खोल्सीहरू रसाउन छोडेपछि
अभावमा पुर्णेको उज्यालोले
गाऊ पोत्न नसकेपछि
आफ्नै माटोको स्मृति
पेरुङ्गे मनमा सम्हाल्दै
पिरहरूको पहाड उक्लिदै
शहर पस्यो
ऊ
शहर निल्ने हिम्मत थिएन
ऊसँग
शहरले निल्दै
निलोतुथो भैसकेछ बरै जिन्दगी
पवमा भेनिला फ्लेवरको हुक्का ताने जस्तो
पाटीमा ककटेल वाइन ताने जस्तो
कहाँ सजिलो छ र राजै
जिन्दगीको रथ तान्न
दश धारा दुधको भाडा तिर्न
फिराउनु पर्ने पाईलाहरू
आफ्नै माटोको सुगन्ध लिन
बीना खोज्दै रनबन डुल्ने कस्तुरी मृग जस्तै
घना कंक्रिट जंगलमा
आफ्नै जिन्दगीको बिना खोज्दै
बेबारिसे धर्तीमा हराइरहेछ
ऊ ।
निश्चल काउचा
दक्षिण कोरिया
