तिमी रुन्छौ पतझरमा म रुदैछु बसन्तमा
रुनै रैछ तिम्रो मेरो यो जूनीको लेखान्तमा
उषा हाँस्दा शीतको मोती जम्छ प्रीतको पातैभरि
कमल फुल्छ त्यही बेला मायालुको हातैभरि
हाम्रो भने फूल्नै नपाई प्रीत पुग्यो एकान्तमा
खुशी थियौ सुरु हुँदा, डुब्यो प्रीति दुखान्तमा
बादल फाट्दा चाँद खुल्छ टह बोकी धर्तीमाथि
के नै बोलुँ कोइली सामु उस्ले दिने अर्तीमाथि
रोइन कोइली खुलम्खुल्ला हामी रोयौ एकान्तमा
खुशी थियौ सुरु हुँदा, डुब्यो प्रीति दुखान्तमा
तिमी रुन्छौ पतझरमा म रुदैछु बसन्तमा
रुनै रैछ हाम्रो भाग्य यो जुनीको लेखान्तमा ।
बुद्धि मोक्तान
