Skip to content


मैले सपनालाई छुन खोजेँ
नजिकैबाट सुम्सुम्याउन खोजें

पल्लो डाँडापारिको क्षितिजनिर
कहिले उँभो चड्दै- कहिले उँभो झर्दै
कहिले उदाउँदै- कहिले अस्ताउन खोज्दै
छिनमा उत्तानो पर्थ्यो मेरो सपना
छिनमा घोप्टो पर्थ्यो
छिनछिनमा लम्पसार पर्थ्यो सपना
छिनमा कोल्टे फेर्थ्यो
आफू टाढा बसेर
मलाई नजिक बोलाउँथ्यो
हो, त्यही सपनालाई
मैले छुन खोजें, सुम्सुम्याउन खोजें

बराण्डामा उक्लिएँ
छत-छत र धुरीमाथि चढें… देखिएन
लम्किएँ- कस्सिएँ- दौडिएँ
मोटरगाडीमा हुइकिएँ… भेट्टिएन
पासपोर्ट बनाएँ
भिसा लगाएँ
टिकट काटें हवाईजहाजको
ब्रिफ्केस्मा मनको लड्डू लगेज बाँधेर
‘घिउ’ रूपी सपनाको समीप हुन खोज्दै
माथि-माथि बादलमाथि
दृष्टि तन्काएँ प्लेनको झ्यालबाहिर… देखिएन/भेट्टिएन
सक्दै सकिएन सपनालाई स्पर्ष गर्न

जमिनमा नभेटेको सपना
उचाइमा पनि नभेटिँदो रहेछ
बगरबाट नदेखेको सपना
सगरबाट पनि नदेखिंदो रहेछ
मैले सपनालाई पछ्याइरहँदा
उल्टै सपनाले गिज्याइरह्यो
मरुभूमिको छेउबाट
समुद्रको किनारबाट
आफ्नै आँगनबाट या मुग्लानबाट
जहाँ-जहाँबाट कोसिस गरे पनि
सपना देख्न त निदाउनै पर्दो रहेछ
छुन त टाढाको कुरा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *