घरी घरी कति हान्छौ
यै मुटुमा तिखा छुरा,
आऊ अब नजिकिदै
बजाई हातका राता चुरा ।।१।।
सँगसँगै मित लाउने
तालको साथी डुङ्गा हुन्छ,
ढुङ्गाको भर माटो भए
माटोको भर ढुङ्गा हुन्छ ।।२।।
प्रकृतिको नियम झैँ
गर्ने भए कर्तव्य पुरा,
आऊ अब नजिकिदै
बजाई हातका राता चुरा ।।३।।
प्राण प्यारी सोचिसकेँ
दिलमा चल्ने स्वास भा छौ,
मेरो नस नसमा बग्ने
रगत जस्तै खास भा छौ ।।४।।
ओठमा लाली गाजललाई
कोरी बाटी बनाई जुरा
आऊ अब नजिकिदै
बजाई हातका राता चुरा ।।५।।
सत्य सत्य धरो धर्म
जुनी जुनी चाउँला नि
खोले फाडो जे जे मिल्छ
सँगै बसी खाउँला नि ।।६।।
आजै देउता भाकी भन्छु
बोल्या छैन झुटो कुरा,
आऊ अब नजिकिदै
बजाई हातका राता चुरा ।।७।।
घरी घरी कति हान्छौ
यै मुटुमा तिखा छुरा,
आऊ अब नजिकिदै
बजाई हातका राता चुरा ।…….दर्पण
