Skip to content

चल्लो, जिराफ र मूर्ती


म किशोर अवस्थामा थिएँ होला, एकदिन हाम्रो घरको माउपोथीले चल्ला कोरल्यो । धेरै दिनको ओथारापछि नयाँ चल्लाहरूको नवीनम आवाजले म आकर्षित बनेँ । ओथाराभित्रबाटै आएको चल्लाको आवाजले मभित्रको चञ्चल किशोरावय शान्त रहन सकेन । पोथीलाई उचालेर हेरेँ; ओथारा दिएका अण्डाहरूमध्यका धेरै अण्डाहरू फुटेर बच्चा निस्किएछन् । त्यसमध्येका दुईतीन वटा अण्डाहरू अली अली फुटेर बच्चाहरू भित्र चेपिएको देखेँ । मलाई चेपिएका बच्चाहरूको माया लाग्यो फलस्वरुप फुलको बोक्रा कोट्याएर भित्रबाट चल्ला निकालेँ । मैले त्यसरी उद्दार गरेका बच्चाहरू राम्ररी थिग्रिन पनिसकेनन् । दु:खको कुरा केही घण्टा भित्रै ती बच्चाहरूको दु:खद मृत्यु भयो । आफैं जन्मिएका बच्चाहरू चाहिँ मजाले हुर्किए त्यतिखेरको मेरो बालमस्तिष्कले यो घटनामा किन यस्तो भयो ?; मैले उद्दार गरेका बच्चा किन चाँडै मरे ?; त्यसको सही लेखाजोखा गर्न सकेन । अर्थात कारण खोज्नुपर्ने आवश्यकता पनि ठानेन होला । तर अहिले आएर त्यो घटनाबाट ठूलो निष्कर्ष निकालेको छु; प्राकृतिवत ढंगले विकास हुने कुरालाई बाहिरी हस्तक्षेपबाट आफ्नो अनुकूलतामा छिटो गर्न खोजियो भने त्यसमा असफलता भोग्नु पर्दोरहेछ ।

अहिले सोच्छु मैले खोल उघारेर निकालिदिए पछि ती बच्चाहरूले सहज रुपबाट आर्जन गर्नुपर्ने प्रतिरोधात्मक शक्तिमा बाधा पुगेछ । परिवेश अनुकूल बाँच्न र जीवनलाई विकास गर्न उसको स्वसंघर्ष महत्वपूर्ण चिज रहेछ । समय अगाडि नै हाम्रो हतारबाट प्राकृतिक ढंगले परिपक्कता हुने चिजलाई बल प्रयोग गरेर अगाडि ल्याउन खोजियो भने लाभ कम हानी बढी हुँदो रहेछ । चल्लाको यो प्रशंगलाई अहिलेका हाम्रा बच्चाहरूको स्थितिसँग गाँसेर हेर्छु, सुबिधा दिने नाममा कतै आवश्यकताभन्दा बढ्ता सुबिधा दिएर उनीहरूको प्रकृतिवत् ढंगले आर्जित हुने गुणलाई त कुण्ठित गरिरहेका छैनौं ? जसरी पर्याबरण अनुकूल हुन आफ्नै कठोर संघर्षबाट प्राप्ति हुने क्षमता निकै महत्वपूर्ण हुँदो रहेछ । त्यसलाई हाम्रो अनुकम्पाले टेवा पुर्याउन खोज्यो भने स्थिति प्रतिकुलतातिर धकेलिने रहेछ । वातावरणसँग तालमेल गरेर बाँच्ने क्षमता स्वआर्जित गुण रहेछ । मैले हतार नगरी केही घण्टा पर्खेर ती बच्चालाई आफैं निस्किन दिएको भए सायद आफ्नै संघर्षको बुतावाट आर्जित लामो आयु बाँच्थे, यसमा दुई मत छैन । यहाँ समस्या त चल्लोको भलाईको लागि मैले गरेको सार्थक प्रयत्न निरर्थक र बिष समान बनेको घटना चिन्तन योग्य छ । एउटा कुरामा तपाई सहमत हुनुहुन्छ; अहिले स्वस्थ्य सुबिधा र आधुनिक प्रसूति सेवाको पँहुच पुगेको ठाउँमा प्राय: महिलाहरूले प्राकृतिक ढंगबाट बच्चा जन्माउन छोडे । बच्चा जन्माउने निसर्ग क्षमतामा ह्रास आएको छ, सुबिधा पुगेको ठाउँमा आधुनिक सर्जरीको सहयोग नलिई सुखै छैन । यसले के देखाउछ भने प्रविधिको विकासले हामीभित्रको नैसर्गिक प्राकृतिक शक्तिलाई दिन प्रतिदिन कम गर्दै लगेको छ ।

विभिन्न सन्दर्भ र क्षेत्रहरूमा क्षमता क्षयीकरणका प्रतिविम्बहरू समाजमा हेर्ने गर्छु । आफ्नो जमानामा कठोर दु:ख गरेर पढेका वावुआमाहरू सन्तानको लागि एकमानाको बन्दो बस्तो गरिदिएर आफूले भोगेको दु:ख छोराछोरीको निम्ति पुनराबृत्ति नहोस् भनेर निर्माण गरिदिएको सुबिधाको वातावरण अहिले बन्सो र सामालाई मलजल गरे जस्तो भएको छ, बनमारालाई गोडमेल जस्तो भएको छ । बाउले हाड घोटेर निर्माण गरिदिएको सुखमा छोरो चुल्ठे, जुल्फे, कुन्डले, मुन्द्रे बनेको मात्र होइन, भित्तीभक्त गँजडी र ड्रगिस्ट बनेर जीवनलाई नर्ककुण्डतिर धकेलेको दृश्य चारैतिर देखिरहेछु । छोराछोरीलाई संस्कृति बिनाको सहुलियत र शिक्षाबिनाको शिसार मात्र टक्र्याँउदा यस्तो बनेको हो कि त ? सन्देहका सुत्रहरू मस्तिष्कमा तैरिन्छन् ।

मैले प्रत्यक्ष देख्न नपाएपनि सुनेको छु । अफ्रिकी जिराफ सुत्केरी भएपछि घुमी घुमी नवजात बच्चालाई लात्ती हान्छ अरे । त्यो बच्चोलाई खान अरु जंगली हिंस्रक जन्तुहरू वरिपरि लुकी बसेका हुन्छन् । जिरफको माउ भने लगातार नानीको शरीरमा लात्तीको वर्षा गरिरहन्छ । बीसैं चोटि लात मारेपछि बच्चोजिराफ जुरुक्क उठेर माउसँगसँगै दौडिन थाल्छ । अनि कुनैपनि जीवजन्तुले त्यो बच्चालाई भेट्न सक्तैनन् अरे । आमाको लात्तीबाट उसले खतराहरूबाट बँच्न सक्ने स्वआर्जित गुण प्राप्त गर्छ । यदि जन्मिने बित्तिकै उसलाई चाटेर माया गर्ने हो भने ऊ भित्रको दौडिने शक्ति सुषुप्तरुपमा कुँजो हुने थियो होला । अनि उसका शत्रुहरूले सजिलैसँग उसलाई कब्जामा लिन सक्थे होला । म अनुमान गर्छु, नवजात शिशुलाई लात्ती बर्साउनु नै जिराफको माया गर्ने उत्कृष्ट तरिका हो । यदि आमाले लात्ती नबर्साउने हो भने ऊ भित्रको आत्मरक्षा गर्ने क्षमता प्रस्फूटन हुनै पाउने थिएन ।

जिराफको यही कुरा धेरथोर रुपमा मानव नानीहरूमा पनि लागु हुन्छ कि ? नानीहरूलाई लात बर्साउने रुप र तरिकामा फरक होला तर उनीहरू भित्रको अन्तर्निहित क्षमतालाई प्रष्फूटन गर्न र हरेक कुरामा आत्मनिर्भर बनाउँदै लैजानको लागि आत्मशक्तिलाई उजागर हुन दिनुपर्छ । त्यो उसकै बलबुता र सार्थक प्रयत्नबाट हुदै जानुपर्छ ।

म देखिरहेछु नानीले गृहकार्य गर्न सकेन भने खुँई खुँई आमाबाउले कपीका पाना भरिरहेछन् । दिनै आमाबाउले नै र्गहकार्य गरिदिने हो भने बच्चाले कहिले सिक्न सक्ला; यो काम मेरो हो मैले नै पूरा गर्नु पर्छ भनेर स्वचेतना बोध हुनुपर्छ । आजका नानीहरूलाई सुस्त, अपांग र बेकम्मा त हामी बाउआमाहरूले बनाउँदै लागेकाछौं । आउने समय अँझ चुनौतीपूर्ण, जटिल र प्रतिश्पर्धापूर्ण हुँदै गएको छ । हिजोको सरल प्रकृतिवत जीवनशैली आज बिघटित भएको छ । प्रविधिले मानव जीवनमा नयाँ संभावनाको क्षितिज पनि खोलेको छ । आउने पुस्ताको लागि नयाँ समस्याहरू थपिएकाछन् । हिजोको सोच, शैली काम गराईको तौरतरिकाले आज धान्न सक्तैन; अँझ भोलि त यो तरिकाले अगाडि बढ्नै सक्तैनन् ।

यति चुनौतीपूर्ण समयसँग मुकाबिला गर्न अबको पुस्ता झनै मिहेनती आत्मनिर्भर, दृढसंकल्पी र अँझ मेधावी बन्नु परेको छ । समयको धड्कनमा कान थापेर कुद्न सक्ने पुस्ता चाहिएको छ हामीलाई । तर दुर्भाग्य जताततै पंगु पुस्ताको ब्याप्ति देख्छु । चामल र बियाँको अनुपातमा पंगुहरू बियाँको संख्यामा सीमाकृत हुँदै जाउन् भनेको बेला नाङ्लोमा चामलसरी छन् पंगु, बियाँसरी कतै कतै मात्र देख्छु कामकाजी पुस्ता । सुख, सुबिधा, अमनचैन, मनोरंजन, बिलासिताको बाढीमा लछप्प पौडिन पाएको ब्याक्तिलेभन्दा हज्जार हण्डर, दु:ख, कष्ट, संकट, समस्या र समयसँग जुमmेको ब्यक्तिले सार्थक जीवन बिताएको, जीवनपथमा सफलता हासिल गरेको र समाजलाई योगदान दिएका तस्विरहरू बढी देख्न सकिन्छ ।

यतिखेर एउटा मूर्तिको बोधकथा स्मृतिमा तैरिएको छ । एउटा मूर्तिकारले एउटा भब्य मन्दिरमा स्थापना गर्नको लागि मूर्ति कुँद्न थाल्यो । शिलामूर्ति कुँद्दै जाँदा तीन महिना भएपछि अधुरो अवस्थामै एक दिन छिनोको चोट सहन नसकेर मूर्ति दुई टुक्रा भयो । फेरि मूर्तिकारले अर्को ढुंगोमा मूर्ति कुँदन थाल्यो । त्यो पनि छ महिना भएपछि पूरा हुन नपाई फुट्यो । पुन: अर्को मूर्ति कुँद्न थाल्यो; तेस्रो मूर्ति दस महिनामा तयार भयो । हथौडा र छिनोको चोट सहेर तयार भएको त्यो सुन्दर मूर्ति मन्दिरमा स्थापित गरियो । त्यस मूर्तिको धुनधान पूजाआजा चल्न थाल्यो । धुपबत्ती, प्रसादी र साष्टाङ्ग दण्डवत दिन दिनै भेट्न थाल्यो । दुईटा फुटेका मूर्तिका चोईटाहरू मन्दिरको बाहिरी गेटमा फालियो । जुनठाउँमा फुटेका मूर्तिहरू राखिएका थिए, त्यही ठाउँमा भक्तजनहरू जुत्ताचप्पल फुकाल्थे थुकसिँगान फालेर मुख कल्ला गर्थे र शुद्ध भएर भित्र पस्ते ।

एकदिन एउटा फुटेको मूर्तिले गुनासो गर्यो –“हेर साथी हामीसँगको एउटा साथी चैं मन्दिरभित्र कत्ति शान मानका साथ पुजिएको छ ऊ प्रति श्रद्धा नै अर्को छ । हाम्रो थाप्लामा चाहिँ जुत्ताचप्पलको थप्पड, थुक, खकार, सिँगानको भेल, कसरी सहनु ? हामी कत्ति अभागिरहेछौं हगी ?” अर्को फुटेको मूर्तिले तुरुन्तै प्रतिक्रिया जनायो – “हेर ठिकै त हो नि । हाम्रो साथीले दसदस महिनासम्म मूर्तिकारको थप्पड, चोट र ठोकाई पनि त सह्यो । त्यति लामोसमय उसले कठोर चोट सहेर ऊ पूजित भयो । हामी पनि ३/६ महिनामा नफुटेर चोट सहेका भए त्यो आसनमा पुग्ने थियौं । हिजो चाहिँ ठक्कर सहन सकेनौं, आज पछुताएर के गर्नु ? दु:ख नमान मित्र हाम्रो कर्मगति अनुसार जुत्ता चप्पलको थुप्रो, रालसिगाँन, थुकखकारको दह नै स्वीकार गर्नुपर्छ ।”

मित्रको कुराले अर्को मित्रलाई चित्त बुझ्यो । बास्तबमा जसले अनन्त चोट सहन सक्छ, अनन्त हण्डर खेप्न सक्छ, अनन्त चुनौतीसँग जुझ्न सक्छ ऊ नै भबिष्यमा पूजित हुन्छ, सम्मानित हुन्छ । सानो दु:ख, सानो हण्डर, सानो चोट सहन नसक्नेले, संघर्षको विकराल मोर्चामा डट्न नसक्नेले सुन्दर सुगन्धित आसन पाउन सक्तैनन् । दुरुह, दुर्गन्धित रछ्यानमा मिल्किनुपर्छ ।

सतिसाल जस्तै समयका थप्पड सहने शिरहरूको आवश्यकता छ हामीलाई । तर नानीहरूलाई चुनौतीसँग खेल्न नदिएर उनीहरूका शिरलाई नर्कटका मुन्टा जस्तो बनाइरहेछौं । आण्डाको खोल उघारेर नानीहरूका खुट्टा दरा हुनेछैनन् । बरु कमजोर, लुला र पक्षघातयुक्त पो बन्लान् । आफैं ताते गर्दा नानी सयखेप होइन हज्जारखेप लड्छन् तर त्यसपछि ऊ मजबुत भएर दौडिने पनि हुन्छ । ताते गर्दा लड्छ भनेर खुट्टा टेक्नै नदिने हो भने हिँड्न कहिले सिक्ला ? दौडिन कहिले सिक्ला ? भबिष्यको रेस यात्रामा कसरी प्रथमस्थान हासिल गर्न सक्ला ? म यतिखेर नानीहरूलाई चुनौतीपूर्ण स्वरमा नित्शेको बाणी ओकल्छु – “पर्खालबीचमा तिम्रो ढोका छ, त्यसलाई तिमीले खोल्नुपर्छ ।”

२०६२/२/२६

अस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *