Skip to content


नेपाली समाजमा मानसिक रोगलाई असाध्य रोगको रूपमा बुझ्ने सोच अँझै हटेको छैन। मानसिक समस्या भएकाहरूलाई थुनेर राखिएको वा जेलमा राख्ने प्रपञ्च रचिएको समाचार वेलावेला आउने गरेका छन्। यस्तो अवस्थामा अनुभवी मनोचिकित्सक विश्वबन्धु शर्माले मानसिक स्वास्थ्यका विविध आयाम शीर्षकको पुस्तक प्रकाशित गरेर सर्वसाधारणलाई मानसिक रोगको इतिवृत्त बताउँदै अस्पताल वा क्लिनिक नपुगी पनि लाभान्वित हुन सजिलो बनाइदिएका छन्।

कसैको घरमा मानसिक समस्या भएको व्यक्ति हुनुलाई हामीकहाँ त्यो परिवारको मात्र समस्या मानिन्छ। त्यसमाथि मानसिक रोगलाई नकारात्मक रूपमा बुझ्ने प्रवृत्तिका कारण कसैलाई त्यस्तो समस्या भयो भने परिवारले भरसक लुकाउँछन्। डा. शर्माको पुस्तकले मानसिक रोगलाई सही रूपमा बुझ्न मात्र हैन, यसको कारण, यसबाट जोगिने काइदा र रोग लागिसकेको भए निको भएर सामान्य जीवनमा फर्किने उपायहरू पनि सुझाएका छन्।

पुस्तक मानसिक स्वास्थ्यका विविध आयाम
प्रकाशकः साङ्ग्रिला पुस्तक प्रा.लि.
लेखकः डा. विश्वबन्धु शर्मा
पृष्ठः १५६+१६
मूल्यः रू.१९५

पछिल्लो समयमा राजनीतिक अस्थिरता, चुलिंदो बेरोजगारी र ज्ञानको अभावका कारण पनि समाजमा मानसिक समस्या बढिरहेको छ। धेरै विद्यार्थी घर र विद्यालयबाट आउने दोहोरो मानसिक दबाबका कारण ‘डिप्रेसन’बाट पीडित हुँदैछन्। तर, नेपाली समाजका अधिकांश सदस्य सामान्य ‘डिप्रेसन’ देखि कडा खालका मानसिक समस्या साइकोसिस र बालबच्चामा शारीरिक–मानसिक वृद्धि रोकिने तथा सवारी हाँक्न नहुने मानसिक अवरोधसम्मका समस्याबारे अनभिज्ञ छन्, जसबारे पुस्तकले आद्योपान्त बुझाएको छ।

पुस्तकले घरमा बसी–बसी लक्षणहरू बुझेर रोग पत्ता लगाउन सहज बनाउँछ। कुल नेपालीमध्ये १५ प्रतिशत कुनै न कुनै किसिमको मानसिक समस्याबाट पीडित भएको पुस्तकमा उल्लेख छ। विभिन्न समयमा गरिएका अध्ययनहरूबाट निकालिएका यी तथ्यहरू हाम्रो स्वास्थ्य कता जाँदैछ भनेर झस्काउने खालका छन्। पुस्तकका अनुसार, अहिले सात लाख नेपाली कडा खालका मानसिक समस्याबाट पीडित छन् भने ४० लाखमा सामान्य खालको मानसिक समस्या छ।

लामो समय भोको बस्दा रगतमा चिनीको मात्रा घटेर मस्तिष्क प्रभावित हुन थाल्छ। रातभर अनिंदो बस्दा पनि दिमागमा असर पर्छ। मानसिक उपचारको समयमा त भोको र जागा बस्नु हुँदैहुँदैन। त्यस्तो वेला धेरै दौडधूप र मनमा तनाव लिनु पनि हुँदैन।

निको भए जस्तो लागेर बीचमै औषधी छाडिदिंदा कडा खालको मानसिक रोग भएर उपचार गर्न पनि कठिन हुने किताबले बताउँछ। जाँड–रक्सी, गाँजा–भाङ र चरेस जस्ता अम्मल पनि मानसिक रोगीका लागि विष हुने लगायतका अनेक जानकारीले भरिएको यो पुस्तकबाट जो–कोही लाभान्वित हुने देखिन्छ।

मीना शर्मा

हिमाल खबरपत्रिका
२३ मंसिर २०७०
8 December 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *