आमा!
आज म जहाँ छु,
पाईला जहाँ पुगेकाछन,
तिम्रो फराकिलो आशिर्बादका उपज हुन ।
म खुशी छु, जीवनलाई अगाडि बढाइरहेछु ।
तिम्रै सत्कर्मका फल हुन ।
तसर्थ,
आमा!
आज म
यति बेला
ग्लोब रुपी तिम्रो अनुहारमा
मेरो अस्तित्वको टोकरीमा जतिरहेको श्रद्दाहरू
सबै चुहाएर अन्तिम तप्कोसँग
शिर निहुराई सम्झिरहेछु,
बाह्र बसन्तका तिनसय चौसट्ठी दिनपछिको पर्ब,
आज एउटा गीत तिम्रो सम्झनामा गाउन चाहन्छु,
एउटा लामो तृष्णाको पाटो तिम्रो काखमा बिसाउन चाहन्छु,
घिस्याउँदै-घिस्याउँदै थाकेका पाईलाहरू टेकाउन चाहन्छु ।
आमा! म आफ्नो थकान आज दिनभर तिम्रै काखमा
मेटाउन चानछु ।
आमा!
दुनियाँले मेरो एक शब्द पचाउन सक्दैन
दुनियाँले मेरो एक शब्दलाई मेरो खाडल बनाउँछ ।
तिमीले कसरी सह्यौ होला मेरो जिन्दगी भरिको रुखोपन?
तिमीले कसरी पियौ होला, मेरो तिक्तताहरू?
अनि कसरी भरिरह्यौ होला मेरो अभावका रिक्तताहरू?
सबै बिडम्वनाहरूको जरो तिमीमै गाडेर म
तिमीले चाहेको, तिमीले भनेको
“मेरो छोरा संसारकै राजा र बुद्दीमान”
भन्ने विश्वासलाई मैले कुल्चेर
मैले दिएका पिंडाहरू आज
मृत सागरको किनारमा
ज्युँदो बनेका छन आमा मेरो छातीभरि ।
जसरी संसारकै होचो खोल्सामा म छु
त्यसरी पिरका ग्लानीका उचाई
सगरमाथा बनेका छन आमा,
त्यसैले
आज बेचैन मेरो मन र मस्तिष्क
फेरि मेरो शिशुवस्थामा फर्कदै सुम्पदैछु आमा
तिम्रै न्यानो काखभरि ।
तिम्रो महानताको परिचयभित्र
एउटा अपरिचित बन्दैछु आमा,
कास्मिरी पहाडभन्दा पर,
पिरामिडको पिराभन्दा अँझै परको
कोप्चाबाट चिच्याउँदै
आमा तिम्रो मुख हेर्ने दिनमा
यो तिम्रै छोराको तर्फबाट शुभकामना!
तिम्रै ठुलेको तर्फबाट शुभकामना!
आमा शुभकामना !
http://dummalibj.blogspot.com
