‘देशले रगत मागे मेरो बलि चढाउनु ।’
एस. पी. गोबर्धनको मोबाइल टोन हो यो । मोबाइलको टोन बजेको सुनेर एस. पी. सापले डिस्प्लेमा हेर्नु भो । भी आइ पी नम्बर देखेर एस. पी. सापले भने, “हेल्लो, जय नेपाल सर !”
उताबाट अवाज आयो,”एस. पी. साप ! आज भोलि रुकुममा अराजक तत्वहरूले उत्पात मच्चाइरहेका छन् । त्यो उत्पात मत्थर पार्न सक्ने योग्य र होनाहार अफिसर अरु देखिन । त्यहाँ तपाईंको अत्यन्तै खाँचो छ ।”
” … धन्यवाद मन्त्रीज्यू ! कम्तिमा हजुरले मेरो योग्यताको कदर त गर्नु भो । तर हजुरको संकेत कतै त्यो आजै मात्र गिरफ्तार हुने झ्यापुल्ले कुण्डले मण्डले हत्या र अपहरण गुन्डागर्दीका नाइके पारसतर्फ त होइन ? जसलाई आजै मात्र बडो मेहनत र सुझबुझकासाथ गिरफ्तार गर्न सफल भएथें ।”
” … एस. पी. साप तपाईंले मान्छे चिन्न सक्नु भएन । त्यो त मेरो मान्छे हो । मेरो मान्छे कहिले पनि हत्या अपहरण र गुण्डा नाइके हुनै सक्दैन, बुझ्नु भो ? त्यो मान्छे अत्यन्तै सोझो र सरल छ । मलाई जहाँ देखे भेटे पनि धनुष्टन्कार नमस्कार गर्छ । मेरो अनन्य भक्त हो त्यो । तपाईंले स्वस्थानी पढ्ने गर्नु भएको छ ?”
” … मलाई स्वस्थानी पढ्ने फुर्सद नै हुँदैन हजुर । के लेखिएको छ त्यसमा ?”
” … त्यसमा लेखिएको छ, ‘हे अग्नि, त्यो मय दानव मेरो अनन्य भक्त हो त्यसलाई केही नगर्नु ।’ … त्रिपुरादह अध्यायमा श्री महादेवले अग्निलाई दिएको आदेश हो यो, बुझ्नु भो ? त्यो पारसलाई तुरुन्त रिहा गरिहाल्नुस् त ।”
” … हुन्छ हजुरको जो आदेश । तर हजुरको अनन्य भक्तले प्रसाद पनि चढाउँछ होला । त्यो प्रसाद हामीले पनि चाख्न पाउँछौं कि हजुर ?”
