Skip to content


तिमीले हत्केलाहरूमा
भाग्य रेखा खोजे झैं
धुलो को ड़न्गूरमा खसेको
सियो खोजे झैं आफ्नु देश खोज्यौ
सुकुलमा देश खोज्यौ ।
भुटेका मकैहरूको स्वादमा देश खोज्यौ
पस्किएको आधा थालमा देश खोज्यौ
आधा ढाकिएको आंगले देश खोज्यौ
भत्किएको गुँडमा आँफुलाई खोज्यौ
त्यो मुसल धारे झरीमा
भेल- बाडीमा बग्दै देश खोज्यौ
खडेरीहरूमा त्यो बगरमा देश खोज्यौ
पटक पटक को त्यो कहाली लाग्दो ज्वाला भित्र
किस्ता किस्तामा देश खोज्यौ
मस्तिष्कहरूमा बिगत ओछ्याएर
परेलीको मझेरीमा कुलो कुदाएर
के सपनी के बिपनी प्रत्येक पल देश खोज्यौ
सीमाहरूका खम्बा उखेलेर देश खोज्यौ
बूटहरूले उठ्न दिएनन
ती झुपडीहरूमा खुम्चिएर भक्कानिएर
पटक पटक देश खोज्यौ
कहिले त्यसैलाई कान्ला भिर सम्झदै
कहिले हल गोरु गाई अनि बगैंचा खोज्यौ
सपनीहरू निद्रासँग साटेर देश खोज्यौ
भक्कानिएर रुँदै शूल त्यो रोपेर मुटुमा
प्रत्येक श्वास प्रश्वासमा देश खोज्यौ
हो ती सीमाहरूले ती सीमाका बन्दुकहरूले
ती अजंगका बूटहरूले
तिम्रो देश भांची दिए तिम्रो भेष मासिदिए

अब – अब
तिमीले खोजेको त्यो देश
तिम्रो मन भित्र छ
त्यो स्वतन्त्रताको सेता परेवाहरू
अब संसारमा पुगेको छ
रतुवा मावा बिरिंग र काली खोलाको त्यो बाटो
कन्काई माइको त्यो घाटको बगर
अब अर्को देशबाट परदेश हुनेछ
तिमीले खोजेको त्यो तिम्रो देश
तिमीले रोजेको त्यो माटो अब धेरै टाढा हुनेछ
अब देश खोज्दा खोज्दै परदेश हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *