ऊ
देखुञ्जेल पर क्षितिजतिर
एकोहोरो टोलाइरहँदा
डाँडा मुनि ओर्लन लागेको घामजस्तै
अवश्यम्भावी विदाइको
अन्तिम पल पर्खिरहेको
कुनै चीर परिचित अनुहार
फिस्स हाँसेर
मात्र आँखाको चमकले
कुन्नी के हो भनिरहेको
अनौठो आभास पाँउछ
र उछिन्दै अस्ताउँदो घामलाई
अलपत्र छोडेर आफ्नो डेराको ढोकामा
कागजको टुक्रा सम्म आइपुग्छ ऊ
अनि पो बल्ल थाहा पाउँछ
कर्नाली बिरामी परेर
मधेशसम्म ओर्लेको छ ।
ओहो
झल्याँस्स भएको छ ऊ धेरै वर्षपछि आज
घरबेटीकी छोरीले केबल दस आठ ओटा
कोरा कलाबिहीन शब्द कोरेर
कति धेरै कुरा सम्झाएकी छ उस्लाई
मटारे, कसारे र अमौरी खोला
चन्द्रे, रमेश, भागिराम र सद्दाम
ममतादिदी, पार्वतीदिदी, शर्मिला र बाटू
टोपी, घडि, साइकल र बाको मेडिकल
सबैसबै बाँचेको थियो उस्ले कुनै दिन
कहिले बालसुलभ बिजाँइ गरेर
कसैलाई हसाएको थियो, हासेको थियो
कहिले बालसुलभ बिजाँइ गरेरै
कसैलाई रुवाएको थियो, रोएको थियो
आज मेडिकल कलेजको बेडमा भर्ना भएर
प्यारलाइसिसले इन्तु न चिन्तु भएका बा
चिन्तै चिन्ताले थलिएकी आमा
छल गर्नै नसकिने यथार्थ ब्लुज बनेर
आँखा अगाडि सचित्र नाचिँरहदा
कर्नालीको बिम्ब बनेको छ वृषवहादुर ।
अमौरी खोलाको मुहान टेक्ने
बुनिरहेको बेला उसले सपना
एक थोपा खोप नपाएर पोलियो लाग्यो चन्द्रेलाई
मेनिन्जाइटिसले थलिएकी ममतादिदी
जिउँदै गाडियो उसका बालाई उपचार गर्नै नदिएर
त्यति बेलैदेखि बिरामी थियो
कर्णालीको पुच्छारमा बाँचिरहेको मधेश
जुन उसले बाको मेडिकलबाट चोरेर दिएको सुई
भ्यागुता र गोलभेँडामा रोपेर
खुट्याउन सक्दैनथ्यो रमेशले
सक्दैनथ्यो निको पार्न
जाली सर्टिफिकेट धारी सद्दामको सापटी सुईले पनि
सडक सर्दै जाँदा सर्ने बजारमा
जाली दुनियासँग पौठेजोरी खेल्न नसकेको
उक्त रक्तचापको सिकार डाक्टर हर्षबहादुर
आफ्नै छोरी पार्वती र छोरी जस्तै बाटुले छोडेपछि
घायल मुटु लिएर छायलै छोडिदिन्छन् कटासे ।
कर्नालीको किनारै किनार
उक्लेको थियो ऊ मुहानसम्म
जरीलालको साथ लागेर
सात दिनसम्म हिडेको थियो
आफ्नो माटो टेक्नुपर्छ भनेर
आफ्नो माटो चिन्नुपर्छ भनेर
त्यही कालीकोटको चट्टानले फलामे ढोका तोडेर
पसेको थियो ऊ धेरै अघि
सपनाको खोजीमा सपनाको शहर
भन्दैन ऊ तर
सपनामा हराएको विपनाको काहानी
अहिले आँखा अगाडी मुढाझैँ पल्टेको
विपना त हो
सारा पिडा आफै बोकेर
अरुको लागि बाँचिदिएझैँ
अब बाच्न अस्विकार गर्दै छन् उसका बा
जीवनबाट मुक्तिको याचना गरिरहेका छन् हाय !
झलझली सम्झेको छ उसले आज
आर्मीको बुटले बन्द गरेको बाको प्यारो हार्मोनियम
मुक्तिको लागि भनेर जङ्गल पसेको सखी मन्दिरे
र कर्नालीको माटो टेकाउने जरीलाल
जो कसैको नजरमा आतङ्कारी बनेर समातियो
र जाली मुठभेडमा हताहत भयो
कसरी चिन्न सकोस् उसले
बिरामी युगको त्यो बिरामी व्यबस्था
जहाँ पुरै कर्नाली उसको बा जस्तै
प्यारालाइसिस भएर थलिएको छ
त्यसले त ऊ घोरिएर सोचिरहेको होला
युगौँदेखि आधा मात्रै बाँचेको कर्नाली
आफ्नै कथा भित्रको पिडामयी ग्ल्यामर
‘कर्नाली ब्लुज’को अर्थ के होला ?
