Skip to content

मायामा फसेका चरी


हाम्रो पहिलो भेट
उनी अलिकति लजाएकी थिइन्
उनको अनुहारमा जुन प्रष्ट देखिन्थ्यो
सायद उनले
यो ख्याल गरिन या गरिनन्
तर कता–कता
म पनि लजाएको थिएँ
अलिकति !

यसरी हामी भेट्टिदै गयौं
तर भेट्टिदा
खासै खुल्न नसक्ने हामी
फेसबुकमा भने खुबै खुल्न थाल्यौं
जहाँ हामी
एक–अर्काको इन्टरभिउ लिन्थ्यौं
घन्टौंसम्म
र जहाँ हामी
एक–अर्कालाई लाइक पनि गर्थ्यौं
कहिले स्ट्याटसमा
त कहिले नयाँ फोटो अपलोडमा ।

हामी नजिकिदै गयौं
खाली मनले मात्र होइन
मलाई राम्रोसँग याद छ
केही सुरुवाती भेटहरू
जहाँ हामी बीच
सजिलै एउटा अर्को मान्छे अटाउँथ्यो
तर हाम्रा आजकलका भेटहरू
सायद हावा पनि
हामी बीच मुस्किलले छिर्दोहो ।

विपरित लिङ्गप्रतिको स्वाभाविक आर्कषण
हामी भित्र पनि थियो
अरु मान्छे जस्तै
आखिर हामी पनि त–
उही भगवानकै आविस्कार न हौं !
र त्यसैले
हामी कहाँ फरक हुन सक्छौं र ?
संयोगवस हामी पनि
एक–अर्कासँग सुतेका छौं
आफू शोषित भएको महसुस गरेर
तर भोलि पल्ट
न उनले मेरा बिरुद्घ रिट हालिन्
न त मैले नै त्यसो गरें
यो मावलामा
न उनको गल्ती छ
न त मेरो नै
सायद ! यो प्रकृतिको दोष हो ।

रिसाएर मसित
कहिलेकाहीँ उनी नबोलेपछि
यो मनमा हुने अनौठो छटपटी
र यदि
कहिलेकाहीँ म रिसाए
उनले फकाउन खोज्दा
यै मनमा हुने अनौठो गुदगुदी
हामी सायद दुई किनारा हौं
एउटै मायाले छोइएका
सोचेका थिएनौं एक–अर्काभित्र
यति धेरै समात्तिने छौं
तर ख्यालख्यालमै हामी
एक–अर्काको बानी भैसकेका छौं
अब, कहिलै नसुधृने बानी ।

सुशिल शाह
सम्पर्क नं ः ९८४३५९८८९१
(कुपण्डोल, ललितपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *