??? भीडका मानिसहरु प्रश्न-प्रतिप्रश्न गर्नथाले । यन्त्रमानवले मीठो आवाजमा भन्यो ‘यस आधुनिक जमानाको यो आधुनिक शहरमा मैले भीख माग्ने तरिका मात्र परिवर्तन गरेको हुँ । वास्तवमा म हजुरहरुजस्तै मान्छे हुँ ।’ उसको यस्तो कुरा सुनेपछि भीडका मानिसहरु यन्त्रवत् भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *