“विश्व शान्तिका लागि आˆनो जीवन बलिदान गर्ने हाम्रो बहादुर साथीहरूप्रति स-सम्मान गर्वले शिर झुकाउँदै प्रण गरौँ, शान्ति स्थापना गर्ने महान् यात्रामा निर्भीक भएर निरन्तर अघि बढिरहनेछौँ ।” फोर्स कमाण्डरले करुणा र साहस भरिएको स्वरमा प्रतिबद्धता व्यक्त गर्दै उपस्थित सबैमा उत्साह भर्ने प्रयास गर्यो ।
आˆनो मन्तव्य सकेर पाँच जनाको पार्थिव शरीर रहेको काठको बाक्सातर्फ सरासर अगाडि बढ्यो । अन्तिम श्रद्धाञ्जलिका लागि जम्मा भएका सबै शान्ति मिसनका कर्मचारीहरू उनको पछिपछि लागे ।
म अलि वर पर्खालको आडमा उभिइरहेँ । बिहानको एघार बजेको थियो । चर्को घाम र तातो हावाले सबैको अनुहारबाट पसिना झरिरहेका थिए । जति नै पसिना बगे पनि कसैले गर्मीको पर्वाह गरेको देखिँदैनथ्यो ।
शवहरू रहेको बाक्सानजिकै पुगेर संयुक्त राष्ट्रसङ्घ र अपि|mकन युनियनको तर्फबाट फोर्स कमाण्डरले एकएक गरी सम्मानपूर्वक पार्थिव शरीर रहेका बाक्साहरूमाथि दुवै संस्थाको झण्डा ओढायो ।
हामी सबैले शोक सलामी अर्पण गर्यौँ । विगुलले नमिठो गरी शोक धुन बजाउन सुरु गर्यो । धुनले म स्तब्ध बनेँ । मेरो आˆनो पि्रय आफन्तजनको मृत्युमा भन्दा पनि बढी पीडाबोध भयो । शोक धुन मेरो मिल्ने साथी ओसेगा जुलियसको लागि बजिरहेको थियो ।
एकाएक मलाई ओसेगाको सम्झनाले बिच्छिप्त बनायो । मैले विश्वास नै गर्न सकिनँ कि हिजो दिउँसो मात्र हाँस्दै गाडीबाट हात हल्लाउँदै गस्तीमा गएको ओसेगा आज त्यो बाक्सामा बन्द भएर घर र्फकदैछ । उसको घर-परिवार र उसकी बूढीआमालाई सम्झेर मनमा कहालि लागेर आयो । बारम्बार उसको बान्की मिलेको कालो मायालाग्दो अनुहार मेरो मस्तिष्कमा नाचिरहर्यो ।
मभित्र उसलाई श्रद्धाञ्जलि दिन उसको पार्थिव शरीर रहेको ठाउँसम्म जाने साहस भएन । खुट्टा लल्याकलुलुक र जीउ फतक्क गलेजस्तो भयो । फोटो खिच्ने जाँगर पनि चलेन । सबैका अनुहारमा एकएक गरी पढिरहेँ शोकका भावहरू । मलाई थाहै भएन कतिखेर बग्न थालेछ पसिनासँगै मिसिएर मेरो गालाबाट आँसुको बाढी Û
सुडान बसाइको यो चार महिनामा सायद ओसेगा नै मेरो एक्लो विदेशी मित्र जसले हरेक दिन बिहानको भेटमा नेपाली भाषामा “नमस्ते साथी” भनेर सम्बोधन गर्ने गर्दथ्यो । वास्तबमा आˆनो देश र भाषाप्रतिको मोह विदेशमा बस्दा अनुभव हुँदोरहेछ । उसको जवाफमा म पनि त्यसरी नै युगाण्डियन भाषामा फर्काउँथे- “वासुजे वत्या ।”
बिहानको भेटमा सुखपूर्वक र सुरक्षित रात कटेकोमा खुसीले एकअर्कासँग अँगालो माथ्र्यौँ । उसको अँगालोमा एकदमै हार्दिकताको आभाष हुन्थ्यो । सायद उसको मप्रतिको अनुभव पनि त्यस्तै हुनुपर्छ जस्तो लाग्दथ्यो । मरुभूमिमा पानीको थोपाथोपाको महìव भएजस्तै आˆनो भन्ने र आफूलाई माया गर्ने चरोमुसो नभएको यो विरानो बस्तीमा ओसेगाको आत्मीयताले म विस्तारै अपि|mकन भूमिमा रमाउने प्रयत्न गर्दै थिएँ ।
उसलाई भेटेपछि कालाहरूप्रति लाग्ने गरेका असभ्य, निर्दयी र अव्यावहारिकजस्ता सबै आरोपहरू मित्थ्या सावित भएको थियो मेरो सोचाइमा । के मान्छेको मन, ऊ भित्रको करुणा र उसको विचारलाई उसको छालाको रङ, उसको जात र उसको नागरिकताको आधारमा तौलन मिल्छ ? गोरा छाला हुनेहरूमात्र विद्वान् र मानव अधिकारका पक्षपाती हुन् भन्ने भ्रम पालेका मान्छेहरूका लागि ओसेगा एउटा उदाहरण नै थिए मण्डेला र कोफी अन्नानहरूजस्तै । हो ऊ कालो थियो तर मैले उसलाई कहिल्यै कालो देखिनँ । उसको मन कपासजस्तै सेतो र नरम थियो । उसको विचार आकाशजस्तै खुला र हिमालजस्तै स्वच्छ थियो । राम्रोको निरपेक्ष परिभाषा हुनै सक्दैन । राम्रो भन्नु सायद मन पर्नु हो, मन परेको चिज सबै राम्रो हुन्छ ।
जति नै कामको बोझ भए पनि ओसेगा र म बिहानको खाना खाने समयमा सधैँ साथै हुन्थ्यौँ । ऊ गोरुको मासु निकै मीठो मानेर खान्थ्यो भने म कुखुरा र टर्कीको मासु हुँदा रमाउँथेँ । खाना खानको लागि छुट्याइएको दुई घण्टामा उसको र मेरोबीच धेरै कुराहरू हुन्थे । म धेरै मेरो देशको बारेमा कुरा गर्न रुचाउँथेँ । ऊ मलाई उसको देशको राजधानी कम्पाला डुलाउने इच्छा प्रकट गर्दथ्यो । उसले युगाण्डाको कुरो गर्दा सानो छँदा पढेको दादा इदी अमिनको हिंस्रक कथा र सुन्दर भिक्टोरिया तालको सम्झना उत्रन्थ्यो मेरो मस्तिष्कमा ।
“उत्तम, म यो मिसनबाट फर्केपछि कमपाला नजिकै एउटा सानो घर किन्नेछु र मेरी बूढीआमा, श्रीमती र छोराछोरीहरूलाई नयाँ घरमा सार्नेछु । त्यसदिन मेरो जीवनको सपना पूरा हुनेछ । मेरी बूढीआमाको मुहारमा हाँसो हुनेछ र मेरा छोराछोरीहरू राजधानीका राम्रा स्कुलमा पढ्नेछन् ।” उसले एकदिन खाना खानेक्रममा आˆनो भित्री मनको कुरा खोलेको थियो ।
“किन तिमीसँग अहिले आˆनो घर छैन र Û” मैले जिज्ञासा रोखेको थिएँ ।
“सायद तिमीलाई थाहा छैन, हाम्रो मुलुक जति सुन्दर छ त्यति सम्पन्न छैन । सरकारले राम्रो व्यवस्थापन गर्न सकेको छैन । राजनीतिक नेतृत्वका मान्छेहरू सत्ता टिकाउने खेलभन्दा अरू सोच्दैनन् । त्यसैले एउटा प्रहरी अधिकृतको जागिरले आठजना छोराछोरीको पठनपाठन र अन्य कुराहरूसमेत पुर्याउन निकै गाह्रो पर्छ । अझ घर बनाउने कुरा त सोचाइ भन्दा परको कुरा हो । मैले छोरोछोरी पढाउन बर्सेनि ऋण लिनुपर्छ । अभावकै कारण मेरो परिवार कम्पालादेखि धेरै टाढा रहेको मेरो गाउँको घरमा बस्छन् । मेरी आमा र श्रीमतीलाई मैले बोझबाहेक कहिल्यै सुख र सुविधा दिन सकेको छैन । अल्लाहको कृपाले योमिसन आउन पाएँ । अब मिसनबाट फर्केपछि म आˆनो परिवारलाई सुखको दिन देखाउनेछु । मेरो छोराछोरीको भविष्य उज्ज्वल बनाउनेछु ।” उसले गम्भीर मुद्रामा भरोसापूर्ण योजना सुनाएथ्यो ।
आˆनो र परिवारको सुखद भविष्यको कल्पनाले उसको अनुहारमा खुसीको लाली तैरियो । मैले उसलाई यति उत्तेजित र खुसी कहिल्यै देखेको थिइन । उसमा देखिएको प्रसन्नताले मलाई भित्रभित्रै प्रफुल्लित बनाएको थियो ।
सधैँ केही न केही बोझले थिचिरहेजस्तो, कुनै न कुनै पिरले सताइरहेजस्तो एकोहोरो काममा जोतिइरहने उसको स्वभावले धेरै पटक मलाई संवेदित तुल्याएको छ । उसको यस्तै बानी देखेर उसको एकाग्रताबाट बाहिर निकाल्न म बारम्बार विभिन्न बाहाना बनाएर उसको टेबुलमा पुगिरहन्थेँ । मेरो निरन्तरको बोलाइ र ऊप्रतिको निकटताले गर्दा ऊ पनि मसँग कुरा गर्न रुचाउने भइसकेको थियो ।
“ओसेगा Û सुख र दुःख त हरेक मान्छेलाई हुन्छ तर दुःखमा पनि हाँस्न सक्ने मान्छेले नै जीवनको सही उपभोग गर्न सक्छ र सफल मान्छे बन्न सक्छ । यो युद्धभूमिमा कोही आˆना छैनन्, त्यसैले सबैथोक भुलेर यहाँ हामी हाँस्ने प्रयास गर्नुपर्छ । आफूभित्रको खुसीलाई खोज्नुपर्छ । हाँस्दा मान्छेहरू कति राम्रा देखिन्छन् हाम्रा हिमालहरूजस्तै ।” मैले भित्तामा टाँसेको सगरमाथाको पोस्टरलाई देखाउँदै हाँस्ने आग्रह गरेँ ।
ऊ नतमस्तक बनेर सगरमाथाको सुन्दर तस्बिर हेर्न मस्त रहृयो । “क्राउन अक द वल्र्ड” लेखिएको त्यस तस्बिरमा धेरै चुचुराहरूका सुन्दर फोटाहरू थिए र सबै चुचुराहरूमा तिनीहरूको उचाइ लेखिएको थियो । मैले त्यसैदिन मात्र त्यो पोष्टर त्यहाँ टाँसेको थिएँ । हिमालको फोटो हेदर्ैै उसले भनेको थियो- “अहा Û कति राम्रा हिमालहरू, तिम्रो देश त कति सुन्दर रहेछ, अफसोच हामीसँग यस्ता हिमालहरू छैनन् ।”
उसका हरेक कुराहरू अभावतर्फ लक्षित हुन्थे । सायद जीवन अभाव नै अभावको राजमार्गबाट गुज्रेकोले पनि उसमा त्यस्तो सोचाइ आएको हुनसक्छ ।
“ओसेगा हामीसँग पनि तिम्रोजस्तो भिक्टोरिया लेक छैन नि”- उसको कुराको जवाफमा मैले तत्कालै जवाफ फर्काएको थिएँ ।
“साँच्चै यसरी खुलेर हाँस्दा तिमी कस्तो उज्यालो- देखिन्छौ, यी गोराहरूभन्दा पनि उज्यालो ।” मैले उसलाई अझै उत्तेजित पार्ने मनसायले उसको प्रशंसाको पुल बाँधेको थिएँ ।
गोराहरूको प्रसङ्ग उठ्दा ऊ अलि फरक ढङ्गले प्रस्तुत हुन्थ्यो । गोराहरूमा रहेको ज्ञान र नयाँ प्रविधि माथिको पहुँचलाई सहर्ष स्वीकारे पनि कालाहरू तुच्छ र असभ्य ठान्ने उनीहरूको मानसिकताप्रति निकै आक्रोश पोख्थ्यो ।
“हेर उत्तम, यी गोराहरू, अझै पनि कालाहरूलाई मान्छे ठान्न गाह्रो मान्छन् । कालाहरूलाई सधैँ दास बनाएर राख्न चाहन्छन् । अनि उनीहरू नै मानव अधिकारका बारेमा ठूला कुरा गर्छन् । हिजो हामीले खाना खाने बेलामा मेरो टेबुल खाली हुँदाहुँदै परिरहेको अर्को टेबुलमा बस्न गएको गोरालाई देख्यौ होइन ? तिमी सहजै अनुमान लगाउन सक्छौ उनीहरूमा हामीप्रति रहेको मानसिकता ।” उसले आˆनो मनमा रहेको गोराहरूप्रतिको तितो ओकल्यो ।
“खै मैले त त्यस्तो केही सोचिन । कतै तिम्रो मानसिकतामा मै त्यस्तो भावना भएर पो हो कि ? नत्र मण्डेला र कोफि पनि काला त हुन्, उनीहरू कुन गोराहरू भन्दा तल देखिन्छन् र ।”
मेरो कुराले ऊ एकैछिन चुप बस्यो । यस्ता कुराहरूमा बढी कुरा गर्नु उचित नहुने देखी कुरालाई अन्तै मोड्ने अभिप्रायले म पुन बोलेँ- “ओसेगा तिमी त एक महिनामा मिसन सकेर घर र्फकदै छौँ । तिमीलाई स्वागत गर्न कम्पाला आइपुग्नेछिन् तिम्री बूढीआमै, श्रीमती र छोराछोरीहरू । सोच्दा पनि कति खुुसी लागेर आउँछ तर के गर्ने मेरो त अझै दस महिना बाँकी छ यो मरुभूमिको गर्मीसँग लड्ने दिन ।”
मेरो कुराले उसको कालो अनुहारमा खुसीको चमक तरङ्गयिो । उसले मेरो हातमा बिस्तारै समात्यो र मायालु नजरले मेरो अनुहार नियाल्दै बोल्यो- “उत्तम, म सानो छँदै मेरो बुबा बित्नुभयो । मलाई मेरो बुबाको अनुहार कस्तो थियो थाहा छैन । बुबाको मृत्युपछि आमाले दुई/तीन हुँदै चार जनासँग बिहे गरिन् । म पनि आमासँगसँगै पछिपछि लागेँ । अफसोच, मेरी आमाले कुनै पनि लोग्नेबाट सुख पाइनन् । आमा धेरै पछिसम्म पनि मेरो बुबालाई सम्झेर रोएको याद छ मलाई । आमाले धेरै दुःख गरेर मलाई पढाइन् र दुनियाँसँग लडेर खान सिकाइन् । त्यसैले मेरी आमालाई म संसारभरको सुख दिन चाहन्छु । मेरी आमा, जसले मेरी श्रीमती र मेरा छोराछोरीहरूलाई ममताको छहारी बनेर सत्मार्गमा लाग्न हरदम प्रेरणा दिइरहिन् । त्यस्ती ममतामयी आमाको काखमा पुग्न म हतारिइरहेको छु । उत्तम Û सायद मेरी आमाको बुढेसकाल अब राम्ररी बित्नेछ । मेरी आमाका आँखाबाट अब कहिल्यै आँसु बग्न दिने छैन म ।”
ऊ अत्यन्तै दृढ र भावुक बन्दै आˆनो जीवन कहानी बताइरहेको थियो । ऊसँगै मेरा आँखा पनि भरिएर आए । एउटा असलश्रोता बनेर उसका संवेदनाहरू सुनिरहेँ ।
उसको कुराले त्यतिखेर मेरो छातीभित्रको कुनै कुनामा रक्त सञ्चार बन्द भएको थियो । म सोच्दै थिएँ- यदि मेरी आमा रहनुभएको भए म पनि उसलेभन्दा बढी माया गर्ने थिएँ । ऊ कति भाग्य मानी छ, कमसेकम उसले देश फर्केपछि आमाको न्यानो काख त पाउनेछ । आमाको काखभन्दा न्यानो ठाउँ संसारमा कहाँ हुन्छ र Û त्यो त आमा हराउनेहरूले अनुभव गर्ने कुरा हो । ओसेगाको मातृप्रेमले मभित्र मातृ वियोगको भुइँचालो गइरहेको थियो । म भित्रभित्रै रोइरहेको थिएँ ।
दुःखको पहाड चढ्दाचढ्दै आˆना स्वर्गीय सपनाहरूलाई कतै अनकन्टारमा मिल्काएर मृत्युको बाटो हिँडेकी मेरी आमाको दुःखद अवसानको सम्झनाले मुटु चिरिएर आयो । बिर्सन खोजेको पुरानो घाउको खाटा फेरि उप्किएर आयो । ओसेगाले जस्तै मिसन सकेर र्फकंदा आˆनी आमाको मुख हेर्न नपाएको बाह्र वर्षअघिको पीडा फेरि उर्लेर आयो मनको शान्त तलाउमा । आˆनो आस्थाको पहाडमा पहिरो जाँदा एउटा ढुङ्गासम्म पन्छाउन नपाएको त्यो दुःखको क्षणका स्मृतिले जीवन जङ्गलबीचमा बाटो हराएर भौँतारिएको यात्रीजस्तै अनुभूति भयो । म आफैँभित्र हराएँ धेरैबेर ।
“उत्तम‼Ûआज मेरो लामो गस्तिमा नाम परेको छ, छाडिदेउ यी सब कुराहरू, भोलि फर्किएर आएपछि सँगै खाना खाउँला । तिमीले भनेजस्तै म आजदेखि सधैँ हाँस्ने प्रयत्न गर्नेछु तर मलाई हाँस्न सिकाउने मान्छे आफैँ हास्न बिस्र्यौजस्तो छ नि ।” उसले ठट्टाको शैलीमा प्रश्न तेस्र्याँदै लामो हासो हाँस्यो । मैले पनि हाँसेको बाहाना गरेँ ।
“अझै तिमीमा तिम्रो हाँसो आएन ।” उसले फेरि मलाई जिस्क्यायो । मैले फेरि हाँस्ने प्रयत्न गरेँ । म कति हाँस्न सफल भएँ, मलाई नै थाहा भएन तर उसको मुहारमा देखिएको उन्मुक्त हाँसोले मनमा केही आनन्द मिल्यो । म उसको हाँसोमा हाँसो मिलाउने कोसिस गरिरहेँ ।
हेर्दाहेर्दै उत्तरतर्फको गेटबाट सातवटा गाडीहरू लहरै आएर नजिकै रोकिए । ऊ झोला, स्लिपिङ्ग ब्याग र रेडियो सेट बोकी गाडीमा चढ्यो र झ्यालबाट हाँस्दै हात हल्लायो मैले पनि त्यसैगरी हात हल्लाएँ । सबै गाडीहरू पूर्वतर्फ लागे । एकैछिनमा मेरा आँखाबाट ओझेल परे सबै गाडीहरू । केहीबेरसम्म म गाडीहरू गएका दिशातर्फ हेरेर टोलाइरहेँ ।
सुडान आएपछि मैले ऊ जति मिलनसार साथी अर्को भेटेकै छैन भने पनि हुन्छ । विदेशमा आˆनो दुःख-सुख साट्ने साथी भेट्नु पनि मरुभूमिमा पानी भेट्नुजस्तै नै हो ।
मनमा उसकै कुराहरू खेलिरहृयो । साँच्चै कति फरक छ ऊ अरूभन्दा । मुस्लिम भए पनि कति उदार र खुला छ ऊ । कति लचिलो र बौद्धिक छ । आˆनो अल्लाहप्रति कसैले भन्दा कम आदर गर्दैन । आफूलाई संसारको कुनै मुस्लिमभन्दा कम कट्टर मान्दैन । इस्लाम धर्मप्रति पूर्णत समर्पित छ तर पनि महिलाहरूले बुर्का लगाइ हिँडेको कुराले उसको मन पोल्छ । एरिया कानुन र धार्मिक बन्देजहरूको खुलेर विरोध गर्छ । मुस्लिम पुरुषहरूको सर्वाधिकारबादी सोच र धार्मिक रुढताको विपक्षमा वकालत गर्छ । कस्तो अचम्मको मुस्लिम हो ऊ ? कहिलेकाहीँ मलाई आश्चर्य लाग्दथ्यो तर यसका लागि ऊसँग सयौँ चित्त बुझ्दो तर्कहरू थिए ।
म उसकै बारेमा सोचमग्न थिएँ । साइरन बजाउँदै मेरो अगाडि आइपुगेको अगुवा गाडीको आवाजले मेरो ध्यान गेटतर्फ खिच्यो । अनामिड हेडक्वार्टरको गेटदेखि बाहिर सडकबाट क्याम्पभित्रको कार्यक्रम स्थलसम्म राष्ट्र सङ्घका कर्मचारीहरूको लाइन लागिसकेको थियो । अन्तिम बिदाइका लागि लाइनमा बसेका सबैका अनुहारमा पीडा र त्रासका छायाँहरू स्पष्ट देखिन्थ्यो ।
अगाडि दुईवटा अगुवा गाडी, बीचमा शव रहेको गाडी र पछाडि दुईवटा पछुवा गाडी तैनाथ थिए । सबै शवहरू सम्बन्धित देशतर्फ पठाउन एयरपोर्टसम्म लैजान जम्मा भएका थियौँ हामी । सबै तयारी पूरा भएको सूचनापछि गाडीहरू विस्तारै अगाडि बढ्न थाले ।
म गेटको नजिकै उभिरहेँ । गाडीहरूको रˆतारसँगै क्रमशः सबैले आ-आˆना हातलाई निधारमा पुर्याई अन्तिम सलामी दिए । मेरै अगाडिबाट ओसेगाको शव बन्द भएको बाक्सा राखिएको गाडी अगाडि बढ्यो । मैले उसलाई अन्तिम पटक सलामी अर्पण गरेँ । उसलाई अन्तिम सलामी दिइरहँदा मेरा आँखाबाट बगेका आँसुले छातीका लुगा भिजिरहेका थिए ।
आँखामा हिजो ओसेगाले गाडीको झ्यालबाट हात हल्लाउँदै हाँसेको दृश्य बारम्बार दोहोरिएर आइरहेको थियो । मनभरि उसकी ती बूढीआमै, रेबेका भाउजू र आठवटा लालाभुलाको रुञ्चे अनुहार गढिरहेको थियो । छाती ठूला चट्याङ परेर फाटेकी धरतीजस्तै फाटेको थियो ।
यतिखेर म ती बूढीआमालाई सम्भिmरहेको छु, जो झुप्रो घरको आँगनमा बसेर छोरा आउने दिन गन्दै होलिन् । कानमा ओसेगाकै पीडायुक्त आवाज गुञ्जिरहेको छ- “उत्तम Û अब मेरीआमाको आँखाबाट कहिल्यै आँसु बग्न दिने छैन म । म मेरी आमालाई संसारभरको सुख दिन चाहान्छु ।”
कठै ती बूढीआमै र रेबेका भाउजू । मेरो छाती पोलेर आयो । मलाई ओसेगाको परिवारको भविष्यको चिन्ताले पिरोलिरहेको छ ।
-तीनधारे, गोरखा
