Skip to content

सत्य कुरा तिमीलाई संगिन भो


सत्य कुरा बोलेँ मैले तिमीलाई तिखो-तिखो संगिन भो
जाली माया अनायासै तिम्रोनिम्ति ख्वै कसरी रंगिन भो

तिमीलाई झुक्याएर तिम्रो मान्छे अन्तै-अन्तै गस्ती गर्छ
तिम्रै आँखा छली-छली तिम्रो मान्छे अरुसँग मस्ती गर्छ
तिमीले पो फाँडी गयौ ढकमक्क फूलबारी वसन्तको
म कसरी हेरी बसूँ हे बैगुनी तिमीमाथि धोका भ’को

सही कुरा सुनाउँदा तिमीलाई पत्याउन कठिन भो
जाली माया अनायासै तिम्रो निम्ति ख्वै कसरी रंगिन भो

मेरो बसमा हुँदासम्म तिमीलाई जोखिमबाट जोगाइरहें
सङ्ग्लो-सङ्ग्लो माया मैले हरदम तिम्रै खातिर बगाइरहेँ
तिम्रो खुशी अरुसँगै जोडिएको देखेपछि हार खाएँ
त्यही खुशी बचाइराख्न तिमीलाई सत्य कुरा जो बताएँ

बिलिन हुन्छु बरू आफैं बैगुनीलाई सम्झाउन सकिन भो
जाली माया अनायासै तिम्रो निम्ति ख्वै कसरी रंगिन भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *