Skip to content

बिरानु बनेको शहर


बिरानु बनेको शहरले रुवायो
अधिक झाँगिएको रहरले रुवायो

सधैँ उर्लिराख्ने खुसी प्रेम छर्दै
नजरमा घुमेको लहरले रुवायो

चढी पूर्व लाली मनै लट्ठ पार्ने
मधुर मिरमिरेको पहरले रुवायो

चखेवा चखेवी छुटाएर जोडी
निठुरले गरेको ठहरले रुवायो

रिसाएर सबको गलत सोच बढ्दै
मनैमा फुलेको जहरले रुवायो

वियोगी बनेरै दिवस काट्नु पर्दा
अभागले दिएको कहरले रुवायो

(भुजङ्गप्रयात छन्द)
ISS ISS ISS ISS

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *