शंकर लामिछानेको पुस्तक प्रकाशन हुँदा त्यति बेला म पाठक हुन सकिनँ, दर्शकमात्र भएँ।
पाठक हुन नपाउनुको पीडा जीवनको तीस वर्ष झेलिरहेँ।
जबजब शंकरको किताब हात पर्थ्यो, किताबका पाना र आँखाको दूरी अस्सी किलोमीटर प्रतिघन्टाको वेगले दौडिन्थ्यो।
यी दुई घटनाले मेरोमात्र होइन, समग्र नेपाली पाठक समाजलाई असर पारेको थियो।
शंकर लामिछानेको पुस्तक शंकर लामिछानेकै पाठकका हातमा पर्न अर्को ३० वर्ष लाग्यो। त्यो तीस वर्ष नेपाली समाजमा कैयन् घटना भए, कैयन् इतिहास बने बिग्रिए तर शंकरमाथि कसैको दृष्टि गएन। शंकर लामिछाने नामका कुनै लेखक पनि थिए वा थिएनन्, नेपाली जनस्थानमा उनको नाम धेरै शंकर नाम धारण गरेका साथीभाइले छोपेका वा ढाकेका थिए।
कोही उनलाई शंकर कोइराला पनि भन्थे, कोही शंकर शर्मा पनि भन्थे। यसरी उनी छोपिँदै जाँदा उनको नाममाथि ओढाइएको पर्दा च्यात्ने जमात जन्मियो, जसलाई इतिहासले भावक भन्ने नयाँ शब्दले चिन्यो, जान्यो र बुझ्यो। शंकर त्यसैका अभिभावक भए वा नीत्शे भए, जहाँ पर्खाल छ त्यहीँ तिम्रो बाटो छ।
भावकले त्यहीँ बाटो बनाए।
शंकरले ‘मेरो कृति ५० वर्षपछिका मेरा पाठकका लागि’ भनेर घोषणा गरेका थिए, उनका भावकले चालीस वर्षपछि नै खोजी गरेर छापे, बाँडे, बेचे।
एउटा अद्वितीय इतिहास बन्यो नेपाली जनस्थानमा।
म यसको एक मूक साक्षी थिएँ, मात्र दर्शक। तर, बाँकी सबै कुरा चलायमान थियो।
शंकरले लेख्न सुरु गर्दा यो समाजमा लेखनाथ पौड्याल, देवकोटा, सम, रिमाल र हृदयचन्द्रसिंह प्रधानको युग थियो। भूपि, पारिजात, भीमदर्शन रोका, ताना शर्मा, अम्बर गुरुङलाइसँगै लिएर शंकर हिँड्दै थिए।
शंकरका वरपर वच्चन, शिवमंगलसिंह सुमन, व्हेन साङ, डायलन थोमस, विलियम सारोयान, नर्मन मेलर, राहुल सांकृत्यान आउनेजाने गरिरहेका थिए।
परिवारमा उनका कोही साहित्यिक थिएनन्, न काका न मामा। भूलचुकले उनका गुरु महाकवि लक्ष्मीप्रसाद देवकोटा एकजना लेखक थिए, उनैसित उनले लेख्न सिकाइमागे र देवकोटाले स्पष्ट भने, ‘रिपिटेसन अन द सेम लाइन ह्याज नो मिनिङ।’
देवकोटालाई छोडेर उनले एक छलाङ लगाए, उनका निबन्धले कलेवर फेरे। उनले निबन्धमा कथा, कविता, चित्रकला, संगीत, समाचार, विश्वजनीन चीज सबैको मोन्टाज बनाए, जुन त्यसअघि नेपाली साहित्यमा कसैले आँट गरेका थिएनन्। उनका निबन्धमा हिमानी साहित्यिक पत्रिकादेखि विश्वप्रसिद्ध टाइम म्यागेजिन, हिन्दी पत्रिका कादम्बिनीका कोलाज पनि देखिए।
नेपाली पाठक लोभिए उनको रचना पढेर, गोरखापत्र, रूपरेखा र मधुपर्क उनका रचना छाप्न लोभिए। गोरखापत्रमा सम्पादकलाई धम्कीको भाषामा पत्र आउन थाल्यो, शंकर लामिछानेमात्र लेखक हो, हामी होइनौं?
त्यसपछि शंकर लामिछानेमाथि हमलाका हमला हुन थाले र अन्तत: समीक्षा साप्ताहिकमा उनीमाथि चोरीको भव्य आरोप छापियो। त्यसपछि उनले रूपरेखा साहित्यिक पत्रिकामार्फत एक महान् स्वीकारोक्ति छापे, २०२९ को भदौमा।
मानौं, शंकरको फर्स्ट इनिङ सकियो तर दोस्रो पारीमा उनले हात जमाउन सकेनन्। उनको दोस्रो इनिङमा थकान, सुस्तता र तनावको झझल्को देखियो, जीवनको खस्कँदो प्रतिरूप। दोस्रो बिहे, घर सराइ, दुई नयाँ सन्तान, पहिली पत्नी अनि साथीभाइ, स्वजन र आफन्तीसित पलायन। जीवनका सार्वजनिक सुविधावाट वञ्चित। एकाकीपनको नयाँ दौरमा उनले लेख्न त लेखे तर तिनै कुरा लेखे, जुन उनको कुरा नेपाली साहित्यमा अरू रोज लेखिरहेका हुन्थे।
यसको केही समयपछि उनले हिम्मतले जे लेखे, त्यो महत्त्वपूर्ण थियो, उपन्यासकार पिटर जे कार्थकको उपन्यास ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ को भूमिका। उनले जीवनमा लेखेको दोस्रो महत्त्वपूर्ण भूमिका पारिजातको ‘शिरीषको फूल’ पछि, आज पनि शिरीषको फूलको यो भूमिका नपढी पाठक उपन्यासमा दर्ता हुन चाहँदैनन्।
अन्तिम पटक लेखिएको यो भूमिकामा जम्मा चार साक्षी अँझै पनि नेपाली समाजमा जीवित छन्- संगीतकार अम्बर गुरुङ, कलाकार उत्तम नेपाली, नृत्य निर्देशक भैरवबहादुर थापा र स्वयं उपन्यासका पिटर। अनि त्यो भूमिका लेख्दा शंकर कोन्याक र विदेशी ब्रान्डको रक्सीबाट जावलाखेल डिस्टिलरीको श्रीरममा अवतरण गरिसकेका थिए।
यसपछि २०३२ को माघ १० गते शंकरले यो जगत् छोडे, बच्चालाई लाग्ने रोग मेनेन्जाइटिसका कारण बितेका शंकरका साथ त्यति बेला पत्नी सुवर्ण श्रेष्ठ, छोरा प्रकाश र प्रवासबाहेक कोही थिएनन्। अन्तिम समयमा उनकी पूर्वपत्नी रत्ना राई अनि छोरा दीप र छोरी शिखा पनि वीर अस्पताल आइपुगे। नचिनिने भइसकेका शंकरलाई सानो परिवारले भावभिनी बिदा दिए।
शंकर र शंकरका पाठक त्यसपछि लामो कोर्रामा बसे। करिब २५ वर्षपछि शंकरले सधैं सम्बोधन गर्ने मैले नजन्माएको छोरा जन्मिए र उनको पुनर्जागरणको युग जन्माए, यो सम्भवत: नेपाली समाजमा पुनर्विचारको युग मानियो। यसलाई बहुसंख्यकले शंकरको रिक्रिस्चियनाइज्डको युग पनि भने। उनको देहान्तको पच्चीस वर्षपछि एउटा महत्त्वपूर्ण घटना भयो, २०५७ माघ १० गते। नेपाल टुरिज्म बोर्डको हलमा एक घन्टाको कार्यक्रममा शंकरको नाममा डेढ लाख रुपैयाँ एकै स्थानबाट संकलन भयो।
२०५८ चैत ५ गते शंकर लामिछानेका दुई किताब निस्किए, ‘एब्स्ट्राक्ट चिन्तन : प्याज’ र ‘गौंथलीको गुँड’। पुस्तक पनि नेपाली प्रकाशनको शैलीको परम्परा तोडेर दुई हजार प्रति छापियो। किताब ६ महिनामा लगभग सकियो। यसपछि बल्ल शंकरका असली पाठक र प्रकाशक जन्मिए। त्यसैले उनी आफ्नो कवितामा सदैव भन्थे-
मेरो छोरा
एक दिन तैंले मसँग
वा मेरो मृत्यु भएमा
स्वयंसँग प्रश्न गर्नेछस्
…नजन्मेको मेरो छोरा
तेरो जन्मभन्दा
कतिअघि
कतिअघि देखिन्
तेरो प्रश्न मकहाँ आएर फर्केको छैन। …
सायद यो लडाइँ त्यही थियो। यति बेला उनका जेठा छोरा दीप लामिछाने अमेरिकामा आप्रवासी भइसेकका थिए भने अर्का छोरा प्रकाश लामिछाने जापानमा। र, उनलाई अलिअलि पनि नचिन्ने छोरा प्रवास यो लडाइँमा भावक अभियान नेपालसित जुडेका थिए। यसलाई समय भनिन्छ, सार्थक समय।
समयले शंकर लामिछानेलाई इतिहासबाट ब्यूँझाएर ल्यायो। यो दुस्समयमा शंकरका जीवनमा सबै कुरा सही सलामत नरहे पनि उनले लेखेका रचना, भूमिकाको अन्तिम पन्ना सँगालेर बसेकी थिइन्। उनकी कान्छी पत्नी सुवर्ण श्रेष्ठ र हराइसकेका शंकरको जाज्वल्यमान तस्वीर बोकेर बसेकी थिइन् उनकी पहिली पत्नी रत्ना लामिछाने। यी दुवैको साक्षी रोहबरमा शंकरका अन्य पुस्तक ‘गोधूलि संसार’, ‘विम्ब प्रतिविम्ब’, ‘शंकर स्मृति’ प्रकाशित भए।
शंकरले गरेका अद्भुत काममा सम्झनैपर्ने हुन्छ, उनले आफ्नो जीवनको करिअर नेपाल-भारत पुस्तकालयको लाइब्रेरियनबाट सुरु गरे। विज्ञान पढे तर नेपाली साहित्यमा साइन्स फिक्सनमा कथा लेख्ने पहिलो कथाकार भए। उनी लोकप्रिय सिनेमा भवन जनसेवा हलका अन्तिम म्यानेजर थिए। २०१८ साल असोजमा जनसेवा हल जनताले नै आगो लगाएपछि २०१९ सालमा उनी घरेलु शिल्पकला विकास केन्द्रका महाप्रबन्धक भए। यसै समय उनी जापान भ्रमणमा ढाकाको कपडा देखाउन गए र जापानबाट हाइकु बोकेर आए अनि उनले नेपाली साहित्यमा नयाँ विधा हाइकुलाई ढाका टोपीजत्तिकै सम्मान दिएर पारिजातको उपन्यास ‘शिरीषको फूल’को समर्पणमा ठाउँ दिए। आज यो नेपाली समाजमा हाइकु आफ्नै विधा भएको छ।
शंकर लामिछानेले व्हेन सांगको हलिउड चलचित्र ‘द माउन्टेन इज योङ’मा लियाजो अफिसर भएर काम गरे र त्यसैको फल नेपाली पाठकले पाए, पिक्टोरियल राइटिङ ।
शंकरले काठमाडौंको थापाथली, बबरमहल, सिंहदरबारको चोकको नाउँ ‘माइतीघर’ नामकरण गरिदिए जहाँ आज माइतीघर मण्डला छ। यो एउटा संयोग नै मान्नुपर्छ, माइतीघर चोकमा मण्डला थपिँदै गर्दा भैंसेपाटीको जलविनायक मार्गमा शंकरकै कृति गोधूलि संसारको नाउँमा गोधूलि संसार टोल बनेको छ, नेपाली समाजमा साहित्यिक कृतिको नाउँमा ठाउँको नाउँ राखिएको यो पहिलो पटक नै हो।
शंकर लामिछाने रेडियो नेपालका प्रथम गीतकार भए, उनकै शब्दमा नातिकाजीको संगीतमा हरिप्रसाद रिमालले ‘मेरो मुटु टुक्रा भएर’ गाए।
काठमाडौंको त्रिचन्द्र कलेज र बनारसमा अध्ययन गरेका शंकर लामिछानेले दार्जिलिङ, बनारस र जापानको भ्रमण विभिन्न कारणले गरेका छन्, बनारस मामाघर भएको कारणले, दार्जिलिङ ससुराली भएको कारणले अनि जापान अफिसियल कारणले। यसबाहेक उनले अन्य टाढाको मुलुकको गन्ध सुँघ्न पाएनन् तर सम्पूर्ण विदेशको स्वाद नेपाली साहित्यमा दिइरहे। उनको साहित्यमा जस्तो विदेशको रमझम, विदेशिरहनसहन, भावस्वभाव, खेल, संगीत वा बोलीचाली अन्य लेखकको लेखनमा कमै पाइन्छ।
उनको लेखनको केन्द्रीय मानवीय स्थिति चेतनाको प्रभाव भए पनि दर्शन र दिशादर्पण अर्को पाटो रहिआएको छ। उनले प्रोफाइलको रूपमा तयार पारेको नेपालको पहिलो संवार्ता पुस्तक विम्ब प्रतिविम्बमा ११ जना व्यक्ति जो छाने, तिनै आज नेपाली समाजका मूल पात्र बन्न पुगे- महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, उपन्यासकार पारिजात, शब्दकोशकार बालचन्द्र शर्मा, पहिलो मुक्तककार भीमदर्शन रोका, निबन्धकार हृदयचन्द्रसिंह प्रधान, जनप्रिय कवि भूपि शेरचन, कथाकार विश्वेश्वरप्रसाद कोइराला, राष्ट्रगानका संगीतकार अम्बर गुरुङ, गद्यकविताका सूत्रधार गोपालप्रसाद रिमाल, सञ्चारकर्मी तुलसीनाथ ढुंगेल अनि स्वयं शंकर लामिछाने।
यी बिर्सनै नसकिने पात्रका माझ शंकर लामिछानेका जीवनमा दुई विवाह भए, रत्ना र सुवर्णसित। तेस्रो महिला उनको जीवनमा आइन्, भारतबाट नेपाल भ्रमणमा आएकी शिखा चढ्ढा। र, उनीसित सामान्य प्रेमसम्बन्धमै नाता टुंगिएको देखिन्छ।
पहिली पत्नी रत्नासित पाठक प्रतिक्रियाबाट परिचय सुरु भए पनि प्रेमप्रकरण चाहिँ ब्याडमिन्टन खेलबाट अघि बढेको र त्यसलाई सघाउन भारतबाट आएका प्रेस रिपोर्टर हरिश श्रीवास्तवको महत्त्वपूर्ण भूमिका रहेको त देखिन्छ तर रत्ना थुलुङ राई आफैं पनि एक सम्भावनाशील लेखिका भएका कारण दुवैमा सान्निध्य बन्न गएको बुझिन्छ।
गीतकार, कवि, निबन्धकार, कथाकार, वार्ताकार, हाइकु लेखक, उपन्यासकार (अपूरो उपन्यासका कारण) शंकर लामिछानेले व्यवसायका निम्ति अखबारमा विज्ञापन पनि लेखे, मोरङ सुगर मिलको चिनीको विज्ञापन त्यसमध्ये एक हो। संयोगले आफ्नो नामसित जुधेको एक उत्पादन शंकर चिमको नामकरण पनि गरिदिए। नेपाली जनताले बनाएको पहिलो सिनेमा माइतीघरको नाम नै उनैले जुराइदिए। आफ्नो नामसित साक्षीकण हुन पुगेको चर्चित होटल शंकरका उनी महाप्रबन्धक पनि भए र त्यही होटलमा उनले जीवनको अन्तिम तलब थापे।
रामशंकर श्रेष्ठको होटल शंकरसम्म आइपुग्दा शंकर लामिछानेले आफ्ना धेरै भिजिटिङ कार्ड छापिसकेका थिए तर नेपाली साहित्यमा उनको सिग्नेचर राइटिङ यथावत् कायम थियो, अटल र अजर। आज शंकरको सिग्नेचर ट्रेन्ड कैयन् युवा लेखकले बोकेर हिँडेको पाउँछौं। शंकरको प्रभावशाली युग अँझै कायम छ- युवाहरूमाझ त उनी सधैंसधैं लोकप्रिय छन् आफ्नो सिग्नेचरजस्तै- शंकर सिग्नेचर।
उनले लेखनलाई सजिलो पनि बनाइदिएका छन्- भाषाले, विषयले, प्रवाहले। जेले पनि निबन्ध लेख्न सकिन्छ।
