एक्लिएको त्यही मान्छे
कुनै अनकन्टार भट्टीमा बसेर
मोलतोल गर्दैछ घडीको घण्टा सुईको ।
आजबाट उसको व्यापार – उज्यालो किनबेचको ।
उज्यालो किनबेच गर्ने व्यापारी ऊ…
दिनहरु सस्तैमा सल्टाइदियो
महिनाहरु पनि बिके
थोक मूल्य पाए वर्षहरुले
तर कुनै रातले पनि मूल्य पाएनन्,
सादा रातहरु रछ्यानमा पुगे,
रङ्गीन रातहरु थन्किए गोदाममा …
व्यापारीमात्र हो ऊ,
तर सर्वशक्तिशाली ।
रातारात… अँध्यारोमै उज्यालो व्यापार फस्टायो
आफू कहिल्यै बिकेन,
आफ्नो केही–कहिल्यै बेच्न चाहेन ।
तर जेजति बिराना थिए उसका
सब एक–एक गरी बिके ।
केही नयाँ
केही फरक र वृहत्त सोचसहित
थन्किएको कुनै एउटा रात निकाल्यो छानेर ।
त्यै रातिदेखि
आफैँजस्तो एक्लो सडकबीचमा
घण्टाघरका सबै सुई बिक्री गर्ने योजना कोर्दैछ ऊ ।
यो किनबेचसँगै बिक्नेछ…
एउटा पूरै शहर,
एक–एक गल्लीहरु,
जहाँसम्म चित्कार पुग्छ घण्टाघरको ।
First published 2013-07-06 12:47:07 +0900
sindhuliya_prakesh@yahoo.com
