सबैले खोजेको धान

एक दिन सुनेँ देशले
नयाँ प्रजातीको धान फलाउँदैछ
राम्रो मल पाएको कारण
फटाफट द्रुतगतीमा यो पलाउँदैछ ।।

आज यो सुनेको आठ वर्ष भो
धानको त व्याड पनि उखेलेको छैन रे
धान त अनौठो रहेछ फल्न समय लाग्ने
यो पाख्रेली मन्सुली बास्मती जस्तो हैन रे ।।

भन्थे यो धानले भोकमरी मेट्छ
बेरोजगारीको बोटलाई मार्छ
खुसी लागेथ्यो सुन्दा
यसले अमेरीकाको अर्थतन्त्र यो देशमा सार्छ ।।

यही डरले हाम्रा छ सय एक व्याडेले
व्याड नै उखेलेर फालीदिएछन्
त्यो व्याडको ड्याङमा त उनीहरूले
हत्या हिँसा बलात्कार र अपहरणको
बिउ पो हाली दिएछन् ।।

देशमा आज खानलाई एक ढिक्का नुन त छैन
कहिले नबन्ने त्यो कानुनको के काम
गहँु मकैको कुरा छोडौँ घुन धरी छैन
महँगामहँगा त्यो सुन्दर सुनको के काम ।।

धानको कुरा धेरै भयो
वाक्क लागी सक्यो होला सुन्न
मेरो त कुरै छोडौँ तपाईँले पनि
छोडि सक्नु भो होला सपना बुन्न ।।

महलका महलमै छन्
सडकका त झन् सडक मै
धान फलाउने सपना देखाउने त
अब जानु पर्छ नरक मै ।।

आज आउला छैन भोली कल्ले देख्या हो र ?
धानधान मन्त्र जप्दा देउता कल्ले भेट्या हो र ?
आज भोली सुन्छु अर्कै कोही आउँदै छ रे ?
सबैले खोजेको धान संबिधान बनाउन धाउँदैछ रे ।।

अब आशा गरौँ उसको नाच नहोस ताल न बेताल
अब चाहीँ याद गर नहोस कछुवाको झैँ चाल
यो धान फलाउने काममा नहोस छ से एकको झैँ हाल
अब विदा हौँ है साथी यो सफल सुरजको जय नेपाल ।।

-सफल सुरज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *