पाखाभरि कपासको बिरुवा लगाइएको थियो । कपासको ती बिरुवा फुलेर फक्रदै गरेको अवस्थामा थिए । तिनीमध्ये एउटा सानो भर्खरै फक्रदै गरेको कपास असाध्यै सुन्दर थियो ।

सुन्दर कपास आफ्नो सौन्दर्यतामा मख्ख थियो, अत्यन्तै खुशी र गौरव महसुस गर्थ्यो । रातको शीतको थोपा बिहानीको उषासँगै तिनै कपासमाथि बर्सिँदा कपासमा नयाँ रौनकता छाउँथ्यो । कपास अँझै सुन्दर देखिन्थ्यो ।

प्रकृतिको नियम पनि कति सारै निष्ठुरी रहेछ कुन्नि । कुनै कुनै वनस्पतिको आयु निकै छोटो हुन्छ । भर्खर मात्र फूल बडो संघर्ष गरी बोक्रालाई छिचोल्दै कपासको रुपमा जन्म लिएको थियो । त्यो सुन्दर कपास फक्रेको केही दिनमा किसानले टपक्क टिपेर मुठिभरी पैसा लिएर व्यापारीको हातमा बेचिदियो । व्यापारीले कारखानामा लगेर अर्को व्यापारीलाई बेच्यो । ती सुन्दर सेता कपासहरूलाई मेसिन भित्र राखियो । जब मेसिन चल्यो कपास पेलिए । कतै थिचिए लामो समयको संघर्ष धेरै बेरको दुखाइको सामना गरेर कपास घागोमा रुपान्तरण भए । मेसिनबाट बाहिर निकालिए । त्यही धागोलाई फेरि अर्को मेसिनमा राखियो । अब त्यो धागो रुपी कपास राम्रो राम्रो कपडामा परिणत भए ।

मेसिन बाहिर निस्किए । यति बेला भने कपास खुसी थिए । किनकि उनीहरू कपडाको माध्यमबाट व्यक्तिको लाज ढाक्न न्यानोपन दिन घामपानीबाट जोगाउन सकिने वस्त्रको रुपमा रुपान्तरण थिए । आफू दुख र पीडाको चपेटाबाट निस्केर अरुको काम लाग्ने उपयोगी बस्तु बन्न सकेकोमा कपासलाई गौरव लागेको थियो । केही बेरमै ती कपडा फेरि दर्जी कहाँ पुगे । दर्जीले काट्यो च्यात्यो टुक्रा टुक्रा पार्यो चरम दुखाइको सामना पुन गर्नु पर्यो तिनी सुन्दर कपासलाई । टुक्रिए सिलाइए क्षणिक खुशी तुरुन्तै आसुँमा दुखाइमा मिसिन पुग्यो । कपासलाई नैराश्यता न छाएको त कहाँ थियो र ? दर्जीले सुन्दर सुन्दर पाइजामा बनाएर स साना बालकलाई लगाइदियो । ती बालक खुशीले गदगद् भए । बालकहरू फुर्केको देखेर कपासले आफ्नो सारा दुखाइ बिर्स्यो र बालकको खुसीमा आफ्नो खुसी मिसायो, आफूलाई कपास हुनुमा गौरव गर्यो ।

पाइजामा पुरानो भयो । पुराना कपडा जम्मा गर्ने ठाउमा पुर्याइयो । अर्को मिसिनमा राखिए । फेरि पिसिएर पुराना कपडाले अब कागजको रुप लिएको थियो । तिनै कागजमा दर्शनशास्त्र लेखिए । ज्ञान मुलक पुस्तकहरू बने कुनै धार्मिक पुस्तक बनेर मन्दिरमा सजिए पुजिए । अब फेरि अर्को मिसिनमा पेलिन दर्जीकोमा सिलाइन आवश्यक जहाँ राखिए । त्यहाँबाट कहिल्यै हट्नु परेन निकै खुशी भर कपास मन्दिरमा पुजिन पाउँदा ।

तिनै दर्शनशास्त्र पढेर कैयौ दार्शनिक बने विश्वभरि ज्ञानको सन्देश बाँडे, राजनीतिज्ञ बने, मन्त्री र प्रधानमन्त्री बनेर संसारलाई परिवर्तन गरी विकासका मूल फुटाले । अब तिनै पटकपटक थिचिएका मिचिएका पिसिएका टुक्रिएका कपासकाले बिगतका चोट पीडा सङ्घर्ष सबै भुलेर आफू अमर बन्न सकेकोमा कपास हुनुमा गौरव गर्दै सुख र खुशीको अनुभूति गरे ।

कल्पना पौडेल “जिज्ञासु”
खजुरा बाँके

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “कपास (नीति कथा)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *