म लेख्दैछु बाँचेको खबर ।
मेरो जीवनका साक्षी बसेकाहरू
तमसुक देखाउँदै
तँ जिउँदै छस् भन्नुहुन्छ
मैले कसरी नपत्याउँ
चिमोट्दा दुःख्छ
घाउ लाग्दा रगत आउँछ
आशा निराशा छन उत्तिकै छरपष्ट ।
निधारमा रेखाहरू मुजा पर्दैछन्
थाहा नपाए झैं गर्छु
कपाल सेतो हुँदैछ
कालो रंग पोतिहाल्छु ।
एउटा हरियो पात
पहेंलो भएर खस्न खोज्दैछ
म थोरै भएनी मर्दैछु
त्यो हेक्का राख्न चाहान्न ।
खुल्ला नभने पनि
म चाहन्छु कहिल्यै नमर्न
मेरै हो यो संसार ।
माटोले छिट्टै रगत माग्छ
हावाले मेरो स्वास खोस्न खोज्छ
मेरो आलो रगत
मेरो आफ्नो स्वास
किन दिन्छु म
म बाँचेर
ठेस पुर्याएको छु भने
कसैलाई कुल्चिएको छु भने
ए मेरी आमा
मेरो दुर्दसाको ओखती गरीदिनु
गोली ठोकिदिनु मलाई
संङ्गीन घोचिदिनु मलाई
वा बिष घोलेर पिलाइदिनु ।
मलाई मृत्यु दिने अधिकार
केबल तिमीलाई छ ।
अन्य मृत्यु स्वीकार्य छैन
मलाई आफ्नै मृत्यु चाहिन्छ ।
बाँच्नुुको आडम्बर छैन मसँग,
मेरो जीवनको रौनकता
मृत्युको भयानकतासँग फरक छैन ।
तर
हेर्नुहोस् त परम मित्रहरू !
थोरै थोरै म आँफैं मर्दैरहेछु
थाहै नपाई गल्दै रहेछु ।
म बाँच्दै मरेको रहेछु
म मर्दै बाँचेको रहेछु
तर म जीउँदै रहेछु
मृत्युको प्याला पिउँदै रहेछु ।
नारायण चन्द्र घिमिरे, लमजुङ्
हाल : दोहा
