Skip to content

कथाभित्रका मान्छेका मनका रङ्गहरू


संविधानसभाको निर्वाचन भएको निकै काल वित्दा पनि देशमा विद्यमान जल्दाबल्दा समस्याहरु पाखा लाग्न सकेका छैनन् । बल्लतल्ल सम्पन्न भएको संविधानसभाको निर्वाचनको पहिलो बैठक जेठ १५ गते बस्यो । त्यस बैठकले अढाई शताब्दी पचाएको राजसंस्थालाई विदाई गर्यो तर दरबारको मान्छेलाई घरमा हैन दरबारमा नै ठाउँ दिएर बसायो । जे भए पनि राजसंस्था इतिहासमा सीमित भइसकेको छ । यसकै लागि १० बर्षे जनयुद्ध भो, १९ दिने वसन्त आन्दोलन भो र दुई, दुई पटक मधेस आन्दोलन चर्कियो । हज्जारौँ ज्ञातअज्ञात शहीदको बलिदानी भयो । यी हरेक युद्ध र आन्दोलनहरु हुनुको एक प्रमुख कारक तत्व राजसंस्था र ज्ञानेन्द्र शाहको अहंकार एवं अन्य जिम्मेवार व्यक्तिका जिम्मेवारहीन कार्यहरु नै जिम्मेवार छन् । अब सबै वर्ग हातमा हात मिलाएर अघि बढ्नु आवश्यक छ । कमल थापा, टी गिरीहरु पनि मूलधारको राजनीतिमा हृदय खोलेर आउँनुपर्छ । युद्धरत् भूमिगत शक्तिहरुले यस महान् उपलब्धीको हिंस्सा लिन अग्रसर हुनैपर्छ । मूलधारको राजनीतिमा हृदय खोलेर आउँनुपर्छ र नेपाल र नेपालीको कल्याणको मार्ग पहिल्याउँनुपर्छ । अबको युद्ध माओवादी, कांग्रेस, एमाले वा माले अर्थात् गिरिजा, प्रचण्ड, बाबुरामसँग हैन हेपाहा प्रवृतिसँग हुनुपर्छ । सामन्ती संस्कारका विरुद्ध जनमत एकोहोर्याउन हुनुपर्छ । अढाई शताब्दीदेखि पछि पारिएको पुरै नेपाललाई सामन्त विरोधी पार्न युद्ध हुनुपर्छ । अब युद्ध खुलमखुल्ला हुनुपर्छ । पूरै नेपाललाई स्वतन्त्र पार्न युद्ध हुनुपर्छ । तर युद्ध विचारको हुनुपर्छ । फूलको होली खेल्ने प्रकारको युद्ध हुनुपर्छ । अब बन्दुकले थान्को लाग्नुपर्छ । अब रगतको होली खेल्ने संस्कार इतिहासमा मात्रै सीमित हुनुपर्छ । यसकै लागि विक्रम सम्बत दुई हजार पैसी साल जेठ पन्ध्र गते अधिकार सम्पन्न संसदले जम्मा पाँच सय चौसीमा पाँच सय साठी मतले गणतन्त्र कार्यान्वयन गर्यो । पूर्व राजा ज्ञानेन्द्र शाहाले भलाद्मी पाराले नागार्जुन दरबार मागे र एक डोको गाली बर्साउँदै जेठ उनन्तीस गते नारायणहिटी छाडे । २०५८ जेठ १९ गते आरम्भ भएको उनको यात्रा जेठ २९ गते पूर्ण रुपले पूर्णविराम लाग्यो । क अक्षर अर्थात् कुलमण्डन शाहबाट शुरुवात भएको नेपालको शाहवंशीय परम्परा ज्ञ अर्थात् ज्ञानेन्द्र शाहमा गएर टुंगियो । कथाभित्रका मान्छेका मनका रङ्गहरु काइदाका छन्, बुझेर बुझिनसक्नु नै यथार्थ हो । अर्को एक प्रसंग जोड्दछु–

नेपालको एकिकरणको उत्तरार्ध चरणको कुरा हो । आदिकवि भानुभक्तलाई शासकहरुले साह्रै तडपाएछन् । त्यसै बखत कविको मनमा कविता फुरिहालेछ । भोलिवादका वारेमा आदिकवि भानुभक्त आचार्यको कवितांशमा समेत कथाभित्रका मान्छेका मनका रङ्गहरु भेटिन्छन् ।

विन्ती डिठ्ठाविचारीसित म कति गरुँ चुप रहन्छन् नबोली ।
वोल्छन् ता ख्याल गर्याझैँ अनि पछि दिनदिन भन्छन् भोलिभोलि ।
कि ता सक्दिन भन्नू कि तब छिनिदिनु क्यान भन्छन् यी भोलिभोलि ।
भोलिभोलि हुँदैमा सब घर वितिगो बक्सियोस् आज झोली ।

कथाभित्रका मान्छेका मनका रङ्गहरु पर्गेल्ने क्रममा अर्को एउटा प्रसंग छ । राजविराज–९ मा अवस्थित लिटिल फ्लावर मा. वि. प्रा. वि. छँदै एक जना मिस पढाउँने गर्थिन् । उनको नाम लक्ष्मी घिमिरे थियो । संस्थापक पक्ष होस् या अभिभावक वा विद्यार्थी हुन् या स्टाफहरु जोसँग पनि उत्तिक्कै नजिकिएकी र लोकप्रिय भएकी लक्ष्मी मिसको नाम श्रद्धाले लिइने गरिन्थ्यो । लिटिल फ्लावर मा. वि. को इतिहास लेख्दा तत्कालिन अंग्रेजी शिक्षकहरु शशिभुषण दत्त, अभितकुमार चौधरी (पूर्व अंग्रेजी शिक्षक, रामजानकी मावि, मोतिगडा), देवचरण चौधरी (मोतिगडा)हरुको नाम भुल्नु अन्याय हुँन्छ । उहाँहरुसँग पनि कथाभित्रका मान्छेका मनका रङ्गहरु खोज्दा मनग्यै पाइन्छन् । यस पटक भने मिस लक्ष्मी घिमिरेको सानो चर्चा यहाँ सान्दर्भिक ठहर्दछ ।

हे बालाजन हो पढो घरिघरी
विद्या छ अमृत सरी ।
अर्काको घरमा नजाऊ वरिपरि
पढ मिहिनत गरी ।
पढेको चिज डाकुले
घर फोरी लादैन चोरी गरी ।
नपढ्दा हिन भो छोरो यदि भने
के गर्नु माया गरी ।

मिस लक्ष्मी घिमिरेले विद्यार्थीहरुलाई भन्ने गरेको र व्यवहारमा समेत लागू गर्ने गरेको यस श्लोकले जीवनको रंगको प्रतिनिधित्व गर्छ । विद्यार्थीहरुलाई उनले सिकाउने गरेका अर्को गीत पनि उत्तिकै घत लाग्दो छ ।

राम्रो बोल मीठो बोल, फोहोर बोल्नुहुन्न
सफा लाऊ, ताजा खाऊ रोगले छुँदै छुन्न ।
आदर गर ठुलालाई, सानालाई माया
सुगन्ध हौ भविष्यका देशका हौ छायाँ ।

दुःख सुख पचाउँदै हिँड्नुपर्ने यस जीवनमा अर्को स्वस्थ्यबद्र्धक लोककण्ठ अनुसारको श्लोक पनि छ जसको अबलम्बनले रोगले छुँदैछुन्न भनिएको छ । बाह्रै महिनामा उपभोग गर्दा हित हुने लोककण्ठ अनुसारको श्लोकलाई पनि एक पटक दाँजेर हेरौँ ।

भदौका गिठा, असोजका कोसा
कात्तिकको जौतिल, मंसिरका रोटा
पुसको पुसे डल्ला, माघको खिच्रो
फागुनको साखिनु, चैत्रको रायो
बैशाखको खुदो पानी, जेठको गिठा
असारको दुधच्युरा, साउनको खीर
यत्ति खान पाए लाग्दैन पीर ।

वास्तवमा संस्कार नाना थरीका, मनका बहुल पाटाहरुका रुप अनेक थरीका, मान्छेको रङ्ग झनै विचित्र खालका । गल्ती गर्ने शिर ठाडो पार्छ, सही बाटोमा हिँड्नेले शिर झुकाउँनुपर्छ । नहुनुपर्ने काम हुन्छ, हुनु पर्ने हुन्न । यिनैको केन्द्रविन्दुमा मान्छेको रङ्ग देखिन्छ । बीचमै के बनाएर कत्तिखेर हराउँछ त्यो न हराउन बाध्य पार्नेलाई थाहा हुन्छ न हराएकाहरुलाई थाहा हुन्छ । यो चक्र आदिमदेखि छ, हेरौँ कत्तिञ्जेल हुन्छ । कथासँगसँगै गजलका दानाहरु पनि आएका छन् । कतै न कतै मेल खान पुग्छन् । तिनलाई त्यसैका रुपमा स्वीकार्दा अर्थगत होला भन्ठान्छु ।

(१) सुधो जति यहाँ सब बेइमान भो
छलकपट आज सबको इमान भो ।

दिनलाई रात पार्यो जसले हिजो सम्म
जनताको नाम बेचेर ऊ नै महान् भो ।

भ्रष्टैभ्रष्ट नेताको मात्रै कारण हो
लेखाजोखा छैन कति नोक्सान भो ।

भाइ भाइ, दिदी–दिदी हानथापले
रगतैरगत मुलुकको संविधान भो ।

हराए आज इमान्दार नेतानेतृहरू
अर्थहिन जनताको मतदान भो ।

कसो कसो गोकुलजी ! मन मडारिएको छ मेरो । बोली तपाईंसँग छ तर मन भने निकै टाढा चुरे पर्वतको फेदीतिर छ । अहिले म तपाईंसँग अन्तर्वार्ता दिन उपस्थित छु । मलाई अन्तर्वाता बिग्रिएला भन्ने रत्तिभर डर छैन । डर त मेरो जिन्दगी मबाट खोसिएला भन्ने छ ।

मेरो मनको कथा व्यथा कसलाई सुनाऊँ । यो व्यस्त संसारमा अरुको कुरा सुन्ने समय नै कसलाई पो रहेछ र ! तपाईं उदयपुरबासी म सप्तरीबासी । भाग्यले भेट भयो । जनकपुरको यो जानकी लजमा । मच्छडको निःशुल्क संगीत सुन्दै उडुसहरुसँग लाप्पा खेल्न पनि जुरेको रहेछ । यिनीहरुकै डसाइले मेरो मनको बह क्षणभर खलबलिन जान्छ तर एकान्त भयो कि उही जिन्दगीको याद आउँछ, गहभरि आँसु हुन्छ, मन भक्कानिन्छ । अघाउँजेली रुन मन लाग्छ तर के गर्नु रोएर आफ्नो पुरुषत्व माथि प्रश्न चिन्ह लगाउनु पनि भएन । के गर्नु यो संसार म जस्ता निम्छरा प्रेमीहरुको मात्र हैन रहेछ, मसँग मितेरीको जालो बुनेर जालो सहित हराउनेको पनि रहेछ ।

कति रमाइला दिन थिए ती । मंसिरको महिना ८–१० जना महिलाहरु धान काटिरहेका ! म जिन्दगीको खोजीमा एक्लै भौतारिई रहेको । तिनै आठ–दशजना नारीमध्ये नारी धर्म थामेर मेरी उनी पनि धान काटिरहेकी रहिछन् । आँखा जुधे । मैले तुरुन्तै मनमनै निर्णय लिएँ – मैले खोजेको जिन्दगी यही लुकेर बसेको रहेछ । सोध–खोज गरेँ । सबैले प्र्रशंसनीय कुरा गरे । उनीसँग त बोलिएन । मात्र उनका आँखाले मेरा निर्दोष आँखासँग बातचित गरे । उनका आँखामा मैले मेरै जीवनको सुनाखरी गम्मक्क गम्किएको भेटें ।

सोचें– संस्कारयुक्त परिवारकी छोरी, जथाभावी कुरा गर्नुहुन्न । मेरा पनि बुवाआमा छन् । कुरा हुनुपर्छ, वार्ता टुङ्गिनु पर्छ तर उनका संरक्षकहरुसँग । त्यसपछि वार्तालाई साकार रुप दिन उनीसँगै वातचित गर्दा फरक नपर्ला । एकै क्षण यत्ता– वास्तवमा संस्कार नाना थरीका, मनका बहुल पाटाहरुका रुप अनेक थरीका, मान्छेको रङ्ग झनै विचित्र खालका । गल्ती गर्ने शिर ठाडो पार्छ, सही बाटोमा हिँड्नेले शिर झुकाउँनुपर्छ । नहुनुपर्ने काम हुन्छ, हुनु पर्ने हुन्न । यिनैको केन्द्रविन्दुमा मान्छेको रङ्ग देखिन्छ । बीचमै के बनाएर कत्तिखेर हराउँछ त्यो न हराउन बाध्य पार्नेलाई थाहा हुन्छ न हराएकाहरुलाई थाहा हुन्छ । यो चक्र आदिमदेखि छ , हेरौँ कत्तिञ्जेल हुन्छ । कथासँगसँगै गजलका दानाहरु पनि आएका छन् । कतै न कतै मेल खान पुग्छन् । तिनलाई त्यसैका रुपमा स्वीकार्दा अर्थगत होला भन्ठान्छु ।

(२) मूर्खको ठूलो भरमा तपाईं नपर्नु होला
विश्वास सबलाई तपाईं नगर्नु होला ।

जस्तो बखत आए आउँछ, टार्नुहोला तर
भरोसा लिन शहर तपाईं नझर्नु होला ।

आनन्दको आधा पेटमै सन्तोष माने भयो
परिश्रमीको परिश्रममा तपाईं नचर्नु होला ।

सबैतिर छैन वैतरणी नदी पापीका लागि
सानो भनी हेप्न अघि तपाईं नसर्नु होला ।

निष्ठालाई सधैं बाँच्न यस संसारमा दिनुपर्छ
इमानको काममा कहिल्यै तपाईं नडर्नु होला ।

हुन त म हरतरहले हृष्टपुष्ट मान्छे । गाउँको बासिन्दा, आफ्नो इज्जतमा बसेको । आई.ए. पास गरेको आफ्नो समयमा म निक्कै मेहनती हुँ । एस.एल.सी. र आई.ए. स्तरमा पनि प्रथम श्रेणीमा उत्तीर्ण भएको छु । उद्घोषणमा म मेरो क्षेत्रभरि नाम कहलिएको व्यक्ति । खेल जगत्मा पनि भलिबल र फुटबलको पारखी हुँ । जीवनका धेरै उकाली ओरालीहरु छिचलेको छु । २५ बसन्त खाएको पाको मन छ, यही मनमा मैले मेरो जिन्दगीको तस्विर सजाएँ । मेरो भित्री मनले उनको रुप, चरित्र र आनीवानीलाई शतप्रतिशत स्वीकारी सक्यो । उनको मनमा पनि म बसें हुँला भन्ने अनुमान लगाएँ । नारीको मनको भेउ पाउन फलामका च्युरा नै चपाउनुपर्छ, म पनि त्यस कुराबाट अछुत थिइन ।

बुवा मामालाई लिएर केटी हेर्न जानु भएछ । दुबैतर्फबाट सकारात्मक कुराहरु भएछन् । केटाकेटीले गर्ने निर्णय नै अन्तिम हुने कुरा पनि भएछन् । कुरो बुझ्न र संकेत पाउनासाथ एकदिन मनभरि ठूल्ठूला सपनाका तानाबुना बुन्दै पुगें हुनेबाला ससुराली घर । म तपाईँहरुकी एक्ली छोरीलाई मेरो जिन्दगीमा भित्र्याएर यस घरको ज्वाइँ बन्न चाहन्छु भन्ने आशयको कुरा गरें । केही समयको विचार मन्थन पश्चात् परिवारजनहरुबाट सकारात्मक जवाफ भेट्टाएँ । मेरो खुशीको सीमा नै रहेन । त्यसबेलाको खुशी व्यक्त गर्न मसँग शब्द नै छैनन् । ठट्यौलो प्रवृतिको मान्छे म, ठट्टामा नै जीवनको सौभाग्य लुकेको ठान्दथेँ । बिना ठट्टा नगरीकन रहनै सक्तिनथेँ । त्यो नयाँ ठाउँमा पनि एकाध ठट्यौली प्रसङ्ग ननिकालीकन मलाई खाएकै पचेन । मेरो साथी त भन्दै थियो– “तँसँगसँगै मलाई पनि गोर्खेठ्याक लगाउलान् भन्ने त्रास भयो । नयाँ ठाउँमा आएर त्यो पनि केटी माग्ने जस्तो संवेदनशील काममा लागेको अझ नौलो बेहुलोजस्तो मान्छेले नानाभाँतीका गन्थन गर्न मिल्दैन , बुझिस् ।”

साथीका कुरा आत्मसात गर्ने खालकै थिए । मैले उसका कुरा काटिन पनि र मानिन पनि । त्यताका मान्छेहरु मदेखि मख्ख थिए र म केबल उनीदेखि मात्र मख्ख थिएँ । उनीसँग पनि एकाध कुराकानी गर्न भ्याएँ तर उत्ति साहे गम्भीर हैन ।

आज पाँच वर्ष पछि सम्झी ल्याउँछु उराठ लाग्छ । यो जीवन, धोकैधोकाको दहमा चुलुम्म डुब्यो । जे परे पनि र जे भए पनि आशैआशको महल बनाएर श्वास अल्झाइरहेको छु । मुखले त भन्छु – तिनी सात जनासँग पोइल गएर १० वर्ष पछि पनि मसँग आइन् भने पनि म पर्खालमा तस्विर सजाए झैं उनलाई सजाएर राख्छु । बहुमूल्य वस्तु कन्जुसले जोगाएझैं, लुकाएझैं जोगाएर, लुकाएर राख्छु । कहिल्यै मन दुख्ने काम गर्दिन । मेरो मुण्टो काटेर उनका अगाडि तेर्साउनुपर्यो भने पनि उनको खुशीका लागि म तयार छु, उनकै लागि म जीवनभर पर्खेर बस्न सक्छु । श्वास नफेरेर, भात नखाएर तपस्या गर्दा उनी मेरी हुन्छिन् भने म तयार छु । तर उनी मेरी हुनुपर्छ । म बाहेक अरु कसैकी हुनु भनेको म संसारमा हुँदै नहुनु हो । एकै क्षण यत्ता– वास्तवमा संस्कार नाना थरीका, मनका बहुल पाटाहरुका रुप अनेक थरीका, मान्छेको रङ्ग झनै विचित्र खालका । गल्ती गर्ने शिर ठाडो पार्छ, सही बाटोमा हिँड्नेले शिर झुकाउँनुपर्छ । नहुनुपर्ने काम हुन्छ, हुनु पर्ने हुन्न । यिनैको केन्द्रविन्दुमा मान्छेको रङ्ग देखिन्छ । बीचमै के बनाएर कत्तिखेर हराउँछ त्यो न हराउन बाध्य पार्नेलाई थाहा हुन्छ न हराएकाहरुलाई थाहा हुन्छ । यो चक्र आदिमदेखि छ , हेरौँ कत्तिञ्जेल हुन्छ । कथासँगसँगै गजलका दानाहरु पनि आएका छन् । कतै न कतै मेल खान पुग्छन् । तिनलाई त्यसैका रुपमा स्वीकार्दा अर्थगत होला भन्ठान्छु ।

(३) दुःखमा पीडा पोख्न गार्हो भो किन तिमीलाई
हारेको जीवनमा मर्न गार्हो भो किन तिमीलाई ।

इमानजमान बिक्री गरिसकेको बुझें मैले आज
सहयोगीहरुको पाउपर्न गार्हो भो किन तिमीलाई ।

पौरखी हातपाउहरू चाल्न भुल्दै छौ रे अभैm पनि
सुखको खोलो पनि तर्न गार्हो भो किन तिमीलाई ।

जगत्को मनमुटुभरि देख्छु म त वेदनैवेदना मात्रै
विवेकका दाना छर्न गार्हो भो किन तिमीलाई ।

फेसनमा नै जगतै हिंडिसक्यो रे आजकल जताततै
खोजेर र रोजेर माया गर्न गार्हो भो किन तिमीलाई ।

प्रकाशको यस्तो हठ र प्रतिज्ञा सुनेर म अक्क न बक्क परें । संसार एक्काइसौं शताब्दीमा प्रवेश गरिसक्यो, मान्छे पहिले आफ्नै लागि बाँच्छ । तर प्रकाश अरुको लागि यस संसारमा छ । एक समय जीवनको गोरेटोमा जम्काभेट भएकी एउटी केटीका निम्ति ऊ आफ्नो कलकलाउँदो जीवनलाई यही धर्तिमा विसर्जन गर्न चाहन्छ । कस्तो अचम्म !
मैले प्रतिकार गर्न खोजें– हेर्नुस् प्रकाशजी ! यो संसार मैले सोचे जस्तो तपाईंले ठाने जस्तो अवश्य छैन । स्वार्थले भरिएको यो संसारमा कुनै धोकेवाजको शिकार बनियो भन्दैमा यो हराभरा जीवनलाई मरुभूमि बनाउन खोज्नु आफ्नै मूर्खता हो । कुरो बुझ्नुस् र चित्त बुझाउनुस् !

मेरा भनाइहरु सकिन नपाउँदै ऊ भक्कानो पारेर रुन पो थाल्यो । म किंकर्तव्यविमूढ भएँ । तैपनि थुम्थुम्याउँदै शान्तवना दिने असफल प्रयत्न गरें । उसले पर्स खोल्यो र चिठी दिंदै भन्यो– यी, यी हेर्नुस् उनका आफ्नै हातले मेरा निम्ति लेखेका शब्दहरु ! अनि अथ्र्याउनुस्– म गलत कि उनी ! अनि भन्नुस्– संसारमा मसँग मेरो प्राण छ कि उनको । लौ भन्नुस् म मेरो जीवनलाई कसरी हराभरा राख्न सक्छु ?

म उसको पत्र खोलेर पढ्न थालें– लेखिएको थियो ।

प्राणप्रिय प्रकाशजी,

मनभरिको सबै माया केवल तपाईंलाई !

संसार आशा र भरोसा नामक दुई पाङ्ग्रेरथ रहेछ । तपाईंले त्यही रथको एक सक्षम सारथी बन्ने प्रण मेरा वृद्धावस्थाका मातापिता समक्ष व्यक्त गर्नुभयो । माता पिताको कुरो टुङ्गिएकै थिएन । मेरो मन त्यसै त्यसै आकाशगंगामा विचरण गर्न पुग्यो । हर्षले म विभोर भएँछु । आँखाभरि हर्षका आँसु भरिए । अनि तपाईंका लागि आँखाबाट धर्तिमा खसे ।

प्रकाशजी ! तपाईं मेरै मुहार हेर्न भनेर नै मेलामा आउनुभएको थियो । धेरथोर कुरा त मैले अघि नै सुनेकी थिएँ । तपाईंको बानी व्यहोराको, रुप–रंगको तथा ख्यातिको चर्चा सुन्दा मेरो मनले तपाईंलाई रोजिसकेको थियो । तपाईंको पाउको दासी भएर जीवनलाई धन्य बनाउने इच्छा मनमा जागिसकेको थियो । भगवान्ले पनि दुबैको मन बुझेर एकै किसिमको मनोकांक्षा जगाइदिएछन् । म त धन्य, धन्य भएकी छु ।

बुवा आमाले कुरा टुङ्ग्याइसक्नुभएछ । मलाई तपाईंका हातमा सुम्पिसक्नुभएछ । मेरो मनको अध्ययन गरेजस्तो गरेर नै बुवाआमाले निर्णय गर्नुभएछ । म धन्य भएँ । इच्छित वर मैले पाउने भएँ । सत्य युगमा पार्वतीले व्रत, दान, धर्म, तपस्या गरेर इच्छित वर महादेव पाएकी थिइन् रे तर यस कलियुगमा मैले अर्थोक केही नगरी तपाईंलाई पाउने भएँ । मेरा मातापिता ईश्वर नै हुनुहुँदो रहेछ । मेरो मनको भावना पढ्नुभएछ र काम गर्नुभएछ । कथा रोकेर यत्ता ध्यान खिच्न पुगेँ । कथासँगसँगै गजलका दानाहरु पनि आएका छन् । कतै न कतै मेल खान पुग्छन् । तिनलाई त्यसैका रुपमा स्वीकार्दा अर्थगत होला भन्ठान्छु ।

(४) जसको पनि रातो रङ्ग रगतकै रङ्ग भाको छ ।
त्यसैले पो त शान्तिकामी पनि दङ्ग भाको छ ।

यो घर हाम्रो, यी फाँट र ती सबै थोक हाम्रै मात्रै
यही कुरा छैन र पो विकासको कुरा भङ्ग भाको छ ।

सुन्दर नेपाल किन गरिबीको जाँतोमा पिसिने भयो
सौम्य बिम्ब पनि कंगालकै एक अङ्ग भाको छ ।

जताबाट जो जसरी आए पनि गए पनि यहाँ त
जनता नै उँभो चढ्ने विधिकै ढङ्ग भाको छ ।

सत्ता पाए मात्तिने, नपाए आत्तिनेहरु नै अचेल
अक्षान्तको विहान बेलुकाकै सङ्ग भाको छ ।

धन्य मातापिता, धन्य प्रकाशजी ! मलाई तपाईंसँग बोल्ने ठूलो इच्छा थियो । बोल्न सकिनँ । सामाजिक संस्कारलाई खल्बल्याउनु पनि भएन । मनमा धेरै कुराहरु गुम्सिएर रहेका छन् । यिनै अक्षरहरु मार्फत् मेरा अन्तर्हृदयका भावनाहरु व्यक्त गर्दै छु । मलाई तपाईं चाहियो, तपाईंलाई म चाहिएँ । भगवान्ले कृपा गरे । म पनि यही चाहन्थें, तपाईंको चाहना पनि त्यही रहेछ ।

म अहिले लहानमा पढ्दै छु । प्रौढ र बाल–शिक्षा कार्यक्रममा समेत कार्यरत् छु । मलाई जीवनमा केही गरेर अघि बढ्नुपर्छ भन्ने लाग्छ । तपाईं अहिले बेरोजगार हुनुहुँदोरहेछ । सरकारी स्कूलको जागिर पनि खोसिएछ । अब शिक्षा क्षेत्रमै तपाईंले केही गर्नुपर्छ । शिक्षा क्षेत्रभित्र चासो लिने व्यक्ति भएकोले आफ्नो क्षेत्र पनि त्यही क्षेत्रतिर केन्द्रित होस् भन्ने चाहन्छु । प्रत्यक्ष साक्षात्कारको लागि लहानमै प्रयत्न गर्नुहुनेछ भन्ने कुरामा आशावादी हुँदै यस पत्रलाई यही विश्राम दिएँ, धन्यवाद !

तपाईंकी जीवन संगिनी
प्रमिला विष्ट

कथा रोकेर यत्ता ध्यान खिच्न पुगेँ । कथासँगसँगै गजलका दानाहरु पनि आएका छन् । कतै न कतै मेल खान पुग्छन् । तिनलाई त्यसैका रुपमा स्वीकार्दा अर्थगत होला भन्ठान्छु ।

(५) यो मन जीवनको काराभित्र बस्तो थियो
जसरी लिए पनि साराभित्र बस्तो थियो ।

विचित्रको विवेकको विगुल बज्छ भन्ने त्रास
प्रचण्डभन्दा शितलु ताराभित्र बस्तो थियो ।

बोल्दाबोल्दा बोली नै सकिनैसकिन लाग्थ्यो
जनहित त्यतिबेला मात्र नाराभित्र बस्तो थियो ।

सोझाहरु सोझिन छाडेर बाङ्गिन थाल्दा रहेछन्
एक्लो भाको बृहस्पती मात्रै माराभित्र बस्तो थियो ।

विगतको पाठ घोकेर भविष्य ल्याउँने बेला हो यो
विकासको स्यानो विउ पनि पाराभित्र बस्तो थियो ।

