Skip to content


एक दिन एउटा चंखे मुसा जमिनमा दुलो पार्दै जाँदा सुँगुरको खोरमा पुगेछ । त्यो खोरमा एउटी सुँगुर्नी आफ्ना पाठापाठीहरूलाई दूध ख्वाऊँदै थिई । सुँगुर्नीलाई देखेर चंखेले भन्यो ” सुँगुर्नी दिदी ! नमस्कार ! ”

“ए चंखे भाइ पो ! ल ल नमस्कार ! कताबाट बाटो बिराएर आइस त नि ?”

“यसो दिदीको हालचाल के छ बुझौँ भनेर नि दिदी ! आरामै हुनुहुन्छ ?”

“भगवानको कृपाले हामी सुँगुर जातिलाई कहिल्यै पनि बिसन्चो हुँदैन भन्ने तँलाई थाहा छैन ?” सुँगुर्नीले अहमता देखाउँदै भनी ।

“यस्तो फोहर ठस् ठसी गन्हाउने ठाउँमा बस्दा पनि रोग लाग्दैन, दिदी !”

चंखेको प्रति प्रश्नले सुँगुर्नीको रिसको पारा चढ्यो र भनी “तँलाई नरक गामी चोर ! हाम्रो यो स्वर्गलाई फोहर, ठस् ठसी गन्हाउने पो भन्दो रहेछ ए ! हामीले पूर्व जन्ब्ममा धर्म कमाएका थियौं र आज यो स्वर्गमा बस्न पाएका छौं । तँ जस्तो अँध्यारो दुलोमा बस्ने हौँ र हामी ?”

चंखेले पनि हाँस्दै भन्यो ” के त्यस्तो पुण्य कार्य गर्नु भाको थियो र दिदी ! अहिले यस्तो स्वर्ग पाउनु भो ?”

सुँगुर्नीले गौरबका साथ् छातीमा हात राखेर भनी ” मालिकको जुठो पुरा खाने र धेरैभन्दा धेरै पाठा पाठी जन्माउने यही नै हाम्रो कुल धर्म हो । यति गरेपछि बाँचुन्जेल यो स्वर्ग त छँदै छ, मरेपछि पनि मालिक भगवानले घीऊ दूध र महको समुद्र, लटरम्म दाख फल्ने बगैंचा र दाख रक्सीको झरना बग्ने स्वर्गमा पुर्याई दिनुहुन्छ ।”

“वाह वाह वाह क्या भगवान मालिक पाउनु भा ‘छ तपाईले, तपाईं त भाग्यमानी हुनुहुँदो रै”छ अनि तपाईका पाठापाठीहरू नि ?” चंखेले थप जिज्ञाशा राख्यो ।

“ईश्वरको कृपा माथि शंका गर्ने पापी नरक गामी हुन्छ । पाठापाठीहरूको बारेमा मैले चिन्ता लिनै पर्दैन । किनभने मालिक भगवान दयालु हुनुहुन्छ । मालिकले हुर्केका पाठापाठीहरूलाई अरु कुनै काममा खटाइ दिनुहुन्छ र मेरो लागि च्वाँक सुँगुरको ब्यबस्था गरी दिनुहुन्छ ।”

“जय होस् तपाईंको मालिक भगवानको ” भन्दै चंखे मुसा आफ्नो बाटो लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *