क्याबिनको सीट

  • by


काठमाडौका र्सार्वजनिक यातायातका साधन, त्यसमा पनि सानाखाले नीलो माइक्रोमा यात्रा गर्नु कम्ती कठिन छैन । सागुरो खोरमा क्षमताभन्दा बढी भेडाबाख्रा कोचिएभन्दा चर्को । कहिलेकाँही त यस्तो लाग्छ, मःम र मासुको लागि काठमाडौं ल्याउनका लागि ट्रकमा लादिएका बूढाराँगा र बैला भैंसीले पनि यति चर्को सास्ती पाँउदैनन् होला ।

सीट क्षमता १२ जना मात्र । तर २०-२५ जनाभन्दा घटी कहिल्यै हाल्दैनन् । अझ गर्मीका बेला त्यसरी कोचिएर यात्रा गर्नु पर्दा श्वास गुम्सिएर भित्रै बान्ता आउलाजस्तो हुन्छ । त्यसमाथि छेउमा पसिना गन्हाउने मान्छे पर्यो भने त झन्……..।

यस्तै सास्ती सम्झेर म बेलुका प्रायः हिडेर आँउछु अनामनगरदेखि कपनसम्म । तर बिहान भने माइक्रोको सास्ती चाख्ने गर्छु आफ्नै अल्छीपनका कारण । राजधानी बसेपछि भिडभाडमा यात्रा गर्न अभ्यस्त पनि त भइराख्नु पर्यो नि ।

घरछेउमै माइक्रोको अन्तिम बिसौनी भएकोले सीट पाउन त्यति गाह्रो चाँहि छैन । त्यसैले भरसक सास्तीबाट बच्न प्रायः म ड्राइभरसँगैको क्याबिन सिट रोज्ने गर्छु ।
……. ……

म त्यो दिन पनि ड्राइभरसँगैको क्याबिन सिटमा बसेको थिए । माइक्रो हिड्नै लागेको थियो । त्यसैबेला अघिल्तिरबाट एउटी युवती आइन्, २५-३० बर्षउमेरकी । अग्ली, खाइलाग्दो ज्यान भएकी ।
“वा, क्या दामी माल” युवतीलाई देख्नासाथ उस्तै ज्यान भएको जुल्फे ड्राइभरले साउती स्वरमा भन्यो र घुटुक्क थुक निल्यो । सँगै बसेका अर्का पुरुषले पनि युवतीतिर हेरे ।
नीलो पाइन्ट, सेतो र्सट र नीलै कोट लगाएकी ती युवती कुनै अफिसकी जागिरेजस्ती देखिन्थिन् । माइक्रोको ढोकानिरै आएर उनले सोधिन् “सिट छैन?”
“सिट त छ तर खाली छैन” खलासीले जिस्कायो ।
“ओए कान्छा, उहाँलाई मिलाएर हाल्दे” -ड्राइभरले आफन्तजस्तै ठानेर उदारता देखायो, द्धैधअर्थी शब्दमा । म मसुमुसु हाँसेँ ।
उनी जसोतसो चढिन् चेप्टिएर । माइक्रो अघि बढ्यो ।
…… …….

भोलिपल्ट पनि त्यही समयमा माइक्रो बिसौनी पुगे । संयोगवश त्यो दिन पनि त्यही माइक्रोको पालो थियो ।
सदाझै अघिल्तिरको क्याबिन सिटमा बस्न खोजे । शिशा पुछिरहेको खलासीले मलाई अगाडिको सिट खाली नभएको बतायो ।
“को छ?” मैले सोधे“।
“गुरुजीको मान्छे छ” ड्राइभरहरु बस्ने छेउको होटलतिर देखाउदै उसले भन्यो ।
पैसा तिरे पनि ड्राइभर खलासीको निगाहमा यात्रा गर्नु यात्रुहरुको बाध्यता हो । प्रतिवाद गर्न साथ अर्को अनिष्टको सामना गर्नु पर्ने हुनसक्थ्यो । त्यसैले म चूपचाप पछिल्लतिरकै सिटमा आएर बसे ।
मभन्दा पछि आएका यात्रु पनि अगाडिको क्याबिन सिट खाली देखेपछि त्यही बस्न खोज्थे । तर खलासीले उनीलाई पनि मलाई जसरी नै अगाडिको सिटमा बस्नबाट बन्चित गर्यो ।
गाडी हिड्ने समयसम्म पनि उसले अरु कसैलाई बस्न दिएन । पछाडि भरिएर खादाखाद भइसकेको थियो ।

गाडी हिँड्ने बेलामा तिनै युवती हतारहतार आइन् अघिल्लो दिनको जसरी । खलासीले उनलाई स-सम्मान क्याबिनको बीचको सिटमा राखिदियो । त्यसपछि अर्की युवतीलाई ढोकापट्टकिको सिटमा ।
“ए केटीहरुलाई बस्न दिन पो नदिएको रैछ” यात्रुमध्ये कसैले साउतीको स्वरमा भन्यो ।
“यो ड्राइभर खलासीको त जातै नहुने” अर्कोले थप्यो ।
अरु मुसुमुसु हासे ।
मचाहिँ अधिकांश ड्राइभर खलासीको युवती मोहको कारण के होला भनेर सोच्न लागे ।
गाडी गुड्दै गर्दा ड्राइभरले क्यासेट प्लेयर बजाउन खोज्यो तर प्लेयर र क्यासेट दुवै थोत्रो भइसकेका कारण राम्ररी बज्नै मानेनन् ।
उसले क्यासेट र प्लेयर दुवैलाई पालैपालो हिर्कायो तर अह“ त्यहाँबाट गीत सङ्गीतको मधुरता निस्केन ।
यस्तो थोत्रो क्यासेट पनि के बजाको? बजाए पनि अलि राम्रो क्यासेट बजाउनु नि युवतीले ड्राइभरतिर हेदै आफ्नो असन्तुष्टि पोखिन् ।
राम्रो क्यासेट त चोर्दिहाल्छन् के गर्नु? अघिल्तिर सडकमा बिच्छाइरहेका आँखा निमेषभरका लागि युवतीतिर हुत्याउँदै उसले भन्यो “जति किने पनि साध्य हुदैन, एकदिनदेखि दुई दिन ।”
“पख्नुस् म भोली आउदा ल्याइदिन्छु” -युवती बोलिन् ।
तपाईको क्यासेट पसल छ हो र?” ड्राइभरले सोध्यो ।
होइन घरमै छ पहिल्यै किनेको । अहिले सिडी बजाउन थालेपछि त्यतिकै थकिएको छ ।”
“त्यसो भए त म लिन आउछु नि” ड्राइभर अलि चलाख निस्कन खोज्यो । युवतीको अनुहार पुलुक्क हेर्दै उसले भन्यो “सा“च्ची यँहा“ तपाईको घर कँहा हो?”
“हैन म आफै ल्याइदिन्छु नि” पहिलो प्रश्नको उत्तर नदिई युवतीले भनिन् । मलाई लाग्यो, उनले कागभन्दा कोइली चंख भन्ने उखान चरितार्थ गरिन् ।
मेरो उत्रने ठाँउ भइहाल्यो उनीहरुबीचको थप कुराकानी सुन्नै सम्भव भएन ।
……. …….

त्यसपछिका दिनमा क्याबिनको एउटा सिट उनका लागि सुरक्षित हुनथाल्यो ।
यस्तै यात्राका क्रममा एक दिन युवतीले भनिन्- “ग्यास नपाएर साच्चै बिजोग हुने भो ।
“तपाईको कुन ग्यास हो?” ड्राइभरले उत्सुकता देखायो ।
“एउटा बाबा, एउटा सगर” युवतीले भनिन् “बाबा चाहि पुरै खाली भैरछ । सगर पनि सिद्विन लागेको छ ।
“एभरेष्ट भए त मसँग थियो”- ड्राइभरले च्याखे थाप्यो ।
“नपाएको बेलामा त जुन भए पनि भइहाल्छ नि” -युवती पनि च्याखेमा लोभिइन् ।
“सिद्विएपछि सिलिण्डर सट्टापट्टा गरौला नि त”- ड्राइभर अझै उदार भयो ।
“तपाईसँग निकै सिलिण्डर छ कि के हो?” ड्राइभरको पछाडि बसेको मैले उनीहरुको सिलसिला भंग गरें ।
“हैन, उहाको लागि चाहि छ” पुलुक्क मतिर हेरेर मुसुक्क हास्दै उसले भन्यो । मानौं, ऊ सिकारीले मृगलाई जालमा पारेजस्तै ती युवतीलाई आफ्नो जालमा पार्न चाहन्छ ।
जुँगा चल्यो कुरा बुझ्यो -म चुप भए“ ।
उनीहरुले भोलि शनिबार बिहान भेटेर खाली सिलिण्डर र भरी सिलिण्डर साटासाट गर्ने प्रबन्ध मिलाए ।
……. ….

केही दिनपछि उनीहरु राम्रैसँग जिस्किन थाले, कलेजका अल्लारे केटाकेटीहरु जस्तै । संवेदनशील अंगमा पिटपाट गर्नु सामान्य भयो । खलासीले उनीसँग भाडा समेत लिन छोड्यो ।
उनीहरुबीचको उमेर मिल्दो थियो । तर आर्थिक, सामाजिक तथा शैक्षिकस्तरमा आकाश जमिनको अन्तर थियो । सामाजिक हैसियतमा मेल हुन सक्ने अवस्था नै थिएन ।
तर त्यसलाई उनीहरुले पूर्ण वेवास्ता गरिरहेका थिए । शायद सच्चा प्रेममा यस्तै हुन्छ क्यारे ।
उनीहरुबीचको ठट्टा र अत्मीयता हरेक दिन हलक्क हुर्कदै गयो, बर्खाको तामा जस्तै ।
मचाहि उनीहरुका चर्तिकलाको रमिते मात्रै बनिरहे । अनि सोच्न थाले“- “त्यो सुशिक्षित जागिरे युवती अल्पशिक्षित जुल्फे ड्राइभरको प्रेममा फसेकै हो?”
………. …….

त्यस लगत्तै मैले १५-१६ दिनका लागि जिल्लातिर जानु पर्ने भयो । मैले उनीहरुका गतिविधिलाई नजिकबाट नियाल्न पाइनँ । फर्केर आएपछि माइक्रो यात्राको उही सिलसिला पुन चालु भयो । यात्राका क्रममा अरु सबै परिचित अनुहार थिए । एकैसमयमा अफिस जाने भएकोले नामले नचिने पनि सबैका अनुहार परिचितझै लाग्न थालेका थिए । परिचितहरुको त्यो भीडमा मैले ती दुई अनुहारलाई निकै दिनसम्म खोजे । तर अह, दुवैसँग जम्काभेट भएन । बिहान अफिस जाने बेलामा उसैले हाक्ने गरेको माइक्रो लागेको हुन्थ्यो । तर ड्राइभर अर्कै ।
मलाई कौतुहल लाग्न थाल्यो । उनीहरु दुवै जना कहाँ गए होलान्? ड्राइभरले काम छोडेर अन्यत्रको गाडी चलाउन गए पनि युवतीसग त भेट हुनुपर्ने – युवतीले जागिर छोड्ने र ड्राइभरले काम छोड्ने संयोग एकैपटक परेको हो किर? म आफै भित्र घोत्लिरहन्थे ।
एकदिन,
उसले हाक्ने गरेको माइक्रोको नयाँ ड्राइभरलाई सोधे“- “यो गाडी चलाउने पहिलेको गुरुजी कता जानुभो?”
“तपाईलाई थाहा छैन, राजन गुरुजीले पहिलेकी स्वास्नी हुदाहुदै दुइटी छोराछोरीकी आमालाई लिएर भाग्यो नि ।”
म छक्क परे“। आर्श्चर्यपूर्वक भनेँ “होइन होला ।”
“किन नहुनु, अस्तीको हप्ता त्यही काण्डले कपनचौकीमा कत्रो बबाल भयो” छेउमा बसेकी एउटी अधबैंसे महिला बोलिन् । ड्राइभरले मतिर हेरेर बिजयी मुस्कान फ्याँक्यो ।
जिज्ञासा मेटाउन मैले सोधे“ “त्यो छोराछोरी छोडेर सौतामाथि जाने चाहि को रैछ?”
खै म मान्छे त चिन्दिनँ तर यही कपनचौकी छेउमै घर भएकी रे । सधैं अफिस जादा-आउदा लभ परेको रैछ । उसले त एक महिना पट्याएर टाप ।” ड्राइभरले एकै पटकमा कुरा टुंग्यायो ।
मेरो मस्तिस्कमा चाहि सेतो र्सट, नीलो पाइन्ट र नीलो कोट लगाएर अफिस जाने तिनै युवती र जुल्फे ड्राइभर झल्झली आइरहे, आइरहे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *