Skip to content

भगवान (लघुकथा)


क्या हो नेताज्यू ! खोला तर्यो लौरो बिर्स्यो भने झैं हामीलाई चटक्कै बिर्सने ?

किन के भो र साहुजी ! किन त्यसरी एक्कासी झोक्किनु भो ?

यसो बन्द सन्दको कार्यक्रम पनि ल्याउनु नि नेताज्यू !

ए … मैले बुझें । हुन्छ तपाईंको यो प्रस्ताब माथि विचार हुने छ ।

हे भगवान ! … अब करिब एक हप्ता जति बन्द सन्दको हल्ला चलोस् । राजमार्ग बन्द होस् ता कि मेरो गोदामको सडे गलेको नबिकेको सामान दोब्बर तेब्बर मूल्यमा बिक्रि गर्न सकियोस् । यदि त्यसो भयो भने म हजुरलाई एक हजार आठ लड्डु चढाउने छु । … एउटा ब्यापारीले आफ्नो गोदाम सामानले भरिए पछि भगवानको मूर्ति सामुन्ने हात जोडेर प्रार्थना गरेर गयो ।

हे भगवान ! … हे संकट मोचन ! आज धेरै मालवाहक गाडीहरू आइदिउन ता कि मालसामान लोड अनलोड गरे बापत धेरै कमाई होस् र निमोनिया ग्रस्त मेरो बच्चाको उपचार गर्न सकूँ । … एउटा श्रमिकले त्यही मूर्तिलाई ढोग्दै पुकारा गरेर गयो ।

हे भगवान ! हामीले यो नोकरी गरेपछि घरायसी समस्या समाधान होला भन्ने सोंचेका थियौं तर त्यसो होइन रहेछ, समस्या झन् बल्झियो, पारवारिक मागहरू बढे, महंगीको उचाइमा तलब पुड्को हुँदै गयो ।अरु केही नभए पनि चोरेर फर्केका चोरहरू पक्रन सकियोस् ता कि हाम्रो पनि गुजारा चलोस्, हाम्रो काँध माथि फुली चढाउँन हाकिम पनि रिझाउन सकियोस् । … केही बर्दीधारीहरूले त्यही भगवानको मूर्ति सामुन्ने अनूनय बिन्ती गरेर गए ।

हे भगवान ! हामीले पढेर डिग्री हासिल गरे पनि भने जस्तो काम पाउन सफल भएनौं । फुटपाथमा जुत्ता पोलिश गरेर आफ्नो गुजारा चलाएका थियौं तर सरकारको बदनाम भयो भन्ने निहुँमा हामीले त्यो काम पनि गर्न नपाउने भयौं । त्यसैले आफ्नो र परिवारको सारंगी पेट भर्न हामीले चोरी कर्म गर्न बाध्य भयौं । हामीलाई क्षमा गर्नु होला । हामीले जहाँ जहाँ चोर्न जान्छौं त्यहाँ हामी सफल हुन सकौं । यदि हामी हाम्रो काममा सफल भयौं भने हजुरलाई कालो बोका बलि दिने छौं । … शिक्षित बेरोजगार चोरहरूले त्यही मूर्ति सामुन्ने भाकल गरेर गए ।

संयोग कस्तो पर्यो भने नभन्दै देशमा अनिश्चित कालिन हड्ताल भयो । आन्दोलनकारीहरूले बन्द हड्ताल र चक्काजाम गरे । मालबाहक गाडी नआउँदा ब्यापारीले भने जस्तो भएकोले मालसामान बेचेर मनग्गे मुनाफा कमायो र सर्त बमोजिम भगवानलाई लड्डु चढायो । श्रमिक भने आफ्नो सन्तानको उपचारको अभावमा मृत्यु भएको पीडाले रन्थनिदै आएर भगवानको मूर्तिमा टाउको ठोक्काउँदै बिलौना गर्यो तर भगवान बोलेन अहँ बोल्दै बोलेन । सन्तान शोकमा त्यो श्रमिक मूर्तिमा टाउको ठोक्काउँदै आत्महत्या गर्यो ।

अर्को संयोग, ती शिक्षित बेरोजगार चोरहरूले ब्यापारीको घरमा चोरेर फर्कदै गर्दा बर्दीधारीहरूको फेला परे । बर्दीधारीहरूले चोरसंगबाट चोरिएको माल खोसेर “जाओ भागो” भनेर लखेटे । तर ती चोरहरू भाग्न मानेनन् ।

“सर ! कि हामीलाई पनिसँगै लैजानु होस् कि माल आधा आधा बाडौं,” उनीहरूले अड्डी लिए ।

बर्दीधारीको नाइकेलाई चोरहरूको अड्डी सही लाग्यो । चोर पक्रेपछि माल सहित सार्बजनिक गर्नुपर्ने हुन्छ त्यसैले रु ५०० को एक गद्दी दिएर भगाउनु नै हाम्रो कल्याण छ भन्ने सोंचेर ५०० को एक बन्डल दिएर भगायो । त्यसैमा सन्तोष गरेर ती चोरहरू भागे ।

ती सबै घट्नाका प्रत्यक्ष साक्षी भगवान भने मूर्तिकारले रचना गरी दिएको मुस्कानमा मुस्कुराइरहेको देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *