Skip to content


मलाई मानिसहरूले बरोबर गरिरहने प्रश्न हो- तिमी गुरुङ भएर पनि आफ्नो जातिको कुरा किन गर्दैनौ ? तिमी किन खालि एकोहोरो नेपाल र नेपालीको मात्र रट लगाइरहन्छौ ? यसमा मेरो एउटै उत्तर हुन्छ- पहिला म नेपाली हुँ, त्यसपछि मात्र गुरुङ । म नेपाली भएकामा गौरवान्वित छु र यसमा आफूलाई भाग्यमानी पनि ठान्छु । यसको पछाडि मेरो गाउँ, मेरो समाज र त्यहाँको वातावरणले निर्देशित गरिरहेको छ मलाई ।

मेरो जन्म पोखराभन्दा अलि परको पुम्दीभुम्दी-६ कालावाङ घडेरीमा भएको हो । हाम्रा बाजे-बराजुका पालामा त्यहाँ बाहुन-क्षेत्री भन्ने जाति नै थिएनन् । बाहुनहरू पढेलेखेका हुन्छन्, हामीलाई अरू जातजातिसँगै पण्डितहरू पनि चाहिन्छ भनेर हाम्रा पुर्खाले बाग्लुङबाट पौडेल थरका बाहुनहरूलाई स-सम्मान कालावाङ घडेरीमा भित्र्याएका हुन् । मलाई थाहा हुँदासम्म त्यहाँ गुरुङसँगै बाहुन, क्षेत्री, कामी, दमाई, सार्की सबै जातजातिका मानिस एउटै परिवारजस्तो मिलेर बसेका हुन्थे । दलितहरूको बिहाबारी या चाडपर्वमा पनि सबै जातजाति मिलेर भोज खाने चलन थियो । भलै बाहुन या अरू जातिको भान्सा फरक हुन्थ्यो । त्यहाँका जुनसुकै जातिका मानिस हुन्, तिनलाई काका-काकी, मामा-माइजू, दिदी-बहिनी, दाजु-भाइको साइनो लगाएरै सम्बोधन गर्थ्यौं । हाम्रा दृष्टिमा सबै जाति आदरणीय थिए र छन् पनि । त्यसैले मलाई सानैदेखि जातिपातीको विभेदले छोएन । खालि ‘म नेपाली हुँ’ भन्ने भावनासँगै मेरो बाल्यकाल र किशोरावस्था हुर्किएको थियो ।

‘नेपथ्य’ले थुप्रै मुलुकमा आफ्नो कार्यक्रम प्रस्तुत गरसिकेको छ । देशविदेश जहाँ गए पनि हामी आफ्नो नाम मात्र उच्चारण गर्छौं, थर भन्दैनौँ । सारा नेपाली एउटै हुन्, चाहे त्यो देशभित्रको होस् या बाहिरको । थरले विभाजन ल्याउँछ, जातजातिबीच वर्गीकरण गर्छ । जहाँ गए पनि मलाई भेट्ने दर्शकहरूको एउटै दुखेसो हुन्छ, देश खत्तम भयो । मलाई यस्ता कुराले असाध्यै पिरोल्छ । म भन्छु- तपाईंहरू त पीर मात्र गरिरहनुभएको छ, हामी त प्रत्यक्ष भोगिरहेका छौँ । जे भए पनि त्यो परविर्तनको एउटा पाटो हो, हामीले त्यसलाई स्वीकार्नैपर्छ । यो डरलाग्दो अँध्यारो फाटेर भोलि फेरि उज्यालो घाम झुल्किन्छ । हामी सधैँ सकारात्मक सोचमा बाँचौँ ।

त्यसरी भेटिएकामध्ये केही यस्ता मानिस पनि थिए, जसका छोराछोरीहरू नेपाली भाषा नै नजान्ने । मलाई नेपाली भाषाको असाध्यै माया लाग्छ । म श्रद्धा गर्छु, नेपाली भाषालाई । हो, म गुरुङ भाषा पनि राम्ररी बोल्छु । तर, मेरो आधार नेपाली भाषा हो । देशका कुनाकाप्चासम्म पुगेर कार्यक्रम गर्दा विभिन्न भाषा र संस्कृतिका मानिस भेटिन्छन् । तर, उनीहरूका भाषा उनीहरूकै एउटा तप्काले बुझ्दैनन् तर मैले बोलेको नेपाली सबैले बुझ्छन् । यही भाषाका कारण म कुनै ठाउँमा पनि भोको परनिँ, यही नेपाली भाषा बोलेर नै खान पाएँ ।

भाषाकै कुरा गर्दा एकपटक जर्मनीमा भएको घटना सम्झन्छु । त्यहाँ मेरो ठूला बाका छोरा बस्छन् । उनको छोराले ‘डिफौडी’, ‘डिफौडी’ भनिरहने । मैले एकपल्ट उसलाई सोधेँ- के हो यो डिफौडी भनेको ? उसले डीभीडी प्लेयर देखायो । अनि, मलाई चिन्ता लाग्यो । मैले उसको बाबुलाई भनेँ- तिम्रो छोरा जर्मन र अंग्रेजी भाषा त सिकिहाल्छ तर अब यसलाई तिमीले जुनै सर्तमा पनि नेपाली सिकाऊ । यसले नेपाली भाषा जानेन भने भोलि नेपालमा आफ्ना बाजे-बज्यै भेट्न जाँदा उनीहरूसँग कसरी कुरा गर्न सक्छ ? उसले आफन्तहरूसँग बोल्ने भाषा नै पाउँदैन । ऊ मूक भएर फर्किनुपर्नेछ ।

मैले यो कुरा कुनै अखबारमा अन्तर्वार्ता दिने क्रममा पनि भनेको रहेछु । यसको केही समयपछि म अस्टे्रलियाको एडिलेडमा थिएँ । कार्यक्रम सकिएपछि एक नेपाली मलाई भेट्न मञ्चपछाडि आए र धन्यवाद दिए । तर, उनी धन्यवाद मात्र भन्न आएका होइन रहेछन् । उनले भनेको पहिलो वाक्य नै यही थियो- ‘धन्यवाद अमृतजी !’ तर, यो धन्यवाद मेरो गायनका लागि थिएन, मेरो नेपाली भाषाप्रतिको त्यही विचारका कारण थियो । उनले त्यहाँका नेपालीलाई गोलबद्ध गरेर मेरो त्यही अन्तर्वार्ताको प्रभावले नेपाली नानीहरूलाई नेपाली भाषा पढाउने पाठशाला खोलेका रहेछन् । र, त्यहाँ उनीलगायत धेरै नेपालीले स्वयंसेवी भएर नेपाली नानीहरूलाई नेपाली भाषा पढाउन सुरु गरसिकेका रहेछन् । उनले पनि आफ्ना नानीहरूलाई नेपाली भाषा पढाएका रहेनछन् । उनी भन्दै थिए, तपाईंकै कारण अब यहाँका नेपाली बच्चाहरूले नेपाली भाषा सिक्नेछन् । यो कुराले मेरो आङ ढक्क फुल्यो । शरीरका रौँ ठाडा भए ।

देश होस् या विदेश, म कहीँ पनि नेपाली झन्डा बोकेर जाँदिनँ । यो सम्भव पनि छैन । मलाई नेपाली झन्डा त्यहीँका मानिसले दिन्छन् । कतिले त बाउन्सरहरूको भीडमा ठेलमठेल गरेर घुस्रँदै आएर मेरो शिरमा नेपाली टोपी लगाइदिन्छन् । यस बेला मलाई लाग्छ, म संसारकै भाग्यमानी हुँ र यो अवसर मलाई नेपाली भएकाले प्राप्त भइरहेछ । अन्ततोगत्वा यो मैले नेपाली भाषा र संस्कृतिप्रति राखेको अगाध श्रद्धाको प्रतिफल हो ।

एकताका नेपालमा झन्डा परविर्तन गर्ने आवाज चरम रूपमा उठेको थियो, जुन मलाई साह्रै ननिको लागिरहेको थियो । अनि, मैले एउटा कार्यक्रममा दर्शक-श्रोताको आशय बुझ्न उनीहरूलाई मञ्चबाटै प्रश्न गरेँ- अब तपाईंहरू भन्नूस् हाम्रो झन्डा परविर्तन गर्ने कि नगर्ने ? सारा हलबाट एउटै आवाज गुन्जियो- नगर्ने ! अनि, फेरि म भन्थेँ- यो रातो र चन्द्र सूर्य झन्डामा दाग लाग्न नपाओस् है ! दर्शक आक्रोशमा आएर एक स्वरमा भन्थे- पाउँदैन पाउँदैन ।

यस्ता कैयौँ घटना छन्, जहाँ नेपाल र नेपालीप्रति मेरा दर्शकहरूले असीम र भावनात्मक अभिव्यक्ति दिएका छन् । मलाई एउटा कुरामा कुनै द्विविधा छैन- नेपाली बरू भोकभोकै बस्न तयार छन् तर राष्ट्रियताको सवालमा चाहिँ कहिल्यै विचलित र विभाजित हुने छैनन् । मलाई विदेशमा जाँदा जुन भव्य सम्मान गरिन्छ, त्यो मभन्दा बढी नेपालीप्रतिको सम्मान हो । म भारत, सिंगापुर, अस्ट्रेलिया, हङ्कङ्, दक्षिण कोरिया, जापान, अमेरिका, बेलायत, बेल्जियम, इजरायल जहाँ जहाँ पुगेँ, सबै नेपालीको एउटै भावना पाएँ- द्वन्द्व रोकिनुपर्छ र नेपाल बन्नुपर्छ ।

केही मानिसहरूको मप्रति गुनासो पनि छ- यसले नेपाली भाषालाई मात्र प्रोत्साहित गरिरहेछ, आफ्नो मातृभाषालाई चटक्क बिर्सियो । यसमा मेरो एउटै भनाइ छ, म गुरुङको कोखबाट जन्मेँ, यसमा मलाई गौरव छ तर सबैभन्दा पहिला म नेपाली हुँ । नेपाली भाषा रह्यो भने नेपाली संस्कृतिको जगेर्ना भयो भने र नेपाली जाति रह्यो भने गुरुङ पनि रहला, राई, लिम्बू, धिमाल, थारू, यादव, झा पनि रहलान् र बाहुन क्षेत्री पनि रहलान् । म आफ्नो एक्लो हितका लागि मात्रै सोच्न सक्तिनँ । यो देश सबै मिलेर बनेको हो । सबैको साझा फूलबारी हो । कुनै जातिविशेषको पेवा होइन । त्यसैले यो देशमा सबैभन्दा अहम् कुरा नेपाली भएर बसौँ, त्यसपछि सबै जाति आ-आफ्ना ठाउँमा स्वतः अट्नेछन् ।

कसैकसैले मलाई यो बाहुनवादी भयो भन्ने आक्षेप पनि लगाउँछन् । अनि म भन्छु, हो ! मेरो गाउँमा मेरो पुर्खाले नै बाहुनहरूलाई ल्याएर बसोवास गराएका हुन्, सांस्कृतिक एकताका लागि । तसर्थ, यसरी विभाजनको नारा लगाएर होइन, एउटा सिंगो स्वरूपमा बाँचौँ । यो जमानामा पनि केको जातपात ! कारण यही हो, हामी नेपथ्यका कार्यक्रममा कहिल्यै कसैको थर उच्चारण गर्दैनौँ । किनभने, हामी सबै नेपाली हौँ ।

(अमृत गुरुङ, गुरुङ सांगीतिक समूह नेपथ्यका संस्थापक हुन् ।)

नेपाल साप्ताहिक
अंक: ५६६
२०७० आश्विन २०
Oct 6, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *