१. प्रारम्भिकीः परिवृत
मनोज ढुंगाना नेपाली साहित्यका सक्रिय, सरल र सालिन ब्यक्तित्व हुन । सानै उमेरवाट साहित्य सिर्जनामा आफुलाई समाहित गरेर आफ्नो वौद्धिकताको झलक प्रस्तुत गर्न अग्रसर यिनको उपस्थितिले नेपाली साहित्यिक इतिहासमा आफ्नो प्रभुत्व जमाउन उद्यत जुझारु युवा स्रष्टा त हुन्नै यसको अतिरिक्त मानव जीवनमा आवश्यक पर्ने निष्ठा, सहयोग र सौहाद्रतालाई आत्मासाथ गर्दै समाज सेवामा निलिप्त साँचो अर्थका एक् होनहार व्यक्ति पनि हुन् । यसको प्रमाण कम्प्युटर एसोसिएसन नेपाल मकवानपुर, हेटौडा वजार लायन्स क्लव, एमनेष्टी इन्टरनेसनल, वी.पी. आलोक अध्ययन मञ्च हेटौडा, सहिद स्मारक विकास समिति हेटौंडा, सामुदाथिक सेवा समिति हेटौडा, नेपाल रेडक्रस सोसाइटी हेटौंडा, नेपाल स्रष्टा समाज काठमाण्डौ, नेपाल अर्वुद रोग निवारण संस्था मकवानपुर, मातृभूमि साहित्य समाज हेटौंडा लगायत विविध संघ संस्थामा आवद्ध रही आफ्नो श्रम र सिर्जनाले समाजलाई सिधार्न उद्यत हुनुले थिनको सक्रियताको संकेत मात्र गरेको देखिदैन कि थिनी भित्रको आत्मीयताको पनि झलक स्पष्ट हुन्छ ।
चार दशकको हाराहारीमा आफ्नो वसन्तको सेरोफेरोमा घुमिरहेका मनोज ढुंगाना साहित्यिक सक्रियता र आफ्नो उपथितिलाई न्यानो पार्न त्यति चनाखो नभए पनि किशोर वयमै उपन्यास जस्तो जटिल वहुआयामिक विधामा हात हालेर आफ्नो क्षमता र प्रतिभाको प्रदर्शन गरिसकेका थिए । २०५० साल, जतिखेर मनोज उन्नाइस वर्षको मात्र थिए । त्यतिखेर यिनले “नारी संघर्ष” नामक औपन्यासिक कृति बजारमा ल्याइसकेका थिए । महिलाहरुका वारेमा समाजमा बन्दै आएको गलत अवधारणा, आर्थिक परनिर्भरता, पुरुष प्रधान समाजले निर्माण गरेको जटिल र कुरितिजन्य परम्परा नारीले भोग्न वाध्य चरम दुःख, यातना र सामाजिक वन्धन सिमारेखाले जकडिएके नेपाली साँस्कृतिक परम्परामा थिचिएका मिचिएका नारीवादी साहित्य लेखनको मार्गलाई आफ्नो रुचि बनाउनुले मकवानपुरे स्रष्टाहरुमा यिनले भुनेको विषय वस्तु आफैमा वोधगम्य तथा गम्भिर देखिन्छ ।
मकवानपुरे माटोमा उपन्यास लेखन त्यति फस्टाएको, गतिशिल मार्ग तयार गरेको रनविन विषय, शैली अपनाएको देखिदैन । र पनि यो बिधा प्रायः शुन्य भने छैन । केहि स्रष्टाहरुको उपस्थिति र तिनको कलम कौशलताले बिधागत साहित्यको रक्षमा तिनको योगदानलाई कम आँक्न सकिदैन यो सन्दर्भमा युवा स्रष्टा मनोजको उपस्थिति र यिनको “नारी संघर्ष” उपन्यासले नयाँ सोच र बिषयको खोजिका लागि सहायक सिद्ध सावित भएको देखिन्छ । भावुक, करुणामयी र जुझारु स्रष्टा हुनुको नाताले मनोजको लेखनको निश्चित मार्ग भनेकै अनुभूति र मनभित्र उठेका रहरहरुको कल्पना नै हो । सपनाको आकाशमा अधुरो रहेको जीवनको गल्छेडा घुम्ती र कुइनेटो को ब्यथा व्यवहार नै मनोजले समातेको विषय भएकोले लाग्छ यिनी जीवन भन्दा पर र जगत भन्दा माथी पुग्ने प्रयत्नमा आफ्नो अमूल्य समय खेर फाल्दैनन् ।
आफुले लेखेको विषय उठान गरेको सन्दर्भ, नविनताका निमित्त संघर्षरथ यिनको कलम जव आम मान्छे र आम मान्छेले भोगीरहेका यथथार्थता तिर लम्कन थाल्यो तव यिनको मन भित्र तयो स्रोत र सन्दर्भलाई छायाङ्कन गर्ने लहठवाजी पनि नचलेको होइन । उपयुक्त अवसरवाट जव यिनी वञ्चित भए तव त्यो लेखन लाई सानै भए पनि एउटा स्वरुपमा वदलेर ‘नारी संघर्ष’ उपन्यासका रुपमा वजारमा ल्याए । उन्नाइस वर्षको कलिलो उमेरमै उपन्यासकारको दर्जा प्राप्त गरिसकेका मनोज त्यस पछिका दिनहरुमा कहाँ हराए, कुन यात्राको खोजीमा भौतारिए र कुन परिस्थितिले यिनलाई साहित्यवाट अलग गरायो थाहा भएन । समयको दास हुन्छ मान्छे । त्यो दासत्ताबाट उम्कन सकेनन् मनोज र आफ्नो कलम कर्मवाट विचलित भएर हो या उपर्युक्त स्रोतको खोजीमा तल्लिन भएर लामो कालखण्ड सम्म साहित्यिक यात्रामा आफुलाई यिनले अग्रसर गराएको देखिंदैन । उन्नाइस वर्षमा यिनले ‘नारी संघर्ष’ उपन्यास लेखे । संयोग भनौ या साइत उन्नाइसै वर्ष पछि कथाहरुको संगालो ‘म र काठमाण्डौ’ लिएर पुनः नेपाली साहित्यिक दुनियामा उदाए ।
मकवानपुरे साहित्यिक इतिहासमा कथा लेखनको माहोल त्यति फस्टाएको पाइदैन र कृतिगत रुपमा भन्ने हो भने त औलामा गन्न सकिने स्रष्टाहरु पनि नपाइनु दुखद सन्दर्भ हो । यद्यपि यो बिधा पूर्णरुपमा रिक्त भने छैन । युवा स्रष्टा ऋषि के.वी. को सिमान्त वकैया कथा संग्रह्बाट श्री गणेश भएको मकवानपुरे कथा साहित्य मनोज सम्म आइपुग्दा बैकुण्ठ ढकाल, आर. आर. चौलागाई, यमनदेव उत्प्ररेक को कथाहरुले उर्जा थपेको सन्दर्भ त छदैछ यसले कथा बिधामा केहि फट्को मारेको पतित भएता पनि नविन शैलीका हिसावले एस.के. निधन र निमेष निखिलका कथाहरु भन्दा अरुका कथा नभेटिनुले अझै निकै संघर्ष प्रयत्न र साधनाको खाँचो देखिन्छ – यस क्षेत्रमा । कृतिगत रुपैमा स्रष्टाहरुको संख्या न्यून रहेता पनि फुटकर रुपमा लेख्नेहरुको जुन जमात मकवानपुरमा छ त्यसले भोलिका दिनमा नेपाली कथा साहित्यमा नविन मान्यता, विश्वब्यापी चेतना, प्रयोगपूर्ण शैली, वहुल चरित्र चित्रणको क्रान्तिकारी आयामलाई स्थापित गर्दै समसामयिक सन्दर्भको विविध प्वाल, छिद्र र छायाहरुलाई टिपेर जनमानस भित्रको संकुचता, संस्कृति, परम्परा र परिष्किृत मूल्य र मान्यतालाई समेत आकार प्रदान गर्ने सवाल र सन्दर्भलाई जीवित वनाउने जुन संवेदनशिलता छ सो को निम्ति मकवानपुरे कथाकारको उपस्थितिले एउटा निश्चित रुप धारण गर्ने विश्वास पक्कै पनि निराशामा नवदलिने कुरामा आशावादी हुने आधार निकै देखिएको छ ।
मनोज ढुंगाना मात्र होइन यो लहरमा आर.सी. रिजाल, तुलसी घिमिरे, तुल्स िथापा, सुवास खनाल, अनिता न्यौपाने, आनन्दराम पौडेल, रमेश मोहन अधिकारीहरु पनि खडा छन् । संगै काधमा काध मिलाएर कथाको बौदिकता मनोरञ्जन क्षमता, समय सापेक्षतालाई कायम गर्न विर्खे अन्जान, रामशरण पुडाशैनी, श्रीराम पाण्डे, खेम वानिया, श्याम कुमार वानिया, चिरञ्जीवि चकोर, रामकुमार एलन, गणेशकुमार पौडेल, अर्जुन क्ष्तििज, अरुण खतिवडा, के.पी. अञ्जान लुइटेल, छवि अनित्य, भावना सापकोटा, ववी थापा र देवराज खरेल प्रवृत्तिका स्रष्टाहरुले वगाएको श्रम र सिर्जनाले मकवानपुरे धर्तीमा कथा विधाको मार्गलाई सुनिश्चित गर्न मद्दत पुर्याएको देखिन्छ ।
सिर्जनाले स्रष्टालाई मात्र आत्मा अनुभूतिको सन्तुष्टि दिने होइन यसले पाडकको दिल र दिमाखलाई जित्ने क्षमता राख्नु पर्छ । ब्यर्थका शब्द खर्च गरेर अनावश्यक गन्थन गुथ्दैमा साहित्य हुदैन । शब्दको सिङ्गार, विचारको प्रवाह, भावको संवेदनशीलतावाट मात्र असल साहित्यको सिर्जना हुने भएकेले आवेश, आक्रोश र औताएर हतारमा धेरै लेख्दैमा ठूलो हुने सपना देख्नेहरुको भीड पनि हामी कहाँ नभएको होइन । देवकोटाले अनगिन्ती सिर्जनाहरु पाठकलाई छाडे तर मुनामदन जस्तो शक्तिशाली र जनप्रिय रचना अरु हुन सकेन । मोदनाथ प्रश्रितले निकै पुस्तक प्रकाशनमा ल्याएका छन् र पनि मानव महाकाब्य एक मात्र त्यस्तो पुस्तक हो जसले उनलाई सर्वाधिक लोकप्रिय बनायो । आज पनि त्यस्ता कतिपय प्राज्ञिक ब्यक्तित्वहरु छन् जसको एक कृतिले नै राष्ट्रिय स्तरका स्रष्टाका रुपमा स्थापित गरेको सन्दर्भ हामी सामु जीवीत छन् । थोरै लेख तर राम्रो लेख यो मुलमन्त्र वोक्नेहरु पनि नेपाली साहित्य आकाशमा आज पनि छन् ।यही लहरका पक्षधर मनोज ढुंगाना १९ वर्षको अन्तरालमा दोश्रो सन्तानका रुपमा ‘म र काठमाण्डौ’ लिएर उदाएका छन् । उनको कथाकारिता नेपाली आख्यान क्षेत्रमा नयाँ हुन सक्छ र पनि उनको लगन, परिश्रम र सामर्थ्यले मकवानपुरे कथा साहित्यमा मात्र होइन सिङ्गो वाङमयमा अर्थपूर्ण स्थान राख्नेमा आशावादी हुन सक्ने धेरै आधार र सम्भावनाहरुका रेखाहरु हामी माझ छन् ।
२. ‘म र काठमाण्डौ’ युवा कथा संग्रहको अध्ययन
‘म र काठमाण्डौ’ कथाकार मनोज ढुंगानाको दोश्रो प्रकाशित कृति हो भने कथा बिधाको पहिलो पुस्तक हो । यस भन्दा पहिले उनको ‘नारी संघर्ष’ उपन्यास २०५० सालमा प्रकाशनमा आएको पाइन्छ । कथाकार मनोज ढुंगाना एक स्तम्भकार पनि हुन् । यिनले नमस्कार साप्ताहिकमा ‘पागलपनको विश्लेषण’ विश्लेषणात्मक स्तम्भ लेखे , विविध कारणले त्यो स्तम्भलाई निरन्तरता दिन सकेनन् र यद्यपि यिनी भित्रको पत्रकारिता गर्ने रहर र उत्कट चाहना मरेको भने थिएन । यसको नमुना हो ‘स्पन्दन’ त्रैमासिक औद्योगिक पत्रिकाको प्रकाशन । सम्पूर्ण जिम्मेवारीको बोझ, प्राविधिक समस्या र आन्तरिक कठिनाइका कारण स्पन्दन पाँच अंक बाट अघि बढ्न सकेन र बिश्रामको केहि समय पश्चात मातृभूमि साहित्य समाजमा आवद्ध भई सातौ कार्यकालवाट कोषाध्यक्ष पदको गहन जिम्मेवारी बोकेर सेवारथ छन् र हाल माघ २०६९ देखि पुनः समृद्ध समाज राष्ट्रिय दैनिकमा हरेक शुक्रबार फ्राइडे कर्नरको नामले समसामयिक विषयमा स्तम्भ लेखिरहेका छन् । साहित्यिक सिर्जनावाट अलग्गिएर वैयक्तिक जीविकोपार्जन र समाज सेवामा लागेका मनोज ढुंगाना १९ वर्षको अन्तराल पछि पुनः साहित्यमा फर्किएको कथन उनको छ । मान्छे समय र परिस्थितिको दास हो । चाहेर पनि समय भन्दा अघि बढ्न नसक्ने यथार्थ मनोजले बुझेका छन् । समयले नै मान्छेलाई पीडा दिन्छ र त्यो पीडाको घाउमा मलम समयले नै लगाउँछ । अन्धकार समयको उपच हो र उज्यालो त्यहि समयको प्राप्ति हो । पाहुना भएर दुइदिन मान्छेले अभिनय गर्छ र निश्चित अवधि पश्चात मान्छे पनि यो दुनियावाट विदा हुनै पर्छ । यो सत्यताको पर्दावाट मनोजले मान्छेको चरित्र कर्म र कामलाई नियालेका छन् । त्यसको प्रमाण हो उनको विचार, चिन्तन र अनुभव । जीवनको यावत खण्ड आरोह अवरोहलाई नजिकवाट हेर्ने प्रयत्नमा लागेका छन् मनोज सिर्जनाको स्रोतवाट समसामयिकता लाई लिपिवद्ध गर्न उद्यत छन् । ‘म र काठमाण्डौ’ जीवन मार्गको खुड्किलालाई अध्ययन गर्ने एउटा विन्दु हो जहाँ यिनले देखेका भोगेका घटनालाई कथाका रुपमा आम पाठकमाझ पस्किएकाछन् ।
२.१ ‘म र काठमाण्डौ’ को सामान्य परिचय
कुनै वाद, विचार र सिद्धान्तको पुच्छर समाएर एकोहोरो त्यसैको भजन र डम्फु वजाउने प्रवित्तिवाट टाढा मनोज स्वतन्त्र विचार शैली र चेतनावाट आपूmलाई अगाडि वढाउन चाहने स्रष्टा हुन् । मनोज ढुंगानाको युवा कथा संग्रह ‘म र काठमाण्डौ’ मध्यम आकारमा रचिएको नौ वटा कथाहरुको संगालो हो । आफु विज्ञापित हुन नचाहने र साहित्यवाट अपेक्षा नराख्ने भएकाले यिनको सिर्जनाहरुको कुनै वहस चर्चा र छलफलमा नआएतापनि वैयक्तिक समस्याहरुको अभिब्यञ्जना र आँशिक रुपमा सामाजिक चित्रण गरिएको पाइन्छ ।
प्रस्तुत कथा संगालो भित्र नजुरेको पोइ, आलेको पर्खाइ, नगरकोटमा एक साँझ, वा को इज्जत, म र काठमाण्डौ, चमेली, निरीह यात्रा, रहर र अन्तिम कथाका रुपमा समयको माग कथाहरु संकलित छन् । उक्त संग्रहको पाँचौ कथा म र काठमाण्डौ लाई नै छनोट गरेर पुस्तकको नामाकरण गरिदिएका छन् मनोज ढुंगानाले । दमित कुण्ठाको उदात्तिकरण र मान्छेको आन्तरिक तथा वाह्य चरित्रको उदघाटन नै अभीष्ट वनेर आएका प्रस्तुत कथा संग्रहको कथाहरु मूल्याङ्कन र चर्चाको दृष्टिले मनन योग्य छन् ।
संग्रह भित्रको पहिलो कथा हो – ‘नजुरेको पोइ’ । उक्त कथाको प्रमुख विषय नै अधुरो प्रेम हो । नेपाली समाज र संस्कारले अझै सम्म पूर्ण रुपमा वर्जित गरेको अवस्थामा कथाको प्रमुख पात्र राजकुमारको त्याग र समर्पणको सेरोफेरोमा कथाले परिक्रमा गरेको छ । निम्न वर्गीय पारिवारीक स्थितिले चाहेर पनि शैक्षिक अवस्थालाई अघि बढाउन नसक्ने पीडादायि घटनाको यथार्थ विवरण प्रस्तुत छ कथामा । कथाले सहयोग, सदभावको सिमारेखा मात्र कोरेको छैन प्रेममा जातिय रंगको कुनै आवश्यक्ता छैन भन्ने कुराको संकेत पनि देखाएको छ ।
‘आलेको पर्खाइ’ शीर्षकको दोश्रो कथा निस्वार्थ प्रेममा नै केन्द्रित छ । नेपाली युवा र विदेशी युवती वीचको सम्वन्धलाई लिएर लेखिएको उक्त कथा भित्रको आञ्चलिकताले नेपाली संस्कार रीति रिवाज मात्र होइन राष्ट्रिउताको पक्षमा पनि वकालत गरेको पाइन्छ । निम्न वर्गिय परिवार त्यो परिवारलाई हेर्नु पर्ने जिम्मेवारीको दायित्व वहन गर्नका लागि विदेशीएको घट्ना सँगै लिण्डा सँग भएको सम्वन्धको सुमधुरताले कथामा रोचकता सँगै विछोडको पीडाले पाठकलाई संवेदनशील हुन विवश बनाउँछ । सभ्यता र जीवनमुखी ब्यवहार लिनुपर्छ भन्ने सन्देश यस कथामा छ ।
‘नगरकोटमा एक साँझ’ मनोजको तेश्रो कथा हो । म अर्थात जुनेली कथाको प्रमुख पात्र हुन् । समयले यिनलाई वाटो वदल्न विवश वनाउँछ । त्यही समयले सही वाटोमा जुनेलीलाई उभियाइदिन्छ । मान्छे समय र परिस्थितिको दास हो भन्ने कुरा नगरकोटमा एक साँझ कथाले पुष्टि गर्दछ ।
परिवारीक प्रतिष्ठा, आपसी सहयोग, संस्कार र स्रौहाद्रताको संकेत छ ‘वा को इज्जत’ कथा भित्र । मेहनत श्रमले खानुपर्छ र मान्छेले भाहे जे पनि गर्न सकिन्छ भन्ने कुराको सवुद प्रस्तुत कथामा छ । आफ्नो सन्तान गलत मार्गमा नलागुन र स्वाभिमान पूर्वक आफ्नो इमानको रक्ष गरुन भन्ने सन्देशका साथ अनुशासित र मर्यादित जीवनको परिकल्पना कथा भित्र छ । यो सामाजिक कथा भईकन पनि प्रभावकारिताका दृष्टिले सफल छ ।
‘म र काठमाण्डौ’ संग्रहको महत्वपूर्ण कथा हो । जसले आजको यथार्थताको संकेत गरेको छ । काठमाण्डौमा सपनाहरु छन् अवसरहरु छन्, साधन छ, सुविधा पनि छन् । विम्वना त्यही काठमाण्डौमा पीडा पनि छ । छल प्रपनचा छरिएको छ, भेरिएको छ सकभरी धोका र अन्तघातहरु । यि र यस्तै–यस्तै को प्रतिविम्बका रुपमा म र काठमाण्डौ कथा भित्र पात्र र प्रवित्तिहरु उभिएक छन् । यौन ब्यवसायको तीतो यथार्थ र परिस्थितिले कुमार्गमा होमिएको दर्दनाक कहानीले कथा निथ्रुक्क भिजेको छ । यथार्थवादी घटनामा काठमाण्डौको प्रतीकात्मक रुप मनोवैज्ञानिक ढंगवाट सिर्जना गरिएको छ ।
‘चमेली’ कथा भित्र साहस र हिम्मतको नमुना छ । मेहनत र संघर्षले नै जीवन सफल हुन्छ भन्ने कुरा चमेली कथा भित्र पढ्न पाइन्छ । गरिवी, अभाव, अनिकालमा रोएर मात्र हुन्न धैर्य लगनशीलताको पनि प्रयोग गर्नुपर्छ अनि मात्र मान्छेले सफलता पाउँछ । यो कथामा निराशा मात्र छैन, उत्साह पनि छ । अँध्यारोले नै उज्यालो ल्याउँछ भन्ने कुराको प्रमाण चमेली कथाले प्रस्तुत गरेको छ ।
नैराश्यता, हरेस, साँगुरो मानसिकता केवल हार्नेहरुले मात्र वोक्छन् जित्नेहरु लड्छन् फेरी उठ्छन् र संघर्ष गरिरहन्छन् । जित्न युद्ध गर्नै पर्छ र मैदानमा उभिनुपर्छ – निर्धक्क निर्भय । कथा निरीह यात्रा यसैको नमूना हो कथाले निराशा भित्र आशाको दियो वालेको छ र जीवनलाई अनमोलतामा रुपान्तरण गर्न धैर्य, विवेक र वुद्धिले काम लिनु पर्छ भन्ने कुराको अनुभूति दिलाएको छ ।
रहर मनोजको अर्कौ कथा हो जस भित्र नयाँ प्रविधिको उपयोग, हिजोको परम्पराको संकेत नारी स्वर र संयमताको चित्रण, छोरा र छोरी वीचको विभेद, आमाको ममता लगाइत अन्य गतिविभिले कथा भित्र स्थान पाएको छ । नारी वादी सिर्जनाको स्रोत भित्र पस्दै गएको रहर कथामा उमेर पुगेका चेलीहरुको आकाँक्षा, चाहना र सपनाहरुलाई उनेर एउटा घटनाको विवरण पेश गरिएको छ । नारी संग कति धैर्यता सहनशीलता छ भन्ने कुराको पुष्टि यस भित्र छ । एउटी जवान युवती छोरा जन्माउने रहर वोकेर दुलाहाको खोजीमा छ । त्यही सन्दर्भमा यो कथा वगेको छ ।
समयको माग संग्रहको अन्तिम कथा हो । जहाँ वालवालिकाको चर्चा, अतृप्त यौन आकांक्षाको सन्दर्भ युग संगै परिस्थिति, परिवेश वदलिनु पर्छ भन्ने उदघोष उक्त कथा भित्र देख्न सकिन्छ ।
२.२ ‘म र काठमाण्डौ’ कथाको विश्लेषण
म र काठमाण्डौ सामाजिक समस्यामा आधारित युवा कथाहरुको संकलन हो । यो युवा कथा संग्रह भित्रका सिर्जनालाई अध्ययन गर्दा प्रवितिगत ३ सन्दर्भहरु देख्न सकिन्छ । पहिलो यौन मनोविज्ञान दोश्रो विसंगति र तेश्रो नारीवादी । परम्परा र प्रयोगात्मकता का वीच बाट मध्यम मार्ग तय गरेर कथाकार मनोज ढुंगानाले आप्mनो कथामा नवीन चेत र युग वोधको समिश्रण गरेका छन् । भाषिक संरचना तोडेर अथवा भनौ क्लिष्ट र विभिन्न सिद्धान्तको खिचडी बनाउँदै कतिपय स्रष्टाहरु आपूmलाई प्रयोगवादी हुँ भनेर नवीनताको ढर्रा ओढेर नेपाली साहित्यमा हैकमवाद जमाउन पनि तम्सेको भेटिन्छ । लेखन किन र कसका लागि भन्ने प्रमुख मुद्धामा आपूलाई केन्द्रिकृत गर्नुको सट्टा विज्ञापन र क्षणिक तालिलाई आफ्नो उपलब्धि ठान्नु भ्रम मात्र हो भनने कुरा आत्मासाथ गर्नु आवश्यक छ । सिर्जना आत्मा सन्तुष्टिका लागि भनदा पनि पाठक र आम वर्गका लागि हो जसलाई पढेर प्रत्येक व्यक्तिले एउटा गन्तब्य तयार गरोस र नयाँमार्गका लागि आफुलाई समाहित गरोस अनि मात्र त्यसको सहि अर्थ र उपलब्धी रहन्छ । अन्यथा त्यो शब्दको थुप्रो कोरा कल्पना सिवाय अरु केहि हुन सक्दैन ।
स्रष्टाको आफ्नो दायित्व हुन्छ र सिर्जनाको निश्चित उद्देश्य । दायित्व र उद्देश्य विनाको कुनै चिज सिद्यान्त तथा वाद खासै महत्वको हुंदैन । स्रष्टा भन्ने वित्तिकै विशिष्ट दायित्व बोकेको एक सचेत वौद्धिक नागरिक हो भन्ने बुझिन्छ । त्यसैले पनि उसले सिर्जना गर्ने कुनै पनि विधाको विषयमा भनेको जनपक्षिय उत्तरदायि समतामूलक समाजको निर्माणका लागि आवश्यक पर्ने चेतना निर्माणको कार्यमा सहायक हुने बाटाहरु प्रस्तावित गर्ने हो । समूदाय भित्रको भ्रम, संकोच लाई हटाउँदै आत्मवल, हौसला र प्रेरणाको शब्दहरुले समाज परिवर्तनका निम्ति शब्दहरुको क्रान्तिबाट परिवर्तनका लागि नागरिकलाइ मुक्तिको पक्ष पोषणमा आकर्षित गर्न उन्मुख हुने सिर्जना नै आवश्यकता हो भन्ने तर्फ स्रष्टाको ध्यान जान जरुरी छ ।
सत्यको अनुसरण त्यसको निरन्तर अन्वेषण र उदघाटन एवम् झुटको विरोधबाट स्रष्टाले आफुलाई अघि बढाउँदै त्यही अनुरुपको सिर्जनाको माध्यमबाट आम वर्गमा जव उ पुग्छ तव मात्र साहित्यको सहि रंग र उद्देश्यको मापन हुन्छ । आज हामी कहाँ साहित्य भन्ने वित्तिकै नाक खुम्च्याउने र आत्मारतिमा रमाउने भाडो मात्र भन्नेहरु लाई त्यसको मर्म र आवश्यकिय चिज हो भन्नको लागि मानसिक सुधारका निम्ति स्रष्टा र सिर्जना पनि सुधारिनु जरुरी छ ।
यो सन्दर्भमा कथाकार मनोज ढुंगानाका सिर्जनाको स्रोत भनेको आम मान्छे र मान्छेले भोगिरहेको यथार्थ हो । उनको कथामा ग्रामिण समाज, सहरी प्रवृत्ति, अभाव अवसरको खोजीहरु पाइन्छ । आत्मीयता सौहाद्रताको खोजीका लागि मनोजले आप्mनो कथाको पात्रहरुमा सद्भावनाको वीउ रोपेर स्वतन्त्रताको खोजी गरेका छन् । यिनको कथा भित्र द्धन्द्धात्मक परिकल्पना भन्दा पनि वन्धुत्व भाइचाराको समिश्रण नै ज्यादा छ । वि.सं. १९९२ जेठ तिर शारदा पत्रिकामा गुरु प्रसाद मैनालीको ‘नासो’ कथा प्रकासित भए पछि नेपाली कथा साहित्यमा यथार्थवादको थालनी भएको हो । त्यही समय देखि आज सम्म आइपुग्दा विद्यमान समय, परिवेश र यथार्थलाई समेटेर निकै स्रष्टाले अनगिन्ति कथा लेखे त्यसको लहरमा मनोज पनि पर्छन् । यिनको कथामा न काल्पनिकता छ, न अनावश्यक ढर्रा छ । जे देख्छन् त्यही लेख्छन् मनोज । सामाजिक यथार्थवादी कथाकार मनोजका कथामा आदर्शोन्मुख समाज पनि छ र त्यस भित्र मनोविज्ञानको जलप पनि । देखेका, सुनेका र भोगेका घटनालाई विषयवस्तु वनाएर आम पाठकमा कथाहरु पस्किरहेका मनोजका शब्दहरुमा यौवनावस्थाको प्रम, आर्थिक विपन्नतामा परेका गरिव, श्रमजीवि, निम्न वेतनभोगी कर्मचारी, महंगीको प्रतिकात्मक फोटाहरु स्पष्ट छ ।
मनोज नेपाली कथा बिधामा उदाएका नयाँ पात्र हुन र यिनको कथा नयाँ प्रवित्तिको हो । पहिलो संग्रह भित्र रचिएका कथाको र सामग्री काल्पनिकता भन्दा पनि यथार्थको पर्दामा स्पष्ट देख्न सकिन्छ । माथि उल्लेख गरिए झै गुरु प्रसाद मैनाली बाट शुरु भएको आधुनिक कथा लेखनले रमेश विकलको आगमन पश्चात यथार्थवादी वाटो लाई उर्वरता बनाउँदै उक्त परम्पराको मार्ग दौलतबिक्रम विष्ट, देवकुमारी थापा, प्रेमा शाह, तारानाथ शर्मा, हरिगोविन्द लुइटेल, नयनराज पाण्डे प्रभृत्तिका स्रष्टाहरुले समृद्ध वनाउँदै लगेका हुन । यि कथाकारको यात्रालाई पछ्याउँदै तिनको यात्रागत मार्गलाई अझ फराकिलो पार्दै आएका स्रष्टाका लाममा वद्ध भएका छन् मनोज ढुंगाना । मनोजको कथाको पात्र तिनले टिपेको प्रवृत्ति हाम्रो समाज, हाम्रो परिवेश र हाम्रै संस्कृति भित्रको गतिविधिलाई छानेका छन् र त्यही यथार्थलाई पाठक माझ पस्किन नै उत्तम मानेका छन् ।
लामो र मझौला दुवै प्रकारका कथाले संगालोमा स्थान पाएके छ । गलत कर्मको टेको लाएर माथि पुग्ने र आफ्नो महत्वकाँक्षा पुरा गर्न उद्दत पात्र र प्रवित्तिले सिधारिएका कथा भित्र राष्ट्रिय परिवेश, अन्तर्राष्ट्रिय छनक मात्र होइन विद्यमान अन्योल र उदेक लाई अत्यन्त शिष्ट तथा संकेतका रुपमा प्रस्तुत गरेको पाइन्छ । मनोज कथा विधामा नयाँ स्रष्टा त पक्कै हुन् र पनि यिनको कथामा परिपक्वताको संकेत प्रसस्त भेटिन्छ । विषयको खोज, संरचनाको श्रंगार र परिवेशलाई जस्ताको त्यस्तै उतारेर तीव्रगामी अनुभूति छताछुलल पारेको पनि देखिन्छ । सामाजिक विभेदलाई सशक्त रुपमा उठान गरेर मनोजले त्यो भित्रको पिडा, वेदना, संकिणता, पारस्परिक आत्मीयता र आत्मा विश्वासको सन्दर्भहरु उठान गर्नुको साथै उनको कथाहरुले नयाँ वहस, छलफल र परिवर्तित युगको संकेतात्मक उदघोष पनि गरेको छ ।
नेपाली साहित्यको क्षेत्रमा कथा विघा ब्यापक र विविध छ । लेखन र प्रकाशनको सन्दर्भमा गजलले जुन मार्ग तयार गरेको छ त्यसको तुलनामा कथा नपुग्ला यद्यपि पाठक र जन अभिरुचीका दृष्टिले यो विधाको भविश्य हिजो पनि राम्रो थियो र भोलि पनि यथेष्ट सम्भावना वोकेको देखिन्छ । समय, युग र आवश्यकता अनुरुप कथाको स्रोत सन्दर्भ फरक–फरक हुन सक्ला र पनि कथालाई पढ्ने, मन पराउने, युगलाई वोक्ने सामथ्र्य जति आख्यान विधामा छ त्यति अरुमा नहुन सक्छ । हिजो रामायण, महाभारत र पुराणहरु पढ्नेहरु आज विजय चालिसे, वावुराम लामिछाने, रत्न प्रजापती, हिरण्य कुमारी पाठक लगाएतका कथाहरु पढ्नेहरुछन् रुप, स्वरुप वदलिंदै जाँदा कथाका नयाँ भाव नयाँ दृष्टि र नयाँ शैलीले पाठकलाई तानिरहेकैछ र उनीहरुको मष्तिकलाई जितिरहेकै छ । कथा निश्चित घटना र वर्णनवाट निश्चित परिणम र उद्देश्यमा पुग्ने मान्छेहरुकै दिनचर्याको एउटा दस्तावेज हो जहाँ परिवेश, परिस्थितिको सन्तुलनकारी पात्र र प्रवृत्तिको शिलशिलवार विवरण प्रस्तुत गरिएको हुन्छ ।यसै समाजले भोग्ने गरेको पीडा अनुभव र अन्तरद्धन्द्धहरुको आधारलाई पृष्ठभूमि वनाएर समाज र संस्कृतिलाई अन्योन्याश्रित भएर वाँधिएका घटना नै कथा हुने भएकाले स्रष्टा मनोजले आप्mना कथाहरुलाई कल्पनाको प्रयोग संगै अनुभवको यथार्थजन्य विषयहरु समेटेको पाइन्छ । धेरै सन्दर्भ धेरै घटनाहरुलाई एउटै मालामा उनेर सवै विषय र स्रोतहरुलाई निश्चित विन्दुमा पुर्याउँदै निष्कर्षत पाठकलाई आकर्षित र भाव विहल पार्न सफल मनोजका कथाहरु अलिकति नयाँ युग, अलिकति नयाँ परिवेश र अलिकति काल्पनिकताले उत्कृष्ट बनाएको छ ।
दिनानुदिन जीवन संकट, सास्ती र त्रासदपूर्ण भके संकेत र संभावनाको छनक मनोजको कथामा छ । उनको कथाहरुले नारी शिक्षाको आवश्यकता, उत्पीडन, अधिकाररक्षा, नारी अस्मिता र अस्तित्वको खोजी गरेकोछ । कथाहरुको प्रत्येक विषयवस्तु भित्र नारीको प्रवेश गराएर तिनको सपना, रहर र स्वतन्त्रता माथि वहसको थालनि गरी भोलिको नयाँ परिवेश, भोलिको युग र भोलिकै नयाँ इतिहासका लागि क्रान्तिकारी छलाङ मार्नु पर्छ भन्ने मूल्य मान्यतामा यिनको कथा भित्र अन्तरनिहित छ ।
मनोज ढुंगानाको कथाहरुले हामीलाई नै संकेत गरे झै हामीलाई नै देखेर लेखे झै हाम्रै विषय, हाम्रै परिवेश र हाम्रै जीवन जगत, हाम्रै पीडा प्रताडनाहरु टपक्क टिपेर वडो सचिव, वढो सजक र वढो कलात्मक ढंग बाट लेखेका छन् । प्रचलित परम्परित ढाँचामा नै कथा सिर्जना गरिएता पनि यिनको कथाहरुले वर्तमान युगको कहालि लाग्दो परिवेशहरुलाई जोडेका छन् । जीवनको रिक्तता, शुन्यवोध, विसङ्गत परिवेश, पूरातन जड, सुत्रवादी चिन्तन, अभाव, अनिकाल आदिको सुक्ष्य विश्लेषण गरी वुनिएका यि कथाहरु वैचारिक पक्षको गहनता त छँदैछ यसको अलवा स्वायत्तता र स्वावलम्वनको अवधारणाहरुले मनोजलाई नेपाली कथा साहित्यमा यथार्थवादी धाराका स्रष्टाका रुपमा स्थापित गर्नेमा विश्वस्त हुन सकिने धेरै आधार र सम्भावना देखिन्छ ।
मनोजको कथाहरुको महत्वपूर्ण पाटो अर्को पनि छ त्यो हो यौन । यौनेच्छा यौनकुण्ठालाई लिएर लेखिएका कथाहरुले वर्तमानको एउटा महत्वपूर्ण पक्षलाई उठान गरेको देखिन्छ । मनभित्र दमित अवस्थामा रहेको यौनकुण्ठाले निकास नपाए पनि परपुरुष सँग आफ्नो यौन तृप्तिको माध्यम वनाएका घटना सँगै जिविकोपार्जनका लागि रोजगारले आफ्नो आवश्यक्ता पूरा गर्न नसकेको वढ्दो महंगीान आयस्रोत नभएके तथा विकलपको रुपान यौनजन्उ क्रियाकलापमा आपूmलाई समर्पित गरेको सन्दर्भहरुले मनोजको कथाहरुमा प्रश्रय पाएका छन् । सामाजिक अन्य गतिविधि साग जोडेर कथाको विषय अन्यतिर परिलक्षित भए पनि त्यो भित्र यौनको प्रवेश गराउादै यौन कुण्डाको परिणति, इष्र्यालु र शंकालु पुरुषको हीनमनोग्रन्थि, अतृप्त यौन दुर्वलताका कारण पलाएको हीनभावना आदी जस्ता सन्दर्भहरुको सेरोफेरोमा यस संग्रहका कथाहरु लेखिएको देखिनछ । कथाले नै यौन अपरिहार्य शारिरिक आवश्यकता हो भन्ने सनदेश मात्र दिएको छैन कि यौनले नै जन्माएके विकृति विसंगति र पुरुषहरुको स्वेच्छाचारी प्रवृत्तिलाई उटान गरी यौनजन्य पीडाको पनि प्रस्तुतीकरण गर्नुले जीवनको निस्सारता र जटिलता थपिदै गएको आजको परिवेशीय यथार्थलाई पर्दाफास गरेका छन् ।
मनोजका कथाहरु हेर्दा सामान्य झैँ लाग्छ । विषयको केन्द्र एउटै भए पनि एउटा कथा भित्र अनगिन्ति सन्दर्भहरुको स्रोतहरु यिनको कथामा देख्न सकिन्छ । विविध पाटा र पक्षलाई उन्दै उन्दै निष्कर्षतः एउटा निचोडमा पुगेर कथाको अन्त्य गर्नु यिनको महत्वपूर्ण पक्ष हो । “म र काठमाण्डौ” भित्र केवल नौ वटा कथाहरु छन् तर त्यसलाई एक–एक गरी केलाउने हो भने त्यति कथाहरुले नै हामीले भोगेको, देखेको र सुनेका सबै पक्षलाई समेट्न सफल देखिन्छ । पारिवारिक इच्छा, सम्मान र आस्था यिनको कथामा छ । यिनको कथाले डोहोर्याएको जीवन अनिश्चित र असुरक्षित छ । पात्रहरु गरिव अभाव र अनिकाल संग लडिरहेका छज् । रोजगारीका लागि अथक संघर्ष, दौडधुप र विदेश जान विवश छन् र विक्षिप्त जिन्दगीको कहानी कोर्दै–कोर्दै संकटग्रस्त समयको संकेत पारेर यिनका कथाहरुले परम्परागत संस्कृति, नारी अस्तित्व र अस्मिताको खोजी गरेको छ । शहर भित्रको कोलाहरल र निरर्थक यात्राको खोजीमा मानिसको नियति, दुर्नियति तथा समय प्रतिको विरोधले कथाहरुमा प्रविष्टि पाएका छन् । छोरीहरु आत्मनिर्भर, सक्षम र स्वतन्त्र हुन पाउनुपर्छ भन्ने विचार त मनोजको कथामा छ नै यसको अलावा राष्ट्रियता भाषा र जातिय सदभावको सन्दर्भ पनि उत्तिकै उर्वर भएर स्थापित भएका छन् । लगन, परिश्रम र निष्ठाका साथ कुनै पनि काम गरे जीवनमा सफलता पाइन्छ भनने प्रमाण यिनको कथाले दिलाएको छ । कथाहरु अस्तित्वको खोजीमा जीवनकै पाटा र पक्ष संग अन्तर निहित छ ।
२.३ ‘म र काठमाण्डौ’ को कमजोर पक्ष
मनोज कथा विधाका नयाँ पात्र हुन् । पहिलो कथा विधाको यो संग्रह आफैमा महत्वपूर्ण छ । महत्व यस अर्थमा छ कि हिक्मत गरेरै जटिल भइकन पनि सम्प्रेषणिय विधामा प्रवेश गरेका छन् । साथमा पुस्तकले कमाएको धनराशीले विपन्न समूदायको सामाजिक हितका लागि काम गर्ने उल्लेख गरेको पाइन्छ । यिनको हौषला बढाउनकै निम्ति धन्यवाद दिनै पर्छ परन्तु सफलतामा पुर्याउने हो भने देखिएका सामान्य समस्याहरु यिनलाइ भन्नै पर्छ ।
मनोजको कथामा गन्थन अलि ज्यादा छ । कथाको प्रारम्भ अन्य सन्दर्भ तिर वढी तानिनछ र अन्त्यमा अस्वभाविक आकस्मिकता देखिन्छ – कथा तुर्नका लागि । मानौ लघु कथा जस्तो । कथाको बिषय वस्तु चमत्कारिक ढंग बाट अपत्यारिलो शैलीमा अन्त्य हुन्छ । कुनै कथा संस्मरण जस्तो देखिन्छ त कुनै निवन्द जस्तो अनावश्यक फुदा र स्रोत तिर अल्झिएर कथा वीचमै र्बैक गरु–गरु झैँ लाग्छ । कुनै कथा छोटो मै टुंगिन्छ कुनै तन्किएर रवर झैँ भएको छ । कथामा काल्पनिकता ज्यादा छ । पात्रहरुको आकस्मिक परिवर्तन उनको जीवनमा देखिएको रुपान्तरण पत्याउन मुस्किल पर्दछ । कथामा हुने श्रृंगारिकता, आकर्षण पक्षलाई कथाकारले टिप्न सकेका छैनन् । कथा कलाकारिता हो कथाले उठाएका विषय वस्तु यथार्थ परक छन् र पनि शब्दको मितव्ययिता संगै उचित संदर्भमा उचित शैलीको प्रयोग नहुनुले कथामा तिख्खरता र निख्खरता दुबै भेटिंदैन । फेसबुकले यिनको कथामा स्थान पाएको छ – त्यो पनि अचम्म संग । फुपू पात्र जसको उमेर अधवैसे छ । यिनले विद्यार्थी काल मै फेसबुक चलाउँथिन भन्ने कुराले अधवैसे फुपूका कथा भित्र वर्तमानका फेसबुकका कथाहरु मिसाइदिँदा नाटकिय संदर्भ अस्वभाविक देखिएको छ । क्षण–क्षणमै परिवर्तन, कथाको विकास, अचानक अन्त्य, विचित्र कथाको परिकल्पना मनोजका कमजोर पक्ष हुन् । अर्को बिचारणीय पक्ष अंग्रेजी शब्दको प्रयोग पनि हो । ती शब्दको विकल्पमा नेपालीको प्रयोग गरिएको भए राम्रो हुने थियो । घटनाक्रमको विकास संगै पाठकलाई वाँधेर कौतुहलपूर्ण अवस्थामा पुर्याइदिन मनोजको शैली केही काँचो र आलो देखिन्छ । संवाद र भाषा असंगठित तथा चरित्र निर्माणको कुशलता र द्धन्द्धको अभावले कथामा फितलोपन छाएको देखिन्छ ।
३ समापन
नेपाली साहित्यमा उदाएका सशक्त हस्ताक्षर हुन् मनोज ढुंगाना । परम्परित लेखनबाट अलि पृथक शैली र सोच वाट आफूलाई रुपान्तरण गर्दै विशिष्ट तहमा पुर्याउन संघर्षशिल स्रष्टा मनोज सभ्य, वौद्धिक र चेतनशील पात्रहरुको प्रयोग संगै यथार्थवादी अस्तित्वको खोजीमा तल्लिन ब्यक्ति हुन् । यिनले लेखनमा आफ्नो इमानदारीताको प्रदर्शन गरेकाछन् । सोचाइको आफ्नो मर्यादालाई पालना गर्दै निजीरुप र चिन्तनवाट आफूलाई पोखाउँदै कथामा छर्लंगिएक मनोजका सिर्जनाहरुले यो देश, यो परिवेश यो माटोलाई टिपेर उभ्याएका छन् । लेखनको आफ्नो मर्यादाक्रम भंग नगरिकनै सापेक्ष त समय र समय सँगै गाँसिएको संघर्षलाई आफ्नो तादाम्यवाट एउटा विम्व तयार गरेका छन् त्यो विम्व मेरो पनि हुन सक्छ, उसको पनि हुन सक्छ या हामी सबैके संयुक्त पनि हुन सक्छ । हाम्रै जीवन, हामै्र चरित्र, हामै्र परिवेश भित्रको कहानी खोतलेर हामीले देखेको, हामीले भोगेको, हामीले नै महसुस गरेको पात्र र परिवेश मनोजको कथामा छ । मनोज लेख्छन् यो निश्चित हो । प्रमाण कै रुपमा दुइटा कृति बजारमा छन् । अब लेख्छन् या छाड्छ यो न हामी भन्न सक्छौं न उनले नै सक्लान । नियतिले जिन्दगीमा पर्दा लगाएन भने एउटा कुरा निश्चित छ त्यो हो – निरनतरता । मनोजको गतिशिलता रोकिंदैन, छेकिदैन–तुफान र आँधीहरुले । रोकिन्थ्यो भने उदाउँदैन थे पुनः उन्नाइस वर्ष पछि । लाग्छ लेखन मनोजको धर्म बनिसकेको छ, संस्कार बनिसकेको छ र आचरण बनिसकेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र सम्म पैmलिएके यिनको कथाहरुको पविेश प्रभावित भने पक्केै छ । नेपाली समाजका ग्रामिण परिवेश निम्न मध्यम वर्गीय पात्रहरुको उपस्थिति, विपन्नता र आर्थिक दुरावस्था भोग्न विवश ब्यक्ति र प्रवृत्ति यिनको कथाहरुमा देख्न र भेट्न सकिन्छ । भाव र सन्देशका दृष्टिले मनोजका कथा सशक्त छन् भने भाष र शिल्पपक्षमा केहि दुर्वलता देखिन्छ । माथि उल्लेखित कमजोर पक्षलाई भोलिका दिनमा सुधार्दै जाने र युग सापेक्ष सिर्जनाको दायरालाई परिमार्जित गर्ने हो भने आशा गरौं यिनको साहित्यिक भविश्य उज्वल हुने छ । अस्तु ।
रचनाकुञ्ज दामन – २, मकवानपुर
सम्पर्क नं. ९८४५१२४७६९