पत्र पढ्ने वित्तिक्कै म कुनै ठोस सल्लाह दिन नसक्ने अवस्थामा पुगें । हेर्छु प्रकाशलाई विचाराले हातमा लेखेको छ – प्रमिला प्रमिला । घरिघरि उसकै फोटो निकाल्छ र हेर्छ । अनि त्यसै टोलाउँछ । जागिरका लागि आएको मान्छे त्यतातिर पटक्कै ध्यान छैन । भन्छ–“मसँग मेरै जिन्दगी छैन । के जागिर खानु ? कसका लागि जागिर खानु ? उनको शिक्षाप्रतिको मोहलाई विचार्दै बोर्डिङ्ग स्कूल खोलें । सोचेको थिएँ उनीसँग विवाह गरेपछि त स्कूलले एक सक्षम शिक्षिका पनि पाउँछ । सुखका साथ दैनिक सामान्य कामकाज गरेर जीविकोपार्जन पनि चल्छ । तर अचम्मै भो । उडायो सपना सबै हुरीले । सपना सबै हुरी उडाए पनि मेरो मनको आशा चाहिं उडेको छैन । म कसो गरी चित्त बुझाऊँ ।”

मेरा मनमा जे जस्ता कुराहरु भए पनि उसलाई कठोर बनाउन प्रयत्न गर्न थालें–“हेर्नुस् प्रकाशजी ! त्यो नारी मान्छे होइन आइमाई मात्र हो । मान्छे भइदिएकी भए आफूले दिएको वचन पूरा गर्थी । क्षणक्षणमा छेपाराले रंग फेरेजस्तो रुप बदल्न चाहन्नथी । साँचो अर्थमा उसले ती मायाका, सहानुभूतिका अक्षरहरु लेखेकी हुन्थी भने त तपाईंलाई साथ दिन्थी तर वास्तविकता त्यस्तो छैन ।” मेरा यी शब्दहरुले उसको भित्री तहलाई छोएछन् क्यार । ऊ केही बेर घोरियो र चुपचाप आफ्नो अधैर्य मनलाई किताबका अक्षरहरुपट्टि केन्द्रीत गर्न थाल्यो ।

म सम्झन थालें । प्रमिलाले उसलाई सबथोक सुम्पिछे तर अहिले जिन्दगी चाहिं अरुलाई नै सुम्पने निर्णय गरिछे । कस्तो दुर्भाग्य ! उसको प्रेम कहानी सुनेपछि म पो सोचमा परें । ऊ त भात न पानी भएर टोलाई रहेको छ र भनिरहेको छ– “उनी मेरी हुन् । उनलाई मेरी बनाउन संसारले ज्यूँदो राखेको छ । बाउआमाले भगाएर विराटनगरतिर लुकाएका छन् रे । भुमिगतरुपमै कुनै धनाढ्य केटोलाई कन्यादान दिए भन्ने पनि सुनेको छु । धर्तिमा त के पानीमा हुन् या वायुमा हुन् वा कसैका नाममा धोषित वा अधोषित हुन् । उनी केवल मेरी मात्र हुन् । उनका बुवाआमालाई तपाईंहरु मेरा सासू–ससुरा हुनुहुन्छ भनेर मैले साफसाफसँग भनिसकेको छु । समाजलाई पनि भनिसकेको छु । मेरो शरीरमा एक थोपा रगत रहुन्जेल, मेरो शरीरमा धुकधुकी छउन्जेल म उनकै नाम जपिरहन्छु र भनिरहन्छु– मेरी प्रमिला ! मेरी प्रमिला !!”

ऊ कुरा सुनाउँदै गयो, उसको मनको व्यथा धाराप्रवाहरुपमा प्रकटिदै गयो । समाजले मसँग भन्यो– “केटीका बुवाआमाले गलत काम गरे । एउटालाई छोरी दिन्छु भनेर ६ महिना अघि कुरा पक्का गरेपछि अहिले विवाहको समय आएपछि अर्कै केटालाई टिको–टालो गरेछन् । यो गलत काम भो । यस कदमले तपाईंलाई ठूलो मार्कामा पार्यो । तर प्रकाश ! ती बुवाआमा र प्रमिलालाई माफ देऊ । धोकेबाजका अगाडि घुँडा टेकेर भीक्षा माग्नु मनासिव छैन । ती अविश्वासीहरुलाई विश्वासले मार, बैगुनीलाई गुनले नतमस्तक तुल्याऊ । अब अवगालको यो खोलोलाई सलल बग्न देऊ, खोलो थुनेर नराख । क्षणिक समय खोलो थुनेर राखौंला तर बढी पानीजम्मा भएपछि बाँध फुटेर तिमीहरुलाई समेत बगाएर लैजान्छ । निकट भविष्यमा देखा पर्दै गरेको अन्धकारतर्फ नलाग । रात रहे अग्राख पलाउँछ भन्छन्, समयमै सचेत होऊ ।”

समाजको यस्तो एकोहोरो लिडें सल्लाहलाई ठाडै अस्विकार गर्र्दै मैले तर्क राखें भन्दै प्रकाश अघि भन्न थाल्यो–“मैले सुनेको थिएँ, समाज जहाँको पनि न्यायाधिस हो । तर यहाँको समाज भने भिन्न रहेछ । यस समाजले स्वीकार्यो– म ठीक बाटामा छु तर प्रमिला र उनका मातापिता गलत बाटामा छन् । गलत काम गर्नेलाई यस समाजले दण्ड दिंदैन । ठीक बाटामा हिंड्नेहरुलाई नै आफ्नो अधिकार अन्यायीको हितका लागि छाडिदे भन्छ । यो फैसलाबाट मैले के पाएँ ? मन बिनाको, जीवनविनाको यो नश्वर शरीर, जुन ६ महिना अघि पनि मेरै थियो । ६ महिना अघि नै मैले मेरो मन प्रमिलालाई दिएको थिएँ । उनलाई पाउने लालचाले मैले मेरो मन उनैलाई बेचेको थिएँ । अब म मेरो एक्लो मन फिर्ता लिनै सक्तिन । किनकि मलाई प्रमिला विनाको मन चाहिएको छैन । मैले त अन्तमा भनिदिएँ– गलत गर्नेलाई दण्ड दिनुस् । म ठीक छु, मेरी प्रमिला मलाई दिलाउनुस् । समाजको धर्म यही हो, आफ्नो धर्म पालन गर्नुस्, मेरो भन्नु यत्ति नै हो । त्यसपछि छुटेको म अहिले तपाईंसँग छुं । मेरा हरघडीहरुमा साथ दिने साथी नरेन्द्र कार्की तेज छ, इमान्दार छ, बैगुनी काम गर्दैन तर बैगुनीलाई कदर गर्न पनि पछि हट्दैन । तपाईंको सल्लाहजस्तै उसले सल्लाह नदिएको पनि होइन । मैले पनि मन बुझाउने कोशिस नगरेको होइन । तर चाँडै अरुमाथि धेरै विश्वास गर्ने यो मन कस्तो निष्ठुरी रहेछ, एक पटकको विश्वासलाई अविश्वास भयो भनेर पत्याउनै सक्तदैन । मेरो मनले भन्छ– जसो गर्दा पनि आफ्नो उद्देश्यमा सफल भइनस् भने एउटा काम गर । त्यो धन र पदको लोभले धनाढ्य केटोतर्फ तानिएकी प्रमिलालाई आफ्नो विगत सम्झाउन उसको अनुहारमा तेजाब छर्की, कुरुप बना, अपाङ्ग बना अनि मात्र त्यो सधैं तेरी मात्र हुन्छे बोलीजाला तर हात जान सक्तदैन । उनको इज्जत र प्रतिष्ठामा दाग लाग्ने कुनै काम मबाट हुनै सक्दैन । उनलाई अपाङ्ग बनाउने जस्तो जघन्य अपराध अरु कसैका हातबाट गराऊँ भन्ने मन छैन । हात काट्न लगाएको व्यक्तिले घाँटी नै काटिदेला । त्यसो भएमा मेरी प्रमिला त रहन्नन् अनि म कसरी रहन सक्छु ? त्यसैले सर्प पनि मरोस् लठ्ठी पनि नभाँचियोस् भन्ने इरादाले अर्कै योजना बनाउनेपट्टि ध्यान केन्द्रीत गर्दै छु । गोकुलजी ! तपाईं पनि सोचिदिनुस् । विना रक्तपात विना झमेला अनि विना गाली–गलौज म कसरी प्रमिलाको श्रीमान् बन्छु । म कसरी उनलाई उनकै नामबाट हालै स्थापित मेरो स्कूल प्रमिला प्राइमरी स्कूलकी प्रिन्सिपल बनाउन सक्छु अनि कसरी म मेरो र उनको संसारलाई हरियाली, सुन्दर र शान्त बनाउन सक्छु ।”

उसको लामो गन्थन सुनेर मलाई सुम्पेको गाह्रो अभिभाराले म थिचिदै थिचिदै गएँ । मन र मस्तिष्कलाई सन्तुलनमा राख्दै सोच्न विवस भएँ । सोच्दा सोच्दै ऊ ओर्लने ठाउँ पनि आइपुगेछ । ऊ कदमाहा चोकमा उत्रियो र गाईघाटतिर लाग्यो । पुनः फोनमा वातचित गर्ने वाँचाका साथ विदा भयो । म ऊ गएतिर नै एकोहोरिन थालें । मान्छेका नाना रुप र रङ्गहरुको विश्लेषण गर्दो भएँ ।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
हालः लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी
विसं २०६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *